काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेड (एनएसबीएल) ले ‘एफएटीएफ मूल्याङ्कनका उत्कृष्ट अभ्यास’ विषयक एक विचार गोष्ठीको आयोजना गरेको छ । कार्यक्रममा नेपालले गर्न लागिरहेको वित्तीय कार्यदल (एफएटीएफ) मूल्याङ्कनका सन्दर्भमा मनी लन्ड्रिङ रोकथाम तथा आतंकवादविरुद्धको वित्तीयकरण (एएमएल–सिएफटी) सम्बन्धी उपायहरूको प्रभावकारी कार्यान्वयन, सामूहिक प्रयास र संस्थागत समन्वयका विषयमा छलफल गरिएको थियो ।
गोष्ठीमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुर, विभिन्न सरकारी निकायका वरिष्ठ अधिकारीहरू, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अधिकारीहरू, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा डा. तिम्सिनाले नेपालको आगामी एफएटीएफ मूल्याङ्कनका सन्दर्भमा बैंक तथा वित्तीय संस्थाले खेलेरै प्रभावकारी भूमिका र तयारीका विषयमा प्रकाश पारिन् ।
सो गोष्ठीको सहजीकरण भारतीय स्टेट बैंकका पूर्व अधिकारी तथा एएमएल–सिएफटी र अनुपालन विज्ञ रामकृष्ण सुसारलाले गरेका थिए । उनले अन्तर्राष्ट्रिय अनुभव र नेपालका वित्तीय संस्थाहरूका लागि उपयोगी अभ्यासहरूबारे जानकारी दिए ।
नेपाल एसबीआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा लगायत बैंकका अन्य वरिष्ठ अधिकारीहरूको पनि सहभागिता रहेको थियो ।
कार्यक्रमको अन्त्यमा सरोकारवालाबीच आपसी समन्वयलाई सुदृढ गर्दै विश्वव्यापी अनुपालन मापदण्डको पालना मार्फत नेपालको एएमएल–सिएफटी ढाँचालाई सबल बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
नेपाल एसबीआई बैंक लिमिटेडले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा–रहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।