Logo

केन्द्रीय बैंकले सप्तकोशी डेभलपमेन्ट बैंकलाई शीघ्र सुधारात्मक कारबाही गर्यो

केन्द्रीय बैंकले सप्तकोशी डेभलपमेन्ट बैंकलाई शीघ्र सुधारात्मक कारबाही गर्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले सप्तकोशी डेभलपमेन्ट बैंकलाई शीघ्र सुधारात्मक कारबाही गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस बैंकको पुँजी कोष तोकिएको सीमाभन्दा २४.९ प्रतिशतले कम भएपछि शीघ्र सुधारात्मक कारबाही गरेको हो । केन्द्रीय बैंकले न्यूनतम पुँजी कोष अनुपात तोकिएभन्दा बैंक वा वित्तीय संस्थाले कायम गरेको पुँजी कोष अनुपात २५ प्रतिशतसम्मले कम भएपछि सप्तकोशीलाई कारबाही गरेको हो ।

तोकिएको १० प्रतिशतको पुँजी कोष २५ प्रतिशतले कम भएको खण्डमा सम्बन्धित बैंक वा वित्तीय संस्थाको उच्च व्यवस्थापनसँग सुधारका कार्यक्रम सम्बन्धमा छलफल गरी छलफलका विषयवस्तुलाई अभिलेखका रुपमा राख्ने गर्छ । केन्द्रीय बैंकको स्थलगत निरीक्षण प्रतिवेदनमा थप गरिएको कर्जा नोक्सानी व्यवस्था समायोजन गर्दा २०८१ असार मसान्तमा संस्थाको पुँजी कोष अनुपात १० प्रतिशतको न्यूनतम अनुपातमा ४२.७ प्रतिशतले पुगेको थिएन ।

२०८२ असार मसान्तको पछिल्लो वित्तीय विवरण अनुसार न्यूनतम पूँजी कोष अनुपात ७.५१ प्रतिशत छ । यो पूँजी कोष तोकेको न्यूनतम पूँजी कोष अनुपातमा २४.९ प्रतिशतले न्यून भएपछि सप्तकोशीलाई शीघ्र सुधारात्मक कारबाही गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

साथै, यस बैंकले तयार गरेको स्थलगत निरीक्षण प्रतिवेदन, २०८१ मा संस्थाले प्रवाह गरेको चालु पुँजी प्रकृतिका कर्जाहरु आवश्यक कागजात नलिई संस्थाको कोर बैंकिङ प्रणालीमा समयावधि थप गरेको, कर्जा नोक्सानी व्यवस्था सम्बन्धी विवरण यथार्थपरक नभएको तथा यस बैंकमा गरेको रिपोर्टिङ विस्वसनीय नभएको जनाएको छ । केन्द्रीय बैंकबाट दिइएका निर्देशनहरु पालना नगरेको पाइएकाले संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेललाई नसिहत दिइएको केन्द्रीय बैंकले जनाएको छ ।

यता, चालु आर्थिक वर्ष पहिलो त्रैमासमा केन्द्रीय बैंकले लुम्बिनी विकास बैंकलाई पनि कारबाही गरेको छ । स्थलगत निरीक्षणमा लुम्बिनी विकास बैंक सञ्चालक समितिले सीईओलाई दोस्रो कार्यकालको लागि पुनर्नियुक्ति गरेको केही समय सेवा सुविधा वृद्धि गरेको पाएपछि केन्द्रीय बैंकले तत्कालीन सञ्चालक समितिलाई सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्