Logo

सुनमा मूल्यवृद्धिको असर बजारमा, दैनिक व्यापार ३० किलोले खस्कियो

सुनमा मूल्यवृद्धिको असर बजारमा, दैनिक व्यापार ३० किलोले खस्कियो



काठमाडौं । नेपालमा सुनको मूल्य दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ । दिनहुँ मूल्य आकाशिदा बजारमा नयाँ किसिमका सुनका ग्राहक थपिएका छन । विश्व बजारमा सुनको मूल्यमा लगातार वृद्धि भईरहँदा नेपाली बजारमा पनि त्यसको असर परेको छ । तर सुनको मूल्य वृद्धि हुँदा लगन तथा विहेबारीका लागि सुन किन्नेहरुको संख्या घटेपनि लगानीका हिसावले सुन किन्ने ग्राहकको संख्या भने बढेको नेपाल सुनचाँदी व्यवसायी संघले जानकारी दिएको छ ।

संघका अनुसार पछिल्लो १ हप्तामा करिव ४ हजार रुपैयाँले सुनको मूल्य बढ्दा विहेबारी तथा अन्य कामका लागि सुन लिने ग्राहकले भने सुन घटाएर किन्ने गरेका छन । तर, नयाँ किसिमका ग्राहकहरु सुनको मूल्य अझै बढ्ने अनुमान गर्दै लगानीका लागि सुन किन्ने बढेका छन् ।

चीनको हुवेई प्रान्तको वुहान शहरबाट सुरु भएको कोरोना भाईरसको महामारीका कारण पछिल्लो समय विश्वबजारमा नै सुनको मूल्यमा ठूलो वृद्धि भएको छ । चीन हुँदै फ्रान्स, उत्तर कोरियालगायत विश्वभर नै फैलिदैं गएको कोरोनाको प्रकोपका कारण पछिल्लो १ महिनामा सुनको मूल्य विश्वबजारमा २० प्रतिशत बढीले वृद्धि भएको छ ।

नेपाली बजारमा सोमबार प्रतितोला ८० हजार ३ सय रुपैयाँमा खरिदविक्री भईरहेको सुनको मूल्य विश्वबजारमा सोमबार १ हजार ६ सय ८८ दशमलव ५६ डलर प्रति औंससम्म पुगेको छ । विश्वबजारमा फैलिएको कोरोना भाईरसको त्रासका कारण यसको आपुर्तिमा समस्या भएपछि सुनको मूल्य एकाएक बढिरहेको बीबीसीले उल्लेख गरेको छ ।

नेपाली बजारमा भने सुनमा लगानी गर्ने नयाँ ग्राहक थपिएपनि सुनको व्यापार घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । महासंघका अनुसार मूल्य बढ्नुभन्दा अगाडि प्रतिदिन ५० देखि ६० किलोसम्म विक्री हुने सुन हाल ३० देखि ३५ किलोमा सीमित भएको छ ।
मूल्य बढेकै कारण लगनका लागि सुन किन्नेहरुको संख्या भने घटेको महासंघका उपाध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए । उनका अनुसार बजारमा सुनमा लगानी गर्ने लगानीकर्ता भने हावी भएका छन । ‘यसअघि सुन बजारमा सुनमा लगानी गर्ने सोचका ग्राहक कमै हुन्थे,’ उनले भने, ‘तर पछिल्लो समय सुनको मूल्य प्रतिदिन औसतमा ६ देखि ७ सय रुपैयाँको हाराहारीमा वृद्धि भईरहँदा राम्रो लाभ पाईने आशमा सुनका लगानीकर्ता बढेका छन ।’

सुनका लगानीकर्ता बढेपनि यसको लाभ कस्तो रहने भन्ने विषय भने कोरोना भाईरसको प्रभावले निर्धारण गर्ने उनको भनाई छ । विश्वमा कोरोना भाईरसको त्रास नहट्दासम्म सुनको मूल्य बढेको बढ्यै हुने उनको अनुमान छ । तर, कोरोना भाईरसको त्रास नियन्त्रणमा आएपछि सुनको मूल्यपनि यथास्थितिमा आउने विज्ञहरुको बुझाई छ ।

कोरोना भाईरसको त्रास कम हुँदै जाँदा सुनको मूल्य घट्यो भने अहिले हौसिएर सुनमा लगानी गर्नेहरु घाटामा जाने अनुमान गरिएको छ । नेपाली बजारमा हाल सुन पर्याप्त मात्रामा छैन । बैंकले समेत सबै सुन व्यवसायीको जिम्मा लगाएपछि सुनको खरिदविक्री भएका कारण बजारमा सुनको केही मात्रामा अभाव रहेको सुनचाँदी व्यवसायीहरुको भनाई छ । व्यवसायीका अनुसार अहिले नेपाली बजारमा सुन पुग्दो मात्रामा छैन ।

सुनको मूल्यमा घटबढ हुनुका मुख्य कारणहरु

पछिल्लो समय विश्व बजारमा नै सुनको मूल्यमा उच्च उत्तारचढाव भइरहेको छ । जसको श्रेय कोरोना भाईरस र चीन र अमेरिकावीचको व्यापारयुद्धलाई लिने गरिएको छ । तर विश्वबजारमा सुनको मूल्य घटबढ हुनुमा मुख्य ५ कुरालाई मान्न सकिन्छ ।

सुनको मूल्यमा घटबढ गराउने पहिलो फ्याक्टर मुद्रास्फीति हो । विश्व बजारको मुद्रास्फीति बढ्दा सुनको मूल्य पनि सोही अनुसार बढ्छ र बजारमा सुनको मूल्यमा वृद्धि हुन्छ । यस्तै विश्वमा घटेका घटनाहरुले पनि यसको मूल्यमा ठूलो असर पार्छ । जस्तै अमेरिका र चीनको व्यापारयुद्धले सुनको मूल्यमा असर पारको थियो ।

यसको असर नेपाली सुन बजारमा पर्दा केही महिनाअघि सुनको मूल्य ७० हजार रुपैयाँ प्रतितोलाबाट बढेर ७५ हजार रुपैयाँ प्रतितोलासम्म पुगेको थियो । यस्तै हाल कोरोना भाईरसले पनि विश्वबजारमा त्रास फैलाएका कारण सुनको मूल्य विश्वबजारमा नै बढेको छ । जसको असर नेपाली बजारमा पर्दा ७५ हजार रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य हाल प्रतितोला ८० हजार ३ सय रुपैयाँमा पुगेको हो ।

यस्तै सुनको मूल्यमा उत्तारचढाव गराउने अर्काे फ्याक्टर भनेको सरकारले सुन थन्क्याउनु पनि हो । धेरै ठूला र विकसित देशका केन्द्रीय बैंकहरुले सुन होल्ड गरेर बसिदिँदा पनि सुनको मूल्य आकाशिने गरेको छ । यस्तै बजारमा सुनका गरगहनाको माग बढ्दा पनि सुनको मूल्य वृद्धि हुने गरेको छ । विश्वकै धेरै सुन आयातकर्ता भारत हो ।

भारतमा विभिन्न लगन, चाडपर्वलगायतका उत्सवहरुमा सुनको अत्याधिक माग हुन्छ । सोही मागअनुसार विश्वबजारमा सुनको मूल्य बढ्ने गरेको छ । जसको असर नेपाली बजारमा समेत पर्नेगरेको छ । यस्तै सुनको मूल्यमा घटबढ गराउने अर्काे तत्व विश्वबजारको ब्याजदर हो । विश्वका धेरै ठुला बैंकरुले दिने व्याजदर बढेपछि सुनको मूल्य आफै वृद्धि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL