काठमाडौं । नेपालमा विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धनका लागि कुमारी बैंक लिमिटेड र जर्मन सहयोग संस्था जिआइजेड नेपालबीच सम्झौता भएको छ । दिगो विद्युतीय यातायातका लागि ‘सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल’ परियोजनाअन्तर्गत उक्त समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।
यस सहकार्यले सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात विशेषगरी विद्युतीय माइक्रो र मिनीबस (ईएमबी) हरूको प्रयोगलाई तीव्र बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ ।
‘सेट फोर नेपाल’ परियोजना जिआइजेड नेपाल र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट (जीजिजिआई) द्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायतका सरकारी तथा साझेदार संस्थासँगको सहकार्यमा कार्यान्वयनमा रहेको छ । यो परियोजना ‘मिटिगेसन एक्सन फ्यासिलिटी’ (एमएएफ) को आर्थिक सहयोगमा सञ्चालित छ ।
परियोजनाले करिब ३ हजार ५ सय विद्युतीय मिनीबस सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ, जसले नेपालको सार्वजनिक यातायात प्रणालीलाई सफा, हरित र दिगो बनाउन मद्दत गर्नेछ । यसले परम्परागत इन्धनमा आधारित सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ ।
परियोजनाअन्तर्गत सार्वजनिक यातायातलाई अझ सहज, सुरक्षित र स्मार्ट बनाउन मोबाइल एप, जीपीएस उपकरण, एलईडी रुट डिस्प्ले र खुला प्रणालीको ई–टिकटिङ जस्ता डिजिटल प्रविधि प्रयोगमा ल्याइनेछ ।
सहकार्यका क्रममा कुमारी बैंकले विद्युतीय माइक्रो तथा मिनीबस खरिद गर्न इच्छुक व्यवसायीका लागि विशेष ऋण योजना र प्रारम्भिक डाउन पेमेन्ट अनुदानको व्यवस्था गर्नेछ, जसले खरिद लागत घटाई आर्थिक रूपमा सहजता ल्याउनेछ ।
२४ वर्षदेखि निरन्तर सेवा दिँदै आएको कुमारी बैंकले देशभर रहेका ३०२ शाखा, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ इकाइ र ३१७ एटिएममार्फत अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ । बैंकले आगामी दिनमा पनि सरल, सुलभ र उत्कृष्ट सेवाका लागि यस्ता दिगो सहकार्य अघि बढाइरहने प्रतिबद्धता जनाएको छ ।