काठमाडौं । एक वर्षमा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति (एनबीए) साढे ११ अर्ब रुपैयाँले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा निष्क्रिय कर्जा (एनपीएल) बढेसँगै एनबीए बढेको हो । केन्द्रीय बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ४२ अर्ब ९१ करोड रुपैयाँ छ । यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा ३६.७४ प्रतिशत अर्थात् ११ अर्ब ५२ करोड रुपैयाँले बढी हो । २०८१ को भदौसम्म बैंकहरुको गैरबैंकिङ सम्पत्ति ३१ अर्ब ३८ करोड रुपैयाँ थियो ।
बैंक तथा वित्तीय संस्थाहरुले नउठेको कर्जाको धितो लिलामी बिक्री नभएमा आफैंले सकार्दै आएका छन् । यसरी सकारेको सम्पत्ति नै गैरबैंकिङ सम्पत्ति हो । गैरबैंकिङ सम्पत्ति सकार गरेकै समयबाट बैंकहरुले यसको जोखिमबाट बच्न शतप्रतिशत रकम गैरबैंकिङ सम्पत्ति प्रावधानमा राख्नुपर्ने हुन्छ । यही कारण बैंकहरुको गैरबैंकिङ सम्पत्ति रकम बढेको हो ।
गैरबैंकिङ सम्पत्ति सकेसम्म चाँडै बिक्री गर्नुपर्ने हुन्छ तर पछिल्लो समय अर्थतन्त्रमा आएको शिथिलताले बैंकहरुले गैरबैंकिङ सम्पत्ति बिक्रीका लागि पटक–पटक सूचना जारी गरे पनि बिक्री गर्न सकिरहेका छैनन् । घर–जग्गा कारोबारसमेत सुस्ताएकाले यस्ता धितो बिक्री हुन नसकेका हुन् । यही कारण बैंकहरुमा यस्तो सम्पत्ति उल्लेख्य दरमा बढिरहेको हो ।
यता, जेनजीको आन्दोलनपछि व्यवसायिको आत्मविश्वास गुमेको छ । फलस्वरुपः कर्जाको माग बढ्न त परको कुरा असोजमा ब्याज उठाउन नसकेर ठूलो प्रोभिजन गर्नुपर्ने देखिएको एक बैंकरले बताए । बैंकहरुले राष्ट्र बैंकसँग ब्याज तिर्न १ महिनाको समय थप गरिदिन माग गर्दै कात्तिकसम्म ब्याज तिर्दा थप कर्जा नोक्सानी व्यवस्था गर्न नपर्नेगरी सहजीकरणको समेत माग गरेका छन् ।
यस अवधिमा सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति ग्लोबल आइएमई बैंक रहेको छ । यसको गैरबैंकिङ सम्पत्ति ६ अर्ब ८ करोड रुपैयाँ छ । यद्दपि, सबैभन्दा धेरै कर्जा प्रवाह र निक्षेप संकलन गर्ने बैंक पनि यहि हो । त्यस्तै, हिमालयन बैंकको गैरबैंकिङ सम्पत्ति ५ अर्ब ८४ करोड रुपैयाँ छ ।
यसअवधिमा तीन बैंकको गैरबैंकिङ सम्पत्ति घटेको छ भने अरु बैंकको बढेको छ । गैरबैंकिङ सम्पत्ति घट्नेमा कुमारी बैंक, माच्छापुच्छ«े बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । एक वर्षको अवधिमा सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति बढ्नेमा नेपाल एसबिआई बैंक रहेको छ । यसको गैरबैंकिङ सम्पत्ति १६७.७६ प्रतिशतले बढेर ९४ करोड रुपैयाँ पुगेको छ ।
