काठमाडौं । नेपालमा निक्षेप खाताको संख्या ६ करोड कटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप खाता खोल्नेको संख्या ६ करोड ४ लाख ५३ हजार पुगेको छ ।
यो कुल जनसंख्याको दाँजोमा बैंक तथा वित्तीय संस्थामा बचत÷निक्षेप खाता खोल्नेको संख्या दोब्बरभन्दा बढी हो । पछिल्लो सरकारी तथ्यांकअनुसार हाल नेपालको जनसंख्या २ करोड ९१ लाख जना रहेको छ ।
विस २०८१ को भदौमा निक्षेप खाताको संख्या ५ करोड ६७ लाख २६ हजार थियो । यसअवधिमा वाणिज्य बैंकमा निक्षेप शाखाको संख्या ५ करोड १८ लाख, विकास बैंकमा ७५ लाख ७८ हजार र फाइनान्स कम्पनीमा १० लाख १९ हजार छ । यी बैंक खातामा भदौ मसान्तसम्म ७३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ ।
एउटै व्यक्तिले दुई वा त्योभन्दा बढी बैंकमा खाता खोल्न पाउने व्यवस्था छ । साथै, एक व्यक्तिले आफ्नो इच्छा र आवश्यकताअनुसार सबै बैंक तथा वित्तीय संस्थाहरुमा खाता खोल्न पाउँछन् । यो व्यवस्थाको कारण पनि बैंक खाता खोल्नेको संख्या जनसंख्याको दोब्बर भएको हो । तथापि, अहिले पनि धेरै जनसंख्या बैंकिङ पहुँचभन्दा बाहिर रहेका छन् ।
यता, भदौ मसान्तसम्म कर्जा खाताको संख्या १९ लाख ९३ हजार रहेको छ । २०८१ को भदौ महिनासम्ममा कर्जा खाता खोल्नेको संख्या १९ लाख ९ हजार थियो । वाणिज्य बैंकमा कर्जा खाताको संख्या १६ लाख ६२ हजार, विकास बैंकमा २ लाख ६७ हजार र फाइनान्स कम्पनीमा ६३ हजार रहेको छ ।