Logo

स्वदेशी लगानी खस्किदा ७ महिनामा ४१ अर्बको वैदेशिक लगानी प्रतिवद्धता, किन खस्कियो स्वदेशी लगानी ?

स्वदेशी लगानी खस्किदा ७ महिनामा ४१ अर्बको वैदेशिक लगानी प्रतिवद्धता, किन खस्कियो स्वदेशी लगानी ?



काठमाडौं । चालु आर्थिक बर्षको ७ महिनामा नेपालमा ४१ अर्ब बढीको बैदेशिक लगानीको प्रतिवद्धता आएको छ । गत बर्षको सोही अवधिमा नेपालमा १५ अर्ब बराबरको मात्रै लगानी प्रतिवद्धता आएको थियो ।

पछिल्लो समय नेपालमा वैदेशिक लगानी अपेक्षा अनुरुप भित्रिएको विभागको तथ्याङ्कले देखाएको छ । नेपालले विदेशी लगानीकर्तालाई दिने सेवा, सुविधा र सहुलियतका कारण नेपालमा वैदेशिक लगानीमा उल्लेख्य वृद्धि भएको सम्बद्ध ब्यवसायीहरुको भनाई छ ।

स्वदेशी व्यवसायीका अनुसार सरकारले विदेशी लगानीकर्तालाई उल्लेख्य रुपमा सहजीकरणका कामहरु गरिरहेको छ, जसका कारण लगानी पनि त्यही अनुसार आईरहेको छ । सरकारले विदेशी लगानीकर्तालाई भनेजति सहुलियत र सहजीकरण गरेको भएपनि स्वदेशी लगानीकर्तालाई भने त्यही अनुसार नहेरेको लगानीकर्ताको गुनासो छ ।

चालु आवमा वैदेशिक लगानीमा उल्लेख्य वृद्धि हुँदा स्वदेशी लगानीमा भने करिव २२ अर्ब बराबरको गिरावट आएको छ । सरकारले नै स्वदेशी लगानीकर्तालाई निरुत्साहित गर्नेगरी नीति ल्याउँदा स्वदेशी लगानीमा गिरावट आएको लगानीकर्ताहरुको भनाई छ ।

गत आर्थिक बर्षको पहिलो ७ महिनामा कुल १ खर्ब ३१ अर्ब ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो । तर चालु आवको सोही अवधिमा भने जम्मा १ खर्ब ९ अर्ब बराबरको लगानी प्रतिवद्धता आएको हो ।

गत बर्ष विभिन्न क्षेत्रका गरी विभिन्न २ सय ९३ उद्योगमार्फत १ अर्ब ३१ करोड रुपैयाँको स्वदेशी लगानी प्रतिवद्धता आएको थियो । तर यो बर्ष भने २ सय ९ ओटा स्वदेशी उद्योगमार्फत मात्रै लगानी प्रतिवद्धता आएको हो ।

गत बर्षको तुलनामा यो बर्ष उर्जामुलक, प्रविधि लगायतको क्षेत्रमा स्वदेशी लगानी घटेको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ । तथ्याङक अनुसार यो बर्षको ७ महिनामा पर्यटन क्षेत्रमा स्वदेशी लगानी बढेपनि सेवामुलकलगायत अन्य क्षेत्रका उद्योगमा लगानी खस्किदो छ ।

यस्तै वैदेशिक लगानीे भने गत बर्षको तुलनामा प्रायजसो सबै क्षेत्रमा उल्लेख्य रुपमा बढेको देखिन्छ । उद्योग विभागका अनुसार प्रविधि, सेवा र पर्यटन क्षेत्रमा गतबर्ष भन्दा उल्लेख्य रुपमा लगानी प्रतिवद्धता बढेको छ ।

गत आवको पहिलो ७ महिनामा विभिन्न २ सय ११ ओटा उद्योगमार्फत १५ अर्बको लगानी प्रतिवद्धता आएको थियो । तर यो आवको पहिलो ७ महिनामा प्रविधि, सेवा र पर्यटन क्षेत्रमा लगानी प्रतिवद्धता बढेका कारण १ सय ६१ उद्योगमार्फत ४१ अर्ब ८७ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL