काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासिनो लगायतका संस्थाहरूलाइ बैंकको अनुमति (इजाजतपत्र) बिना विदेशी मुद्रा कारोबार नगर्न चेतावनी दिएको छ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागद्वारा शुक्रबार जारी सूचनामा भनिएको छ, ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९’ को दफा ३ बमोजिम यस बैंकबाट इजाजतपत्र लिएर मात्र विदेशी विनिमयको कारोबार गर्न सकिने व्यवस्था छ।
बैंकले विभिन्न संस्थाहरूको प्रकृतिअनुसार विदेशी विनिमय कारोबारका लागि अलग–अलग विनियमावली जारी गर्दै आएको छ। क्यासिनोका हकमा ‘नेपाल राष्ट्र बैंक, विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७’ को परिच्छेद–४ मा सम्बन्धित प्रावधान उल्लेख गरिएको छ।
राष्ट्र बैंकले ऐनको दफा १२ अनुसार प्राप्त अधिकार प्रयोग गर्दै यो सूचना जारी गरेको हो। बैंकले क्यासिनो लगायतका संस्थाहरूले इजाजतपत्र लिएर मात्र विदेशी मुद्रा (भारतीय रुपैयाँसहित) को कारोबार गर्नुपर्ने स्पष्ट पारेको छ। राष्ट्र बैंकले इजाजत बिना विदेशी विनिमय कारोबार गर्नेलाई कानूनी कारबाही हुने चेतावनी पनि दिएको छ।