Logo

कोरोनाको केन्द्र उहानबाट पूर्ण क्षमतामा आन्तरिक हवाई उडान शुरु, एकैदिन ५०० वटा आन्तरिक उडान भए

कोरोनाको केन्द्र उहानबाट पूर्ण क्षमतामा आन्तरिक हवाई उडान शुरु, एकैदिन ५०० वटा आन्तरिक उडान भए



काठमाडौं । कोरोनाभाइरस महामारीको केन्द्रका रुपमा चिनिएको चीनको उहान शहरबाट पूर्ववत रुपमा आन्तरिक उडानहरु शुरु भएको छ । उहानमा गत वर्षको अन्त्यतिर कोरोनाभाइरस संक्रमित पहिलो व्यक्ति भेटिएका थिए ।

laxmi

त्यसपछि उक्त शहरलाई झण्डै ७६ दिन पूर्ण लकडाउनमा राखिएको थियो । शहरमा कोरोनाभाइरसको संक्रमण तिब्र रुपमा फैलिइसकेको भन्दै सरकारले रातारात अस्पतालहरु पनि निर्माण गर्नु परेको थियो ।

गत अप्रिल महिनाको शुरुमा आंशिक खुला भएको उहानमा जनजीवन विस्तारै खुकुलो हुँदै गएको छ भने आन्तरिक उडान नियमित हुन थालेका छन् । उहान तियान्हे अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले शुक्रबार एकै दिन ५०० वटा आन्तरिक उडानबाट ६४ हजार ७०० यात्रुले सेवा लिएको जानकारी दिए ।

यस विमानस्थलबाट चाँडै नै सियोल, सिंगापुर, क्वालालम्पुर र जकार्ताको उडान शुरु गर्न लागिएको सिन्ह्वा समाचार समितिले विमानस्थलका एक अधिकारी झु झियानीको भनाई उद्धृत गर्दै जनाएको छ ।

अन्तर्राष्ट्रिय कार्गो सेवा भने देशका प्रमुख औद्योगिक शहर तथा आम्स्र्टडम र नयाँदिल्ली जस्ता गन्तव्यमा शुरु भइसकेका छन् । चीनमा झण्डै एक महिनाभित्र स्थानीय रुपमा संक्रमणका कुनै पनि बिरामी भेटिएका छैनन् । आइतबार भेटिएका १० जना संक्रमितहरु अन्यत्रबाट आएका व्यक्ति रहेको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ ।

चिनियाँ अस्पतालमा हाल १५१ जनाको उपचार भइरहेको र ३५७ जनालाई आइसोलेसनमा राखिएको छ । चीनमा कोरोना संक्रमितको कूल संख्या ८५ हजार १८४ जना रहेका र त्यसमध्ये चार हजार ६३४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL