Logo

पशुपंक्षी र मासुको आयात घट्यो, सवारीसाधन आयातमा २ अर्बको गिरावट

पशुपंक्षी र मासुको आयात घट्यो, सवारीसाधन आयातमा २ अर्बको गिरावट



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ३ महिनामा विभिन्न बस्तुहरुको आयात घटेसँगै पशुपंक्षी तथा तथा मासुको आयातमा गिरावट आएको छ । भन्सार विभागले प्रकाशित गरेको पहिलो ३ महिनाको तथ्याङ्क अनुसार पशुपंक्षी तथा मासुको आयातमा गिरावट आएको हो ।

गत आर्थिक बर्षको पहिलो ३ महिनामा विभिन्न देशहरुबाट १ अर्ब ६७ करोड ४३ लाख रुपैयाँ बराबरका पशुपंक्षी आयात भएकोमा चालु आवको सोही अवधिमा जम्मा ४६ करोड १४ लाख रुपैयाँ बराबरका पशुपंक्षी आयात भएका छन ।

यस्तै तथ्याङ्क अनुसार गत आर्थिक बर्ष उच्च रहेको मासुको आयातमा पनि चालु आवको ३ महिनामा केही कमी आएको छ । गत आवको ३ महिनामा ४ करोड ३५ लाख बराबरको मासु आयात भएकोमा चालु आवको ३ महिनामा भने २ करोड १२ लाख रुपैयाँ बराबरको आयात भएको हो ।

बर्षेनी आयातमा हुने वृद्धि र निर्यातमा कमिका कारण थिलथिलो भएको नेपाली अर्थतन्त्रमा केही सुधारको संकेत देखिएको छ । सकारात्मक सुधार सहित नेपालबाट बाहिर निर्यात हुने बस्तुमा पनि सोही अनुसारको सुधार आएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । विभागको तथ्याङ्क अनुसार आयातको धेरै प्रतिशत हिस्सा ओगट्ने सवारीसाधनमा पनि चालु आवको ३ महिनामा गिरावट आएको छ ।

गत आर्थिक बर्षको पहिलो ३ महिनामा २९ अर्ब ४८ करोड रुपैयाँ बराबरको सवारीसाधन आयात भएकोमा चालु आवको सोही अवधीमा उक्त आयात २ अर्ब रुपैयाँले ओरालो लागेको छ । चालु आवको ३ महिनामा २७ अर्ब ३४ करोड रुपैयाँ बराबरको सवारीसाधन आयात भएको छ ।

यस्तै केही बस्तुहरुको आयात घटेसँगै तरकारी, फलफुल, कफी, चिया लगायतका बस्तुहरुको आयातमा भने केही वृद्धि आएको छ । साथै नेपालमा चालु आवको पहिलो ३ महिनामा २७ अर्ब ८६ करोड रुपैयाँ बराबरको फलाम तथा स्टिल आयात भएको छ । जुन अघिल्लो बर्षको तुलनामा १३ अर्ब रुपैयाँले कम हो । गत आर्थिक बर्षको पहिलो ३ महिनामा विभिन्न देशबाट नेपालमा ४० अर्ब बढीको फलाम तथा स्टिल आयात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL