काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर बजार मैत्री नीति लिएको छ । राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन सशोधन गर्दै सेयर बजार मैत्री नीति लिएको हो । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा हटाएको छ । कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा २५ करोड कायम गरिएको थियो ।
त्यस्तै बैंकहरूलाई सेयर खरिद बिक्रीमा पनि सहजीकरण गरिएको छ । बैंकले सेयर खरिद गरेको एक वर्ष व्यतित भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था रहेकोमा यसलाई हटाइएको छ ।
साथै, सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा ६ महिनाभन्दा बढी अवधिको लागि बैंकले लगानी गर्न पाउने छन् । यसअघि १ वर्षभन्दा बढी अवधिको लागि मात्रै लगानी गर्न पाउने व्यवस्था थियो ।