काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले जेनजी आन्दोलनका क्रममा विद्यार्थीहरूको उत्तरपुस्तिका जलेर नष्ट भएपछि पुनः परीक्षा लिने निर्णय गरेको छ।
सीटीईभीटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार पुनः परीक्षा आगामी मंसिर ४ गतेदेखि सञ्चालन हुने भएको हो। उनका भनाइमा जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा सुरक्षार्थ राखिएका करिब १४ हजार ७०० वटा उत्तरपुस्तिका आगलागीमा परेर पूर्ण रूपमा नष्ट भएका थिए।
जलेका उत्तरपुस्तिकामध्ये डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका विभिन्न कार्यक्रमका परीक्षा समावेश रहेका थिए। परिषद्ले प्रभावित विद्यार्थीहरूको शैक्षिक अधिकार सुनिश्चित गर्नका लागि शीघ्र पुनः परीक्षा आयोजना गर्न लागेको जनाएको छ।