Logo

सुदूरपश्चिमको आर्थिक गतिविधि : कृषि उत्पादन १० प्रतिशतले घट्यो, बैंक कर्जा प्रवाहमा १५ प्रतिशतको बृद्धि

सुदूरपश्चिमको आर्थिक गतिविधि : कृषि उत्पादन १० प्रतिशतले घट्यो, बैंक कर्जा प्रवाहमा १५ प्रतिशतको बृद्धि



काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कृषि क्षेत्रको उत्पादकत्व घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको अर्धबार्षिक गतिविधि अनुसार सुदूरपश्चिम प्रदेशमा खाद्य उत्पादन नै गत आवको तुलनामा १०.७१ प्रतिशतले घटेको हो । यहाँका मानिसहरु कृषि पेशाबाट पलायन भएर व्यापारतिर लाग्दा कृषि उत्पादनमै ह्रास आएको बताईएको छ । चालु आर्थिक बर्षको पुष मसान्तसम्मको अवधिमा यहाँ प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम् फलफूल तथा मसला) ले ढाकेको भू–क्षेत्र ०.५८ प्रतिशतले घटेको छ ।

laxmi

यस्तै यस प्रदेशका बैंक तथा वित्तीय संस्थाको आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्मको निक्षेप २०७८ असार मसान्तको तुलनामा ३.०२ प्रतिशतले घटेको छ भने कर्जा प्रवाह १५.८१ प्रतिशतले वृद्धि भएको छ । पुष मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा यातायात साधन संख्या १६.३७ प्रतिशतले वृद्धि भएको छ ।

चालु आवको पुष मसान्तसम्म सुदूरपश्चिमको प्रमुख खाद्य तथा अन्य बालीमध्ये सवैभन्दा बढी कोदोको उत्पादन २२.४७ प्रतिशतले वृद्धि भएको छ भने धान उत्पादनमा ३१.४९ प्रतिशतले ह्रास आएको छ ।

त्यसैगरी, तरकारी उत्पादनमा ०.०७ प्रतिशतले ह्रास आएको छ भने फलफूल तथा मसला ६.२५ प्रतिशतले बढेको छ ।
यहाँको पशुजन्य उत्पादन अन्तर्गत दूध १.५९ प्रतिशत, मासु १.५५ प्रतिशत, अण्डा ०.५१ प्रतिशतले बढेको छ । चालु आवमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाले १०.१० प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् ।

समीक्षा अवधिमा यस प्रदेशका अध्ययन नमूनामा समेटिएका उद्योगको औसत क्षमता उपयोग ३४.९९ प्रतिशत रहेको छ ।
यस्तै राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको औद्योगिक उत्पादनमध्ये आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक अवधिमा रोजीन र तोरीको तेलको उत्पादनमा ह्रास आएको जानकारी दिएको छ । तर, अन्य वस्तुहरुको उत्पादनमा भने वृद्धि भएको छ ।
यहाँको अध्ययन क्षेत्र अन्र्तगतका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको औद्योगिक कर्जा कुल प्रवाहित कर्जाको १८.४९ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा यस प्रदेशमा केही जिल्लामा ठूलो लगानीका नयाँ होटलहरु सञ्चालनमा आएका छन् । तर, कुनै जिल्लामा केही होटलहरु पूर्ण रुपमा बन्द भएका कारण समग्रमा पर्यटकस्तरीय होटल तथा लज संख्यामा ६.५२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै होटलको शैया संख्या ८.९९ प्रतिशतले बढेको छ । यहाँको घरजग्गा रजिष्ट्रेशन संख्या १०.८८ प्रतिशतले घटेको छ भने, रजिष्ट्रेशन राजस्व ५८.५८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL