काठमाडौं । जेनजी आन्दोलनपछिको तोडफोड, लुटपाट र आगजनीबाट देशभरका १२ वटा स्टोर पूर्णरुपमा क्षति बेहोरेको भाटभटेनी सुपरमार्केटले आफ्ना कर्मचारीलाई जागिरबाट ननिकाल्ने र दशैं बोनस समेत दिने घोषणा गरेको छ ।
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले भाटभटेनीमा आबद्ध भाइ–बहिनीहरुलाई जागिरबाट ननिकाल्ने बताए । काम गर्न नपाए पनि उनिहरुलाई तलब दिने र दशैं बोनस पनि पठाउने उनको भनाई छ ।
गुरुङले कर्मचारीलाई परिवारका सदस्यको रूपमा मानेर दशैंमा खुशी बाँड्न चाहेको बताए । उनले भने, ‘म दशैं मनाउने पक्षमा छैन तर मेरा बच्चाहरु जसले मसँग काम गर्छन्, उनीहरुले दशैं मनाउनुपर्छ, त्यसैले बोनस दिन्छु ।’
आन्दोलनपछिको क्षति १० देखि १५ अर्ब रुपैयाँसम्म भएको अनुमान गरिएको छ । गुरुङले ३ महिनाभित्र काठमाडौंका केही स्टोर र १० महिनाभित्रमा देशभरका सबै स्टोर पुनः सञ्चालनमा ल्याउने लक्ष्य राखेको बताए ।
उनले भने, ‘पैसा कमाउन मात्रै व्यापारी बनेको होइन, रोजगारी सिर्जना होस्, सबै सम्पन्न होऔं, देश बनोस् भन्ने चाहनाले व्यापार गरेको हुँ । अहिले सबै जलेर खरानी भएको छ, लुटेर सखाप भएको छ, तर फेरि उठ्न मिहिनेत गर्छु ।