सरकार हाम्रो नाफाको ‘वर्किङ पार्टनर’ मात्र बन्ने कि समस्यामा सहयोग पनि गर्ने ? : सुमित अग्रवालको विचार

suumit_agrawal_marriot

पर्यटन मुख्य सिजनमै नेपालमा कोभिड १९ को असर देखा पर्यो । जुन समय होटल व्यवसायको अकुपेन्सी ८०/९० प्रतिशत हुनुपर्ने थियो, त्यहिं बेला शून्य अवस्थामा बस्नु परेको छ । मार्चसम्म होटलको बुकिङ राम्रो थियो तर कोरोना असरका कारण बुकिङ रद्द हुँदाहुँदै अहिले बन्द नै गर्नु परेको छ ।

कोरोना भाइरसको असर नेपालमा मात्र होइन विश्वव्यापी रुपमै छ । हवाई तथा स्थल यातायातका साथै विश्वभरको पर्यटन उद्योगमै यसको नराम्रो असर परेको छ । कोरोना सुरु भएदेखि नै सबैभन्दा पहिलो मार यसै क्षेत्रमा परेको छ ।

मानिसहरु एक देशबाट अर्को देशमा घुम्न जाने, विभिन्न देशको परम्परा संस्कृति हेर्न आउने तथा व्यावसायीक उद्देश्यले आउने ग्राहकले होटलमा बस्ने हुन् । अहिले होटलमा न आन्तरिक ग्राहक छन्, न त विदेशी नै । जति पनि ठूला होटल खुलेका छन् त्यसमा बैंकको ठूलो लगानी हुन्छ । यसमा ब्याजको मार त्यत्तिकै छ । जबसम्म सरकारले क्षेत्रगत रुपमै कोरोनाको असर र समस्या पहिचान गरेर होटल पर्यटन उद्योग उकास्न राहतका विशेष प्याकेज ल्याउँदैन, तबसम्म यस्ता व्यवसायहरु पुर्नजागृत हुने अवस्था देखिँदैन ।

होटल व्यवसायका समस्या

अहिले निजी क्षेत्रले सरकारले घोषणा गरेको पर्यटन बर्ष २०२० लाई लक्षित गरेर नयाँ होटलहरु सञ्चालनमा ल्याएका थिए । उदाहरणका लागि एमएस ग्रूपले नै ह्यातपछिको डिलक्स स्तरको पाँचतारे होटल मेरिओट सञ्चालनमा ल्याएका थियो । नयाँ होटलमा इक्विटी, सिस्टम व्यवस्थापनदेखि सञ्चालन सम्ममा ठूलो रकम खर्च हुन्छ । यसका अलावा कर्जाको किस्ता र ब्याज त छदैछ । होटल व्यवसाय एकदमै पारदर्शी व्यवसाय हो । यसको हरेक रिपोर्ट सरकार र सम्बन्धित बैंकलाई बुझाउँदै आएका हुन्छौं । यसमा कति ठूलो समस्या छ सबैले प्रस्ट देख्ने विषय हो । यसलाई कसरी बचाउने भन्ने विषय व्यवस्थापनका लागि सबैभन्दा ठूलो समस्या र चुनौती हो । उदारहणका लागि अन्य व्यवसायमा कच्चा पदार्थ वा तयारी मालसामान गोदाममा थन्किएर बसेको हुन्छ । निश्चित समयपछि बिक्री वितरण गर्न सकिन्छ ।

होटललाई ‘पेरिसेबल गुड्स’ भनिन्छ । किनकी ग्राहक नभएको अवस्थामा होटलका कोठाको भ्यालू रातको १२ बजेपछि शुन्य हुन्छ । कुनै न कुनै अवस्थामा फोहोर धुलो मैला प्रयोगमा आउन सक्छ । त्यसको मुल्य हुन्छ तर ग्राहक नभएपछि होटलका कोठाको कुनै भ्यालु हुँदैन शुन्य नै हुन्छ ।

सरकारको भुमिका

अहिले होटलमा श्रमिकको समस्या पनि उत्तिकै टड्कारो छ । होटलमा श्रमिक र व्यवस्थापन एउटै सिक्काका दुई पाटा हुन । अहिले कोरोनाको असर श्रमिकलाई मात्र परेको होइन व्यवस्थापन लगायत सबैलाई परेको छ । सबै लकडाउनमा बसेका छन् । यस्तो अवस्थामा श्रमिकलाई कसरी तलब ज्याला दिने ? उदाहरणका लागि होटल राम्रो चलेमा श्रमिकले पनि राम्रो तलब तथा सोही अनुरुप बोनस पनि पाउँछन् । संकट परेको अवस्थामा सबैले एकअर्काको पिडा बुझिदिनुपर्छ । अझै नयाँ होटल सञ्चालकहरुलाई त धेरै ठूलो समस्या देखा परेको छ । पर्यटन बर्ष लक्षित गरेर भर्खर सञ्चालनमा आएका कुनै पनि होटलहरु आफ्नो खर्च धान्न सक्ने अवस्थामा थिएनन् ।

अहिले राज्यले समस्या मात्र थुपार्ने काम गरेको छ तर निकास दिएको छैन । होटल व्यवसायले कमाउँदा राज्यले त्यसको २५ प्रतिशत हिस्सा लिएर जान्छ, कमाई भएन सरकारको खातामा पैसा गएन भने किन कमाई भएन भनेर सोध्न आउँछ तर समस्या परेको अवस्थामा कुनै सोधनी गर्दैन । सरकार हाम्रो कमाईको मात्र साझेदार त होइन नि । नाफाको हिस्सा साझेदारको हिसाबले हेर्दा सरकार पनि होटलको व्यवसायको वर्किङ पार्टनर नै हो । यस्ता उद्योग व्यवसाय घाटामा जाँदा वा समस्यामा जाँदा सरकारले हेर्न पर्छ कि पर्दैन ? अहिले सरकारले उल्टो समस्या थुपार्ने काम गरेको छ । कर्मचारी कटौती गरेर वा यस्तो अवस्थामा कम तलब दिएर खर्च घटाउँछुभन्दा रोक लगाईदिएको छ । अबका दिनमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले बाटो देखाईदिन पर्यो । सरकारको नीति ठिक होला तर समस्यामा परेको अवस्थामा समस्याको निचोड खोज्ने कि झन् व्यवसायीहरुलाई धराशायी बनाउने काम गर्ने ?

सरकारले सबै समस्या व्यवसायी माथि मात्र थुपार्ने गरेको छ । अहिले हामीजस्तै भारत, बंगलादेश लगायका देशले यस्तो अवस्थामा श्रमिक कर्मचारीलाई कसरी तलब खुवाउन सहयोग गर्दै आएको छ ,त्यस विषयमा पनि अध्ययन गर्नु जरुरी छ । अहिले कर्मचारीले आफ्नो तलब कट्टा गरेर होस वा उद्योगी व्यवसायीले आफ्नो तर्फबाट रकम जम्मा गर्दै आएका धेरै सरकारी कोष छन् । त्यस्ता कोषबाट सहयोग गर्नुपर्दथ्यो । श्रमिकको हितको लागि भनेर खडा गरिएको सामाजिक सुरक्षा कोषको के काम यदि यस्तै अवस्थामा श्रमिक हितमा खर्च नगर्ने हो भने । यसैगरी नागरिक लगानी कोष, कर्मचारी संचय कोष पनि छन् । त्यस्ता कोषहरुलाई उपयोगमा ल्याउनुपर्छ ।

‘उदाहरणका लागि एउटा नेपाल एयरलाईन्स सञ्चालन गर्न राज्यलाई कति कठिन भैरहेको छ । यसलाई बचाउन राज्यका हरेक तह र तप्का लागेका छन् सोही अनुरुप बचाउनका लागि सरकारले लगानी गर्दै आएको छ । त्यसैगरी निजी क्षेत्रलाई पनि होटल लगायतका पर्यटन उद्योग सञ्चालन गर्न कठिन भएको छ भनेर सरकारले बुझ्नु जरुरी छ । यो क्षेत्रलाई समस्यामा पार्ने होइन की समाधानको बाटो निकालेर निकास दिनुपर्छ ।’

नेपालको विदेशी मुद्राको स्रोत भनेको वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रेमिटान्स र अर्को पर्यटन उद्योग नै हो । भोलीका दिनमा रेमिटान्स आएन वा विदेशी पर्यटक आएनन् भने देशको अवस्था के हुन्छ । हाम्रो भुक्तान सन्तुलनको अवस्था के हुन्छ, यो सोच्नु जरुरी छ । अर्को तर्फ समस्याकै कारण ठुल्ठूला होटलहरु बैंकले लिलामी गर्ने वा भत्काउने काम गरे भने के हुन्छ ।

उदारहणका लागि होटल शेर्पा र उडल्याण्डलाई हेर्दा पनि हुन्छ । त्यस्तो प्राईम लोकेशनमा भएका ती होटलहरु किन बन्द हुन पुगे । हामीले जहिले पनि बाहिरबाट मुल्याङ्कन गरेर नाफा कमाइरहेको मात्र देख्छौ । हिजोका दिनमा होटलहरु किन बन्द भए आज फेरी किन आउँदैछन् । यस विषयमा सरकारले गम्भिरता पूर्वक सोच्नु जरुरी छ । सरकारले पर्यटन बर्ष घोषणा गरेसँगै देशमा आउने पर्यटकका लागि बस्न समस्या होला, भोलिका दिनमा यसको भविष्य राम्रो होला भनेर नै बैंकसँग कर्जा लिएर रातदिन नभनी समयमै सञ्चालनमा ल्याएका छौं । निजी क्षेत्रले सरकारलाई भोलिका दिन फल दिन बिऊ रोप्ने काम गरेका छन् । अब फल खानका लागि बिरुवा हुर्काउने काम सरकारको हो कि होइन । के यसबाट सरकार पन्छिन मिल्छ ?

होटल भनेको अर्थतन्त्रको ल्याण्डमार्क हो । उदाहरणका लागि मानिसहरु यस अघि नक्साल जाने भनेर आउथे । तर अहिले म्यारिओट जाने भनेर आउँछन् । यसमा मेरो वा तेरो भन्ने कुरै छैन यो त सरकारी गहना हो । यसले देशलाई नै चिनाउने काम गर्छ । यसको भविष्य सयौं बर्षसम्म रहन्छ र यसैबाट सरकार, लगानीकर्ता र श्रमिकले फल खाईरहन्छन् ।

श्रम समस्या

अहिले मानवताको नाताले श्रमिक कर्मचारीलाई खाईपाई आएको तलबको १२.५ प्रतिशत दिने भनेका छौं । तत्कालका लागि एउटा बाटो मात्र निकालेका हौं तर त्यो पनि कसरी दिने अर्को समस्या छ । भर्खर नयाँ खुलेका होटललाई त त्यो पनि धेरै ठूलो समस्या छ । सरकारले पुनर्कर्जाको कुरा गर्दै आएको छ । तर त्यो पनि ऋण नै हो । ऋणमाथि ऋण कति थप्ने त्यसको ब्याज कहाँबाट तिर्ने ? जबसम्म कोरोना नियन्त्रणका लागि भ्याक्सिन वा औषधि बन्दैन तबसम्म त होटल व्यवसाय चल्दैन । यो व्यवसाय चल्दा कसरी योगदान दिएको थियो र अहिले बन्द हुँदा कुन अवस्थामा पुगेको छ त्यसको अध्ययन गरेर पुनर्जागृत गर्न राहतका प्याकेज ल्याउनु जरुरी छ ।

उदाहरणका लागि एउटा नेपाल एयरलाईन्स सञ्चालन गर्न राज्यलाई कति कठिन भैरहेको छ । यसलाई बचाउन राज्यका हरेक तह र तप्का लागेका छन् सोही अनुरुप बचाउनका लागि सरकारले लगानी गर्दै आएको छ । त्यसैगरी निजी क्षेत्रलाई पनि होटल लगायतका पर्यटन उद्योग सञ्चालन गर्न कठिन भएको छ भनेर सरकारले बुझ्नु जरुरी छ । यो क्षेत्रलाई समस्यामा पार्ने होइन की समाधानको बाटो निकालेर निकास दिनुपर्छ । एउटा अविभावकले आफ्नो बच्चालाई जसरी डोर्याएर बोटो देखाउँछ त्यसरी नै सरकारले पनि यो संकटको अवस्थामा अघि बढ्ने बाटो देखाउनु जरुरी छ ।

मन्त्रीज्यूले २०२० मा २० लाख पर्यटन ल्याउने भनेर २०१८ मा घोषणा गरेका कारण हामीले त्यसैलाई लक्षित गरेर हतारहतारमा होटल संचालनमा ल्यायौं । एक हिसाबले यो निजी क्षेत्रले सरकारलाई गरेको सहयोग पनि हो । यदि निजी क्षेत्रले सहयोग नगरेको भए पर्यटक कहाँ राख्थे । तर दुर्भाग्य नै भनौ विश्वरभ नै कोरोरोना महामारी आयो । यस्तो अवस्थामा राज्यले संरक्षण गर्नुपर्छ ।

२०२० मा २० लाख पर्यटन ल्याउने भनेर २०१८ मा घोषणा गरेका कारण हामीले त्यसैलाई लक्षित गरेर हतारहतारमा होटल संचालनमा ल्यायौं । एक हिसाबले यो निजी क्षेत्रले सरकारलाई गरेको सहयोग पनि हो । यदि निजी क्षेत्रले सहयोग नगरेको भए पर्यटक कहाँ राख्थे । तर दुर्भाग्य नै भनौ विश्वरभ नै कोरोरोना महामारी आयो । यस्तो अवस्थामा राज्यले संरक्षण गर्नुपर्छ ।

कसरी रिकभरी

भ्याक्सिन पत्ता लगाएर कोरोनाको महामारी अन्त्य नभएसम्म होटल व्यवसाय सञ्चालनमा आउन सक्दैन । अझ विदेशी पर्यटक लक्षित ठूला तारे होटल त सञ्चालनमा आउने कुरै भएन । अहिले विश्व नै मन्दितर्फ धलेलिएको छ । विशेषगरी अहिले नगद प्रवाहको समस्या देखिएको छ । नेपाल आउने पर्यटकमा भारतीय, चिनियाँ र युरोपेली मुलुकका बढी छन् । त्यसमा पनि भारतीय बढी छन् । कोरोनाको कारण सबैको आम्दानीमा गिरावट आएको छ भने सोही अनुरुप क्रयशक्तिमा कमि आउनेछ । अबका दिनमा त्यस्ता पर्यटकले कम खर्चमा बढी सुविधा लिन चाहन्छन् । उनीहरुका लागि लक्षित गरेर प्याकेज बनाउनु पर्छ । तर त्यसका लागि पनि कोरोना त अन्त्य हुनै पर्यो ।

नेपालमा कोरोना संक्रमणको संख्या १ सयभन्दा तल हुँदा त्यसमा हामी खुशी थियौं । यो अवस्थमा कोरोनाको कम जोखिम रहेको भन्दै विदेशी पर्यटकलाई नेपालमा आकर्षित गर्न सक्न्थ्यिो । तर अब १ सयबाट उकालो लाग्दै २ सय भन्दा माथि पुग्यो त्यसले सबैलाई त्रसित बनाएको छ । जनसंख्याको आधारमा तुलना गर्ने हो भने हाम्रो संक्रमित संख्याको स्थिति राम्रो छैन । यसले गर्दा भोलिका दिनमा पर्यटक कसरी ल्याउने, कसरी व्यवसाय प्रवद्र्धन गर्ने भन्ने विषयमा सोच्न समेत सकिएको छैन । विश्वव्यापी रुपमा कोराना अत्य भएपछि मात्र होटल व्यवसाय कसरी संचालन गर्ने भन्ने विषयमा सोच्न सकिन्छ ।

(अग्रवाल एमएस ग्रूप तथा होटल मेरिओटका उपाध्यक्ष हुन्)


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status