Logo

बेलायती राजदूत पोलिट र परिसंघका अध्यक्ष मोरबीच भेट, नेपालमा लगानी बढाउन आग्रह

बेलायती राजदूत पोलिट र परिसंघका अध्यक्ष मोरबीच भेट, नेपालमा लगानी बढाउन आग्रह



काठमाडौं । नेपालका लागि बेलायतका राजदूत निकोल पोलिट र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुबीच भेटवार्ता भएको छ ।

राजदुत पोलिटको स्वागत गर्दै परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल र बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउदै आर्थिक तथा व्यापारिक र लगानी विस्तारमा केन्द्रित गर्नु पर्ने समय आएको बताएका छन ।

बेलायतले नेपालको आर्थिक तथा निजी क्षेत्रको विकासका लागि गरिरहेको योगदानको चर्चा गर्दै अध्यक्ष मोरले यसलाई थप विस्तार गर्न सहजकर्ताको भूमिका निर्वाह गर्न परिसंघ तयार रहेको बताए । उत्पादनमुलक क्षेत्र, वित्तीय सेवा, ठूला पूर्वाधार तथा पर्यटनका क्षेत्रमा लगानीका सम्भावनाहरु रहेको बताउँदै उनले निकोल पोलिटको ध्यानाकर्षण गराएका थिए ।

सोही अवसरमा राजदूत पोलिटले बेलायत र नेपालको ऐतिहासिक सम्बन्धलाई आर्थिक अवसरमा बदल्न सबैखाले लगानीका लागि उचित वातावरण तयार गर्नु आफ्नो प्राथमिकतामा रहको बताए । राजदुत पोलिटले लगानी वातावरणमा देखिएका समस्या सुधारमा सहकार्य गरी अघि बढाउने प्रतिवद्धता समेत ब्यक्त गरेका छन ।

भेटमा परिसंघको अन्तरराष्ट्रिय समितिका संयोजक राजबहादुर शाहले नेपालको राजनीतिक अवस्थामा आएको सुधारले लगानीको वातावरण बन्दै गएको बताउँदै बेलायती लगानीकर्ताहरुलाई प्रेरित गर्न राजदूत पोलिटलाई आग्रह गरेका छन । ऊर्जा र अन्य पूर्वाधार परियोजना तथा नयाँ स्टार्टअप व्यापारमा समेत बेलायती लगानीकर्ताका लागि उपयुक्त समय आएको शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL