Logo

कृषि कर्जाले मधेशमा बढायो उत्पादन, दूग्ध उत्पादन भने घट्यो

कृषि कर्जाले मधेशमा बढायो उत्पादन, दूग्ध उत्पादन भने घट्यो



काठमाडौं । गत आर्थिक बर्षभरी मधेस प्रदेशमा ५३ अर्ब रुपैयाँ बढी कृषि कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक विवरण अनुसार यो प्रदेशमा गत आर्थिक बर्षभरी ५३ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह भएको हो ।

बैंक तथा वित्तीय संस्थाबाट यस प्रदेशमा प्रवाह भएको कुल कर्जा मध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १२ दशमलव ५५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । मधेश प्रदेशमा प्रवाहित कुल कृषि कर्जा मध्ये सबै भन्दा बढी कर्जा प्रवाह सर्लाही जिल्लामा १६.४७ प्रतिशत रहेको सबै भन्दा कम सप्तरी जिल्लामा ७.०३ प्रतिशत रहेको छ ।

प्रतिवेदन अनुसार २०७९ असार मसान्तसम्ममा नेपालमा कृषि क्षेत्रमा ३१ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । यस्तो कर्जा प्रवाहमा सबैभन्दा बढी बागमती प्रदेशको हिस्सा ३४.३५ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको १.५७ प्रतिशत रहेको छ । मधेश प्रदेशमा कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १७.१० प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
नेपालमा विपन्न वर्गमा प्रवाहित कर्जा मध्ये सबै भन्दा बढी बागमती प्रदेशको अंश ४८.०६ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको अंश १.४६ प्रतिशत रहेको छ । नेपालमा कुल विपन्न वर्गमा प्रवाहित कर्जामा मधेश प्रदेशको अंश ८.७४ प्रतिशत रहेको छ ।

मधेश प्रदेशको कुरा गर्दा गत बर्ष यो प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट २२ अर्ब ३० करोड रुपैयाँ बराबरको सहुलियतपुर्ण कर्जा प्रवाह भएको छ ।

अघिल्लो आर्थिक बर्षको सोही अवधिमा यस्तो कर्जा १४ अर्ब ५ करोड रहेको थियो । समीक्षा वर्षमा सहुलियतपूर्ण कर्जा प्रवाहमा ठूलो वृद्धि आउनुमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंक तथा वित्तीय संस्थाले सो कर्जा प्रवाह गर्दा धितोमा आधारित भई अन्य कर्जा सरह सहुलियतपूर्ण कर्जा प्रवाह गर्नु प्रमुख कारण देखिएको राष्ट्र बैंकले बताएको छ ।

प्रवाहित कुल कर्जामध्ये सबैभन्दा बढी ४ अर्ब ४८ करोड अर्थात् २०.१३ प्रतिशत सर्लाही जिल्लामा र सबैभन्दा कम १ अर्ब ८ करोड अर्थात् ४.८७ प्रतिशत सप्तरी जिल्लामा रहेको प्रतिवेदनमा उल्लेख छ । मधेश प्रदेशमा गत आर्थिक बर्ष अघिल्लो बर्षको सोही अवधिको तुलनामा ८ अर्ब २५ करोड रुपैयाँले बढेको देखिन्छ ।

यसरी कर्जा प्रवाहमा वृद्धि भएसँगै यस प्रदेशमा तरकारीको उत्पादनमा पनि केहि वृद्धि भएको देखिएको छ । खाद्यान्नको भण्डार मानिने तराईको धेरै हिस्सा ओगटने मधेश प्रदेशमा गत आर्थिक बर्ष तरकारी उत्पादन अघिल्ला आवको तुलनामा २.५५ प्रतिशतले वृद्धि भई ११ लाख ५७ हजार ४ सय ७४ मेट्रिकटन पुगेको छ । अघिल्लो आवको सोही अवधिमा तरकारी तथा बागवानीको उत्पादन ८ प्रतिशतले वृद्धि भएको थियो ।

उत्पादित तरकारी मध्ये सबैभन्दा बढी महोत्तरी जिल्लामा ३ लाख ११ हजार ५ सय मे.टन अर्थात् कुल मधेश प्रदेशमा उत्पादित तरकारीको २६.९१ प्रतिशत उत्पादन भएको छ भने पर्सा जिल्लामा सबैभन्दा कम ७२ हजार ४ सय ५० मे.टन अर्थात् कुल मधेश प्रदेशमा उत्पादित तरकारीको ६.२६ प्रतिशत उत्पादन भएको छ । यो प्रदेशमा तरकारीजन्य पदार्थको उत्पादनमा वृद्धि भएपनि दूध उत्पादनमा भने ६ प्रतिशतको गिरावट आएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार यो प्रदेशमा दुधबाहेक मासुको उत्पादन ६.४९ प्रतिशत, अण्डाको उत्पादन २.३३ प्रतिशत र छालाको उत्पादनमा ४.८५ प्रतिशत वृद्धि भएको छ । गत बर्षको यसै अवधिमा छालाको उत्पादनमा ५.७८ प्रतिशत, दुधको उत्पादनमा २.६० प्रतिशत, मासुको उत्पादन ५.०९ प्रतिशत र अण्डाको उत्पादन २.०८ प्रतिशत वृद्धि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL