काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि एक पटक निक्षेप संकलन उपकरणमार्फत पैसा तान्ने भएको छ।
राष्ट्र बैंकले आज (वैशाख १७) दिउँसो ३ बजे बोलकबोल प्रक्रियामार्फत ५० अर्ब रुपैयाँ संकलन गर्ने तयारी गरेको हो। तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले लगातार यो उपकरण प्रयोग गर्दै आएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्म भाग लिनेगरी बोलकबोलमा सहभागी हुन सक्नेछन्। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
बोलकबोल प्रक्रिया ब्याजदरमा आधारित हुनेछ, जसमा बहुब्याजदरमा पनि प्रस्ताव दिन सकिनेछ। संकलित निक्षेपको अवधि २१ दिनको हुनेछ भने त्यसको साँवा र ब्याज जेठ ७ गते फिर्ता गरिने राष्ट्र बैंकले जनाएको छ।
हाल बैंकिङ प्रणालीमा कर्जाको माग न्यून भएकाले तरलता बढेको छ। यसले गर्दा बैंक तथा वित्तीय संस्थाहरू केन्द्रीय बैंकलाई झन्डै ३ प्रतिशत ब्याजदरमै रकम राख्न बाध्य भएका छन्।