Logo

हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बु क्षेत्र, तापक्रम निरन्तर माइनसमा जाँदा सुनसान बन्यो

हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बु क्षेत्र, तापक्रम निरन्तर माइनसमा जाँदा सुनसान बन्यो



सोलुखुम्बु । चिसो अधिक भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न अन्यत्र गएका छन् । पर्यटकीय याममा व्यस्त हुने होटल पसल व्यवसायी पनि जाडो छल्न खुम्बु क्षेत्रबाट बाहिरिन थालेका छन् ।

स्थानीय दामु शेर्पाका अनुसार सो क्षेत्रका करिब ७० प्रतिशत व्यवसायी तथा सर्वसाधरणले खुम्बु छाडिसकेका छन् । उनीहरु बढीजसो काठमाडौँ र कतिपय तीर्थयात्रामा भारतको बुद्धगैयालगायतका क्षेत्रमा जाने गरेका छन् । अधिकांश व्यवसायी तथा स्थानीय बाहिरिएसँगै खुम्बु क्षेत्र सुनसान बनेको लुक्लाका तोया श्रेष्ठले बताए ।

उनका अनुसार पर्यटकीय याम चलिरहँदा पर्यटकले खचाखच हुने खुम्बुको विमानस्थल, होटल लज, क्याम्पिङ साइट तथा दृश्यावलोकन गर्ने स्थल अहिले सुनसान बनेका छन् । नाम्चेका लामाकाजी शेर्पाले सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चे, गोक्यो, कालापत्थर, एभरेष्ट बेस क्याम्पलगायतका ठाउँमा पनि अहिले पर्यटकको चहलपहल सुनसान बनेपछि व्यवसायी घरेलु कामदारलाई होटल छाडेर अन्यत्र गएको बताए ।

केही होटल पसल खुला भए पनि व्यवसायीको जनजीवन कष्टकर बन्दै गएको छ । यामको बेला दैनिक एक सयभन्दा बढी हवाई उडान हुने लुक्लामा अहिले दैनिक पाँच–छवटा मात्रै उडान हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण शाखा कार्यालय लुक्लाको तथ्याङ्क छ । भौगोलिक विकटता तथा उच्च हिमाली क्षेत्र भएकाले जाडो महिनामा यस भेगमा एकछिन पनि बस्न नसकिने र वर्षमा छ महिना मात्र बसोबास गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । उच्च हिमाली क्षेत्र भएकाले पर्यटकीय याममा मात्र बस्ने गरेको होटल व्यवसायीको भनाइ छ ।

चिसो अत्यधिक बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सर्वसाधरण आगो तापेर समय बिताउने क्रम बढेको छ । चिसोबाट बच्न बालबालिकादेखि वृद्धवृद्धासम्म सडकमा आगो तापेर बस्न थालेका हुन् । चिसोले विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने गरेको सल्लेरीका दावा शेर्पाले बताए । हावापानी मापन केन्द्र सल्लेरीका नवराज पराजुलीका अनुसार पछिल्लो एक सातायता सल्लेरीको तापक्रम निरन्तर माइनसमा गएको छ ।

मङ्गलबार सल्लेरीको तापक्रम माइनस दुई डिग्री सेल्सियस मापन गरिएको उनले बताए । उनका अनुसार उक्त तापक्रम जिल्लामा यस वर्षकै कम हो । सल्लेरी बजार क्षेत्रसहित आसपासका धेरैजसो स्थानमा मानिसले आगो तापेर समय बिताउने गरेका छन् । घरभित्र बस्दासमेत चिसोले कठ्याङ्ग्रिन थालेपछि सडकमा आगो बालेर बस्न थालेको नयाँ बजारकी सूर्यकुमारी राजभण्डारीले बताइन् ।

उनले भनिन्, ‘वृद्धवृद्धालाई झन् धेरै गाह्रो भयो, अरु उमेरका मानिसले त चिसो पचाउला तर अलिक बूढापाकालाई समस्या भयो, चिसोले राति सुत्दासमेत कठ्याङ्ग्रिन थालेको छ, खै सल्लेरीमै यस्तो छ झन् माथिल्लो क्षेत्रमा त के होला अवस्था, यो वर्ष धेरै चिसो भयो ।’ अधिक चिसोका कारण व्यवसाय सञ्चालन गर्न समेत कठिन भएको सल्लेरीमा टेलरिङ व्यवसाय गर्दै आएका खड्गबहादुर हिङ्माङले बताए ।

जिल्लाको माथिल्लो क्षेत्रको जनजीवन चिसोले अझ धेरै प्रभावित बनेको छ । हिमाली क्षेत्र नाम्चे, लुक्ला, फाक्दिङलगायतका स्थानमा चिसोले दैनिकी कष्टकर बनेको स्थानीय आङफुर्वा शेर्पाले बताए । जसका कारण अन्य काम वस्तुभाउको स्याहार गर्न, घाँसपात गर्न समेत समस्या भएको उनको भनाइ छ ।
पानी आपूर्तिमा समस्या
जिल्लाको खुम्बु क्षेत्रमा चिसोका कारण पाइपमै पानी जम्न थालेपछि पानी आपूर्तिमा समस्या भएको छ । अत्यधिक चिसोका कारण पाइपमै पानी जम्दा सगरमाथा क्षेत्रमा पिउने पानीको आपूर्ति प्रभावित भएको हो । दिउँसो घाम लागेको समयमा समेत जमेको पानी नपग्लिँदा खुम्बुका विभिन्न ठाउँमा खानेपानी आपूर्ति बन्द भएको स्थानीय नुरु शेर्पाले बताए ।

उनले भने, ‘खुम्बुमा यतिखेर खाने तेलदेखि घरभित्र भरेको पानीसमेत जमेर ढिक्काजस्तै बन्छ, मज्जाले घाम लागेको बेला त त्यो पग्लिन्छ, यसरी घाम नलाग्दा त घरभित्रको पानी दिनभर नै पग्लिदैन, यहाँको अवस्था त तपाईहरूले सोचेभन्दा फरक छ नि, कत्ति गाह्रो छ, त्यही भएर धेरैजसोले खुम्बु छाडे, हामी थोरैमात्रै गाउँमा छौँ ।’ यो क्षेत्रको तापक्रम घटेर माइनस १७ डिग्री सेल्सियससम्म झर्ने गरेको स्थानीयले बताएका छन् । चिसोले विकास निर्माणका कामदेखि अन्य दैनिक क्रियाकलापसमेत प्र्रभावित बनेको छ भने गाउँघरमा मानिसको चहलपहल न्यून हुँदै गएका छन् ।

विद्यालय अघिकांश बन्द भएपछि बालबालिका आगो तापेर समय कटाउनु यहाँका नागरिकको बाध्यता भएको पिके माध्यमिक विद्यालय लोदिङका शिक्षक ल्हाक्पा शेर्पाले जानकारी दिए । उनले भने, ‘चिसोले विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्दै गए पनि विद्यालय नै बन्द गरेका छाँै, शिक्षकलाई पनि गाह्रो छ, कतिपय शिक्षक तराईको हुनुहुन्छ, त्यसैले उहाँहरूलाई चिसोमा यहाँ बस्न निकै कठिन छ ।’ रासस

प्रतिक्रिया दिनुहोस्