काठमाडौं । विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डीसीमा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले आज संयुक्त राज्य अमेरिकाको वाणिज्य प्रतिनिधिसँग छलफल गरेका छन् । सो क्रममा नेपाल र संयुक्त राज्य अमेरिका बीचको आपसी व्यापार र लगानी प्रबद्र्धनका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।
छलफलका क्रममा उनले नेपाल ट्रेड प्रिफ्ररेन्स प्रोग्रामको म्याद थप गर्न आग्रह गरे । अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँग दुई देशको सम्बन्ध सुदृढ गर्नेलगायत आपसी हितका विषयमा संवाद भएको मन्त्रालयले जनाएको छ ।
साथै, अर्थमन्त्री खनालले साउदी फन्ड र जापान सहयोग नियोग (जाइका) का प्रतिनिधिसँग छुटाछुट्टै भेटवार्ता गरी नेपालमा पूर्वाधार र मानव विकासका क्षेत्रमा लगानी बढाउन आग्रह गरे । साउदी फन्डका प्रतिनिधिले नेपालमा सिँचाई र जलविद्युतमा फन्डको लगानी रहने जानकारी गराए । जापान सहयोग नियोगका प्रतिनिधिसँग बिपी राजमार्ग पुनर्निर्माण, नागढुङ्गा सुरुङ मार्ग र कोटेश्वर सेक्सन आयोना छिटो अगाडि बढाउने लगायतका विषयमा छलफल भएको छ ।
त्यसैगरी अर्थमन्त्री खनालले आजै अन्तर्राष्ट्रिय मुद्रा कोषका एशिया प्रसान्त हेर्ने निर्देशक कृष्णा श्रीनिभासनसँग कोषको सहयोगमा संचालित विस्तारित कर्जा कार्यक्रमको कार्यान्वयनलाई निरन्तरता दिने विषयमा छलफल गरेका छन् । सो अवसरमा नेपाल राष्ट्र बैंक ऐनमा गर्नुपर्ने संशोधन, वाणिज्य बैंकहरुको कर्जाको पोर्टफोलियो अध्ययन र वित्तीय स्थायित्व कायम गर्ने विषयमा दुवै पक्षबाट विचार आदान प्रदान भएको थियो। सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको समेत उपस्थिति थियो ।