काठमाडौं । हालसम्म नेप्सेमा सूचीकृत सात वाणिज्य बैंकहरुले मात्रै लगानीकर्तालाई गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लभांश घोषणा गरेका सात बैंकमध्ये दुई बैंकको वार्षिक साधारण सभा सम्पन्न भइसकेको छ । साधारण सभा हुन बाँकी पाँच बैंकमध्ये चार वटाले बुक क्लोज र साधारण सभाको मिति तय गरिसकेका छन् । एक बैंकको भने साधारण सभा र बुक क्लोजको मिति तय हुन बाँकी रहेको छ ।
लाभांश घोषणा गर्नेमा एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक र सिटिजन्स बैंक रहेका छन् । यीमध्ये सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा एभरेष्ट बैंक रहेको छ । एभरेष्ट बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमध्ये ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश रहेको छ । उक्त लाभांश पारित गर्न यस बैंकले कात्तिक १२ गते वार्षिक साधारण सभा डाकेको छ । सभा आम्रपाली ब्यांक्वेट भाटभटेनी काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
यता, लाभांश घोषणा गरेका मध्ये माछापुच्छ्रे र सानिमा बैंकको साधारण सभा सम्पन्न भइसकेको छ । माछापुच्छ्रे बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ८ प्रतिशत लाभांश बितरण गरेको छ । जसमा ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश रहेको छ । बैंकको असोज १० गते वार्षिक साधारण सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पारित गरिसकेको छ । त्यस्तै, सानिमा बैंकले लगानीकर्तालाई गत वर्षको नाफाबाट ७।३७ प्रतिशत नगद लाभांश वितरण गरेको छ । बैंकको कात्तिक २ गते वार्षिक साधारण साधारण सभाले उक्त लाभांश दिने प्रस्तावलाई पारित गरिसकेको छ ।
नेप्सेमा अहिले १९ वाणिज्य बैंक सूचीकृत छन् । तीमध्ये हालसम्म सात बैंकले मात्रै लाभांश घोषणा गरेका हुन् । नियामकिय प्रावधानअनुसार चालु आर्थिक वर्ष सुरु भएको छ महिनाभित्र अर्थात पुस मसान्तसम्म सूचीकृत कम्पनीले अघिल्लो आर्थिक वर्षको साधारण सभा सम्पन्न गरिसक्नुपर्ने हुन्छ । यद्यपि, विगतलाई हेर्दा बैंक तथा वित्तीय संस्थाले अन्तिम समयमा मात्रै लाभांश घोषणा र एजीएम बोलाउँदै आएका छन् । तथापि, केही बैंकहरुले भने लाभांश घोषणा र साधारणको लागि वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाइसकेका छन् । वित्तीय विवरण राष्ट्र बैंकले स्वीकृत गरेसँगै उनीहरुले लाभांश घोषणा गर्नेछन् ।
लाभांश घोषणा गर्न बाँकी ८ बैंक लाभांश दिन सक्ने अवस्थामा
लाभांश घोषणा गर्न बाँकी १२ बैंकमध्ये आठ बैंक लाभांश दिन सक्ने अवस्थामा रहेका छन् । सबैभन्दा धेरै लाभांश दिने क्षमता भएको एभरेष्ट बैंकले लगानीकर्तालाई लाभांश घोषणा गरिसकेको छ । यस बैंकको लाभांश क्षमता ३८।२७ प्रतिशत थियो । यस बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत लाभांश घोषणा गरेको हो । दोस्रो धेरै लाभांश दिने क्षमता सानिमा बैंकको रहेको छ ।
यसको प्रतिसेयर लाभांश दिने क्षमता २०।४७ प्रतिशत थियो । यसले पनि लगानीकर्तालाई लाभांश घोषणा गरिसकेको छ । यता, ४ बैंक भने लाभांश दिन नसक्ने अवस्थामा रहेका छन् । लाभांश दिन नसक्ने अवस्थामा कुमारी बैंक, एनआइसी एसिया बैंक, हिमालयन बैंक र नेपाल बैंक रहेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय विवरणअनुसार यी बैंकहरु लाभांश दिन नसक्ने अवस्थामा रहेको देखिएको हो ।







