Logo

सुनचाँदी धितो राखेर कर्जा लिने बढे, एक वर्षमै २३ अर्ब कर्जा प्रवाह

सुनचाँदी धितो राखेर कर्जा लिने बढे, एक वर्षमै २३ अर्ब कर्जा प्रवाह



काठमाडौं । उच्च मूल्यको निरन्तर रेकर्ड बनाएको सुनको भाउ पछिल्लो समय केही घटेको छ । भाउ केही घटेपनि अहिलेको मूल्य पनि निकै उच्च नै हो । बुधबार सुन प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा करोबार भइरहेको छ । सुनको मूल्य उच्च रुपमा बढेसँगै सुन धितो राखेर हुने कर्जा प्रवाह पनि बढेको छ ।

पछिल्लो एक वर्षमा मात्रै सुनचाँदी धितो राखेर २३ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले सुनचाँदी धितो राखेर ७९ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो गत वर्षको यसै अवधिमाभन्दा ४१.२१ प्रतिशतले बढी हो । विस २०८१ को भदौ मसान्तसम्म बैकहरुले ५६ अर्ब २५ करोड रुपैयाँ सुनचाँदी धितो राखेर कर्जा प्रवाह गरेका थिए ।

सुनको मूल्य बढ्दा धितोको मूल्यांकन समेत बढ्ने हुँदा घटेको ब्याजको मौका छोपेर ऋण लिनेहरु बढेका हुन् । अन्य धितोको तुलनामा बैंकहरुका लागि सुनचाँदी धितो बढी खर्चिलो हुने गर्छ । सुन परीक्षणदेखि मूल्यांकनसम्मका कार्यहरुले खर्चिलो बनाउने हुँदा बैंकहरु यस प्रकृतिको धिताा राख्न उत्साहित हुँदैनन् । साथै, सबै बैंकहरुसँग सुन परीक्षण गर्नका लागि उपकरणसँगै दक्ष जनशक्ति नहुँदा पनि ऋण प्रवाह नगरेको बैंकरहरु बताउँछन् ।

अहिले २० वाणिज्य बैंक सञ्चालनमा रहेका छन् । तीमध्ये १४ बैंकहरुले मात्रै सुनचाँदी धितो राखेर कर्जा दिएका छन् । सुनचाँदी धितो राखेर धेरै कर्जा दिनेमा दुई सरकारी बैंक रहेका छन् । सुनचाँदी धितो राखेर सबैभन्दा धेरै कर्जा नेपाल बैंकले दिएको छ । भदौ मसान्तसम्म यस बैंकले सुन धितोमा ३७ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले सुन धितो राखेर २८ अर्ब १ करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

एक वर्षमा १० वाणिज्य बैंकको सुनचाँदी धितो कर्जा बढेको छ भने ४ बैंकको घटेको छ । सुनचाँदी धितो राखेर दिने कर्जा प्रवाह घटेका बैंकमा एनआइसी एसिया बैंक, प्रभु बैंक, कृषि विकास बैंक र एनएमबि बैंक रहेका छन् । एक वर्षको अवधिमा सबैभन्दा धेरै सुनचाँदी धितो राखेर दिने कर्जा प्रवाह बढ्नेमा नबिल बैंक रहेको छ । यसको सुनचाँदी धितो कर्जा २५६.६४ प्रतिशतले बढेर २ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्