Logo

महासंघमा व्यवसायिक मुद्दालाई अघि बढाउन मेरो उम्मेदवारी

महासंघमा व्यवसायिक मुद्दालाई अघि बढाउन मेरो उम्मेदवारी



नेपाली उद्योग तथा व्यवसाय क्षेत्रमा परिचित नाम हो रामचन्द्र संघई । ८० वर्ष पुरानो व्यवसायिक घराना त्रिवेणी समूहको विरासतलाई अघि बढाइरहेका संघईले समूहमा रहेर सिमेन्ट, धागो, बैंक, फाइनान्स, इन्सुरेन्स, जलविद्युतदेखि विभिन्न क्षेत्रमा नेतृत्व गरेका छन् ।

laxmi

आफ्नो नामले भन्दा पनि कामले चिनिन चाहने संघईले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई)मा डेढ दशकसम्म केन्द्रीय समितिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् । एफएनसिसीआइको आगामी कार्यसमितिबाट नेतृत्वमा आगमनको तयारी गरिरहेका संघई एफएनसिसीआईलाई राजनीतिक नभई व्यवसायिक मुद्दामा अघि बढाउन आफु पुनः नेतृत्वमा आउन चाहेको बताउँछन् ।

एफएनसिसीआईमा आफुजस्तो लामोसमयदेखि उद्योग र व्यवसाय बुझेको व्यक्ति नेतृत्वमा आउन आवश्यक रहेको बताउने संघई एफएनसिसीआई उद्योग व्यवसायीको लागि भएको र यसले उद्योग व्यवसाय क्षेत्रका मुद्दा उठान गर्नेमात्र हैन कि समाधान नै गर्नुपर्छ भन्छन् ।

एफएनसिसीआइको आगामी कार्यसमितिका लागि एसोसियटतर्फ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका त्रिवेणी समुहका निर्देशक संघईसँग महासंघको निर्वाचन, उम्मेदवारी तथा उद्योग व्यवसायका क्षेत्रमा केन्द्रित रहेर बिजखबर डटकमका लागि सन्तोष पोख्रेल र रामराजा श्रेष्ठले गरेको कुराकानीको सारसंक्षेप :

महासंघको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । महासंघको नेतृत्वमा आउने चाहना किन गर्नुभयो ?

महासंघ सबै उद्योगी व्यवसायीका लागि एउटा साझा थलोको रुपमा रहेको छ । यहाँ हामी हजारौं व्यवसायीहरु सामूहिक रुपमा उद्योग व्यवसाय क्षेत्रको ‘Betterment’का लागि काम गर्छौ । हाम्रो प्रयास देशको उद्योग व्यवसायको विकास, सम्बद्र्धन र प्रर्वद्धनका लागि हो ।

देशको उद्योग व्यवसाय फष्टाउनु वा राम्रो हुनु भनेको देशको अर्थतन्त्र सकारात्मक बाटोमा जानु हो । सबल अर्थतन्त्रले नै देश समृद्ध बन्ने हो ।

महासंघमा व्यवसायिक मुद्दालाई अघि बढाउन मेरो उम्मेदवारी

यसरी हेर्दा हरेक उद्योग व्यवसायीले देशका लागि महत्वपूर्ण योगदान गरिरहेका हुन्छन् । हो यही योगदानलाई राज्यले पहिचान गरोस्, उपयुक्त वातावरण श्रृजना गरिदिओस र उद्योग व्यवसायीका लागि उचित नीति तथा व्यवस्था होस भनेर हामीले राज्यसँग लविङ गर्ने हो । नेतृत्व भनेको त्यसैका लागि एउटा टीम हो ।

वास्तवमा महासंघका हरेक सदस्यको सबै पक्षमा उत्तिकै योगदान हुन्छ । तर, हजारौं सदस्यहरु एकैपटक डायलगमा जान त सक्दैनन् । तर, नेतृत्वले ती सबै सदस्यको भावना, चाहना, आवश्यकता र समस्याहरुलाई बोकेर सम्बन्धित पक्षसम्म पुरयाउंछ र सबैका लागि काम गर्छ । यस्तो टीम पक्कै पनि अनुभवी, कुशल र सबैको भावना बोक्न सक्ने हुनुपर्छ ।

यही विषयलाई मध्यनजर गरेर नै मलाई महासंघको उपाध्यक्षमा आउनुपर्छ भन्ने महसुस भयो । मैले नेपालको उद्योग व्यवसाय क्षेत्रमा लामो समयदेखि काम गरेको छु र बुझेको पनि छु ।

महासंघमै पनि २० वर्षदेखि आवद्ध छु । अब मेरो अनुभव र क्षमतालाई पनि मैले नेतृत्वमा रहेर नेपालको उद्योग व्यवसाय र उद्योगी व्यवसायी साथीहरुको हितमा लगाउन सक्छु भन्ने लागेर नै उम्मेदवारीको घोषणा गरेको हुँ ।

तर, यहाँको उम्मेदवारी त ढिलो घोषणा भयो, कसैको चाहनामा त उम्मेदवार बन्नु भएको होइन नि ?

मलाई त मेरो उम्मेदवारी घोषणा ढिलो भएजस्तो लाग्दैन । अझै पनि निकै समय छ । अरु साथीहरुले चाँडो उम्मदेवारी घोषणा गरेकाले मैले ढिलो उम्मेदवारी घोषणा गरेको जस्तो लाग्यो होला । तर, मलाई म ढिलो भए कि भन्ने लागेको छैन् र अर्को कुरा मेरो उम्मेदवारी कसैको चाहनामा पो हो कि भन्ने जुन कुरा गर्नुभयो, त्यसमा अलिकति पनि सत्यता छैन् ।

म एफएनसिसीआईमा हिजोअस्ति आएको मान्छे पनि हैन् । म बीसौं वर्षदेखि महासंघमा छु र डेढ दशकभन्दा बढी त केन्द्रीय समितिमा रहेर काम गरिसकेको छु । अर्कोतिर हेर्नुस, म एउटा लिगेसी बोकेको त्रिवेणी समूहको सदस्य हुँ ।

जसको नेपालको उद्योग व्यवसायको क्षेत्रमै ८० वर्षको इतिहास छ । एउटा कुरा के सत्य हो भने म बोलेर भन्दा पनि काम नै गरेर आफुलाई सबैले चिनुन् भन्ने चाहन्छु ।

महासंघमा व्यवसायिक मुद्दालाई अघि बढाउन मेरो उम्मेदवारी

आजको मितिसम्म हामीले गरेको कामले नै हाम्रो यो क्षेत्रमा रहेको योगदान स्पष्ट हुन्छ । जुन हाम्रो इतिहास र वर्तमान छ, त्यसले नै स्पष्ट हुन्छ कि म कसैको चाहनामा वा दवावमा उम्मेदवार बन्ने मान्छे होइन भन्ने कुरा । यसलाई मैले त्यति धेरै स्पष्ट पारीरहनु पर्छ जस्तो मलाई लाग्दैन ।

तर, महासंघमा त विभिन्न चुनावी तालमेल, प्यानल र पक्षहरु पनि देखिन्छन नि ?

पक्कै पनि यी विषयहरुलाई नजरअन्दाज गर्न सकिन्न । तर, महासंघ भनेको व्यवसायिक संस्था हो । यहाँ हुने गतिविधि पनि व्यवसायिक नै हुनुपर्छ भन्नेमा मेरो जोड छ । अब चुनावी तालमेल, प्यानल र पक्षहरुको कुरालाई पनि नकारात्मक रुपमा हेर्नु हुँदैन् जस्तो लाग्छ ।

महासंघमा रहेका सबै सदस्यहरुका लागि महासंघको विधानअनुसार नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने अवसर हुन्छ । यस्तोमा जोसुकैले पनि म महासंघमा रहेर काम गर्न सक्छु भन्ने चाहना राख्छ भने उ अगाडि आउन पाउनुपर्छ । चुनाव नेतृत्वका लागि नै हुने हो । नेतृत्वमा जान चाहनेहरु धेरै भएपछि प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चुनिन्छ ।

यसक्रममा पक्ष–विपक्ष, प्यानल भएको जस्तो देखिन्छ । तर, मुख्य प्रतिस्पर्धा त एजेण्डामै हुने हो । एउटा एजेण्डामा मत मिल्नेहरु एकातिर हुन्छन भने अर्को एजेण्डामा मत मिल्नेहरु अर्कोतिर हुन्छन । यसले प्यानल बनेको देखिन्छ । जुन चुनावी प्रक्रियासम्म मात्र रहन्छ ।

महासंघमा व्यवसायिक मुद्दालाई अघि बढाउन मेरो उम्मेदवारी

चुनाव हुँदा पनि र सकिएपछि पनि हामी सबै उद्योगी व्यवसायीहरु एउटै छातामा रहन्छौं । तर, एउटा ध्रुवसत्य कुरा के हो भने जुनसुकै एजेण्डाले जिते पनि त्यो महासंघकै लागि र उद्योगी व्यवसायीकै हितका लागि हुनुपर्छ । हामी व्यवसायीले महासंघमा गएर पनि व्यवसायिक ढंगले काम गर्न सक्यौ भने त्यसले समग्रको हित हुन्छ भन्ने मेरो धारणा छ ।

तर, यहाँ आफ्नो समुदायबाट बाहिर आएर उम्मेदवारी दिनुभयो भन्ने सुनिन्छ नि ?

यसमा मलाई त त्यस्तो लागेको छैन् । अर्को कुरा महासंघमा समुदायको कुरा पनि केही छैन् । महासंघमा त समुदायको भन्दा पनि उद्योग व्यवसाय बुझेको व्यक्ति आउनुपर्छ ।

सक्षम र उपयुक्त नेतृत्व आउनुपर्छ भन्नेमा हामी सबैको एकमत छ । म पनि यही बिचार बोकेर अघि बढेको छु ।

यहाँको चुनावी तयारी कस्तो छ ? केही रणनीति बनाउनुभएको छ कि ?

पक्कै पनि तयारी त चलिरहेकै छ । पहिलो कुरा त म आन्तरिक रुपमा सबैसँग परामर्श र छलफलपछि मात्र उम्मेदवारीका लागि तयार भएको हुँ ।

चन्द्रजीले महासंघलाई सबल, सक्षम र प्रभावकारी बनाउन एउटा उपयुक्त टीम बनाएर जाने प्रस्ताव गर्नुभयो ।

महासंघमा लामो समय रहेर काम गरेको मेरो अनुभव, उद्योग व्यवसायको क्षेत्र र उद्योगी व्यवसायीसँगको मेरो सम्बन्धले पनि मलाई महासंघको नेतृत्वका लागि तयार गरेको हो ।

अहिले हामी महासंघमा एउटा दरिलो, बलियो र सक्षम नेतृत्वका लागि सबैसँग परामर्श गरेर अघि बढिरहहेका छौं । सबै साथीहरुले उत्साह थपिरहनुभएको छ ।

रोजगार परिषदको सभापति पनि हुने हुनाले महासंघमा यो पद निकै महत्वपूर्ण मानिन्छ । यो भूमिकालाई कसरी निर्वाह गर्नुहुन्छ ?

एसोसियट उपाध्यक्ष निकै जिम्मेवारीपूर्ण पद हो र यो पदमा रहेर न्याय गर्न सक्छु भन्ने विश्वासका साथ नै म अगाडि आएको हो ।

रोजगार परिषदको सभापतिको नाताले सरकार, उद्योगीदेखि श्रमिकसम्मका विषय हेर्नुपर्छ ।

पछिल्लो समयमा नयाँ श्रम ऐन, सामाजिक सुरक्षा ऐन, सामाजिक सुरक्षा कोष जस्ता ऐनहरु लागु भएका छन, तिनको कार्यान्वयन सवै पक्षको हितमा हुनेगरि प्रभावकारी रुपमा गर्नुपर्ने हुन्छ

म पहिलेनै रोजगारदाता परिषदको उपसभापतिको रुपमा पनि काम गरिसकेको नाताले पनि यो भूमिकामा रहेर सबैको हितमा काम गर्न सक्छु भन्ने मलाई लागेको छ । सरकारसँग उपयुक्त रुपमा समन्वय गर्दै श्रमिकहरु समेतको हितमा काम गर्न सकिन्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।

केही एजेण्डाहरु नै तय गर्नुभएको छ कि ?

एजेण्डाको कुरा गर्दा हाम्रो मुख्य एजेण्डा नै महासंघलाई सबल, सक्षम र प्रभावकारी बनाउने हो । महासंघ सबल, व्यवसायिक, सक्षम र प्रभावकारी भयो भने यसले सबै सदस्यहरुको हितमा काम गर्न सक्छ । अहिले यो–यो एजेण्डा भनेर तोक्नुभन्दा पनि उद्योगी व्यवसायीका वर्तमान समस्यालाई हल गर्ने र आगामी समयका लागि उद्योग व्यवसायको क्षेत्रलाई थप मजबुत बनाउने हो ।

मेरो अहिलेको एजेण्डा उद्योगी व्यवसायीका लागि सहुलियतपूर्ण सरकारी सेवा शुल्कको विषयमा सरकारसँग विशेष पहल गर्ने, औधोगिक एंव व्यवसायिक प्रतिष्ठानहरुमा उद्योगी व्यवसायी र श्रमिकहरुको विश्वासलाई थप मजबुद बनाउँदै देशमा औधोगिक वातावरण कायम राख्न निरन्तर सक्रिय रहन प्रतिबद्ध छु ।

अर्को मेरो मुख्य एजेण्डा भनेको सरकारसँग हामीले राख्दै आएका जुन मागहरु तथा मुद्दाहरु छन् ती विषय समाधान गर्ने हो । हामी लामो समयदेखि समाधानको लागि पहल गर्ने भनिरहेका छौं । अब पहल हैन समाधान नै गर्नुपर्छ भन्ने मेरो दृढ धारणा हो ।

महासंघमा व्यवसायिक मुद्दालाई अघि बढाउन मेरो उम्मेदवारी

उद्योगी व्यवसाायीको हितलाई नै मुख्य रुपमा हामीले महासंघमा रहेर प्रवद्र्धन गर्ने जुन काम छ त्यसलाई मेरोतर्फबाट थप प्रभावकारी बनाउन लागिपर्नेछु । अर्को कुरा म आफै पनि एउटा उद्योगी व्यवसायी भएको नाताले यो क्षेत्रमा के–के समस्या छन् भन्ने विषयमा म राम्ररी जानकार छु । सबै उद्योगी व्यवसायीका समस्या उस्तै प्रकारका हुने भएकाले पनि मलाई महासंघमा रहेर के काम गर्नुपर्छ भन्ने बारेमा राम्ररी बुझेको छु । त्यसैले यो क्षेत्रका समस्यालाई समाधानको दिशामा लान सक्छु भन्ने मलाई पूर्ण विश्वास छ ।

तर, महासंघमा चुनावसम्म म महासंघलाई समय दिन्छु भन्ने र चुनाव जितेपछि चाहिं आफ्नो व्यवसायमा मात्र ध्यान दिने र महासंघलाई समय नै नदिने भन्ने आरोप पनि छ नि ? यो विषयमा के भन्नुहुन्छ ?

यस्तो गुनासो होला पनि । तर, म त यही क्षेत्रमा रहेको मान्छे हुँ । मेरो पनि समस्या आउँछ । महासंघ नै त्यस्तो समस्या समाधान गर्ने प्लेटफर्म हो, जहाँ बसेर नै हामीले व्यवसायिक पहल गर्ने हो । म आफैं उद्योग व्यवसाय सञ्चालन गर्छु भने म महासंघबाट टाढा जाने भन्ने कुरै हुँदैन् ।

हामी जो उद्योग व्यवसाय गरिरहेका छौं, उनीहरु महासंघबाट बाहिर रहन नै सक्दैनन् । अब नेतृत्व भनेको त थप दाायित्व पनि हो र त्यो दायित्व निर्वाह गर्न सक्छु भनेर नै हामीले उम्मेदवारी घोषणा गरेको हो ।

यहाँको महासंघमा बिजयका आधारहरु के–के छन् ?

पहिलो कुरा त म उद्योग व्यवसायको क्षेत्रमा लामो समयदेखि सक्रिय रहेको छु । जसले महासंघमा रहेर यो क्षेत्रको श्रीवृद्धिमा काम गर्न सक्छ भन्ने सबैलाई जानकारी छ । महासंघमा रहेर महासंघलाई थप सुदृढ र सामयिक बनाएर अघि बढाउन मेरो भूमिका महत्वपूर्ण हुनेछ भन्नेमा मैले सबैको विश्वास हासिल गर्नेछु । यही नै मेरो जीतको आधार हो । अर्कोतर्फ अहिले हामी जुन टीमको कुरा गरिरहेका छौं । त्यो टीमपनि हाम्रो जीतको आधार बन्नेछ ।

महासंघ अहिले सबै उद्योगी व्यवसायीको प्रतिनिधिमुलक संस्था भनिएपनि ठूला उद्योगीहरुको हितमा मात्र केन्द्रित भयो भन्ने आरोप छ नि ? महासंघ सानादेखि ठूला सबै उद्योगी व्यवसायी बनाउन के गर्नुपर्ला ?

पक्कै पनि यस्तो गुनासोलाई हामीले सुनुवाई गर्नैपर्छ । महासंघ सबैको साझा संस्था हो भन्ने महसुस गराउने काम नेतृत्वले गर्ने हो र गर्नैपर्छ । संस्थाले ठूला–साना भन्दा मुद्दाहरुमा रहेर काम गर्ने हो । हामी नेतृत्वमा आएपछि हामीले महासंघका सदस्यहरुको समस्या के छन्, मुद्दाहरु के छन् भन्नेमा केन्द्रित हुने हो ।

म आफैं ठूला, मझौला र साना सबै प्रकारका उद्योगहरु चलाइरहेको छु । त्यसैले पनि म सानो ठूलो भन्नेमा कुनै फरक सोच्दिन । मेरो धारणा के हो भने महासंघमा रहेका सबै सदस्यहरुको लागि महासंघले काम गर्नुपर्छ र हामी त्यो गर्छौ । देशमा ठूला, मझौला र साना सबै प्रकारका उद्योगहरु चाहिन्छन् ।

अहिले महासंघ आपसी द्धन्द्धमा रुमलिंदा एकढिक्का भएर सरकारसँग आफ्ना मुद्दाहरुमा पनि लविङ गर्न सकेन भन्ने सुनिन्छ । के भन्नुहुन्छ ?

मलाई अहिले पनि महासंघ एक ढिक्का नै छ भन्ने लाग्छ । केही कमजोरी छन् भने सुधार गरेर थप सुदृढ गरेर जाने कुरा हुन्छ । महासंघ हाम्रा अग्रज तथा पूर्वअध्यक्षहरुले एउटा जुन प्लेटफर्म निर्माण गर्नुभएको छ, यो निकै महत्वपूर्ण र ठूलो प्लेटफर्म हो ।

यसका लागि म उहाँहरु सबैलाई धन्यबाद दिन चाहन्छु । सुधारको प्रक्रिया निरन्तर चलिरहन्छ र हाम्रो नेतृत्वले महासंघलाई थप सुधार गरेर सुदृढ बनाएर अघि बढने कुरामा हामी प्रतिबद्धतासमेत् जनाउँछौं । कसैको महासंघका सम्बन्धमा गुनासो, असन्तुष्टि छ भने त्यसलाई पनि समाधान गरेर, सम्बोधन गरेर र समेटेर हामी अघि बढछौं ।

अहिले देशको औधोगिक वातावरण कस्तो छ ? लगानीको अवस्था कस्तो छ ?

पछिल्लो समय स्थिर सरकार र सरकारले पनि आर्थिक विकासलाई बढी प्राथमिकतामा राखेका कारण पनि औधोगिक क्षेत्रमा उत्साह बढ्दै गएको छ । नयाँ–नयाँ उद्योगहरु स्थापना भएका छन् । कतिपय उद्योगहरुले उत्पादन क्षमता बढाइरहेका छन् ।

स्वदेशी–विदेशी लगानी बढिरहेको जस्तो लाग्छ । सरकारले औधोगिक वातावरण थप मजबुत बनाउन अझै केही कामहरु गर्नुपर्छ । हामीले पनि यो वातावरणलाई बलियो बनाउँदै लाने र लग्नुपर्छ । अहिले विद्युतको उपलब्धतासँगै उत्पादनको क्षेत्रमा केहि सुधारको संकेत देखा परेको छ ।

चुनौति पनि थपिदैं छन् मूलत हालैमा मात्र नेपाल विद्युत प्राधिकरणले विद्युत नियमन आयोग समक्ष औधोगिक क्षेत्रमा झण्डै २५ देखि ३० प्रतिशतसम्मको विद्युत महसुल वृद्धिको प्रस्ताव गरेको छ ।

यसले झण्डै १० देखि १५ प्रतिशत मूल्य वृद्धि हुन गई निर्यात घट्न जाने एवं्म व्यापार घाटा बढ्ने देखिन्छ । एकातिर हामी औद्योगिकरणको कुरा गरिरहेका छौं भने अर्कोतिर यस्तो कदमले मुलुकमा हाल सञ्चालित उद्योगहरू धराशायी भई बन्द हुने अवस्थामा पुग्नेछन् जसको कारण देशमा बेरोजगारी बढनेछ ।

एकातिर ने.वि.प्रा.ले विद्युत उत्पादनमा वृद्धि भएको र आगामी दिनमा बजार खोज्नुपर्ने भनिरहँदा अर्कोतर्फ सम्पूर्ण व्यवसायिक घरानालाई भार पर्ने गरी विद्युत महसुल वृद्धि गर्ने प्रस्ताव जानु आफैमा विरोधाभाषपुर्ण देखिन्छ । तसर्थ यसलाई हामी सबै मिलि सम्बोधन गर्नैपर्छ र यसमा मेरो अग्रसरता रहनेछ ।

औद्योगिक वातावरण थप राम्रो र अनुकल बनाउन सरकारले गर्नुपर्ने केही छ कि ?

अझैपनि कतिपय उद्योगहरुमा बिजुलीको समस्या छ । त्यसलाई हल गर्न सकेमात्र पनि थप उद्योग स्थापना र बिस्तार तथा उत्पादन वृद्धि हुनेछ । अर्कोतर्फ सरकारले अहिले आयात प्रतिस्थापन र निर्यात वृद्धि भनेको छ । यसलाई सफल पार्न निर्यात उद्योगहरुलाई थप सहुलियत, सहज नीति र सरकारी सहयोग चाहिन्छ ।

अर्कोतर्फ सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने, बैंक ब्याजदरमा सहुलियत, प्रशासनिक कामकारवाहीमा थप सरलता ल्याउनसके औधोगिक वातावरण अरु राम्रो र अनुकुल बन्नेछ ।

त्रिवेणी समूह अहिले कसरी अघि बढिरहेको छ ? भविष्यमा कसरी अघि बढने् योजनामा छ ?

त्रिवेणी समूह ८० वर्ष पुरानो व्यवसायिक घराना हो । एउटा इतिहास बोकेको हाम्रो समूहले अहिले सिमेन्ट उद्योग, धागो उद्योग लगायत विभिन्न उद्योग, जलविद्युत, बैंक, फाइनान्स, इन्सुरेन्सदेखि विभिन्न क्षेत्रमा लगानी गरिरहेका छौं ।

आज हामीसँग हजारौं कर्मचारी, एवंम श्रमिकहरुले काम गरिहनुभएको छ । देशको रोजगारी, राजश्व र उत्पादनमा हामीले महत्वपूर्ण योगदान दिइरहेका छौ । समयअनुसार हामी थप लगानी वृद्धि एवंम उत्पादन वृद्धिको योजना बनाएर अघि बढिरहेका पनि छौं ।

प्रतिक्रिया दिनुहोस्
MBL