काठमाडौं । चौधरी ग्रुपको एफएमसीजी कम्पनी सीजी फुड्सले विदेशी लगानी भित्र्याएको छ । भारतको लोकप्रिय स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनलसँग सहकार्य गर्दै नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा स्न्याक्स उत्पादन फ्याक्ट्रीको शिलान्यास गरेको हो ।
बुधबार आयोजित भूमिपूजन कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरी र अध्यक्ष विनोद चौधरीसहित स्थानीय जनप्रतिनिधि र सरकारी अधिकारीहरूको उपस्थिति थियो। हालैको जेन जी आन्दोलनका क्रममा चौधरी ग्रुपका प्रतिष्ठानमा आगजनी र तोडफोड भए पनि कम्पनीले नेपालप्रतिको लगानी प्रतिवद्धता जारी राखेको संकेत यो परियोजनाले दिएको छ।
बिकाजीसँगको सहकार्यमा भुजिया, नमकीन लगायतका स्न्याक्सको स्थानीय उत्पादन सुरु हुनेछ। पहिलो चरणमा करिब ५० करोड रुपैयाँ लगानी हुने र करिब ४०० रोजगारी सिर्जना हुने कम्पनीको अनुमान छ।
वरुण चौधरीका अनुसार यस परियोजनाले आयात प्रतिस्थापन, औद्योगिक गतिशीलता र स्थानीय किसानसहित आपूर्तिकर्तालाई लाभ पुर्याउनेछ। ‘वाइ वाइ’ उत्पादक सिजी फुड्सले नयाँ उत्पादन वर्गमा विस्तार गर्दै नवप्रवर्तन र राष्ट्रिय औद्योगिकीकरणलाई सहयोग पुर्याइरहेको जनाएको छ।







