महासंघमा गुट छैन, मन मिल्ने एक ठाउँमा भएका मात्र हौं

umesh lal shrestha

उमेशलाल श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगत तर्फबाट कार्यसमिति उपाध्यक्ष हुन् । नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ कार्यसमितिको निर्वाचन नजिकिदै गएको छ । सरकारपछि सबैभन्दा बलियो र बृहद नेटवर्क रहेको भनिएको महासंघमा हरेकपटक नेतृत्वका लागि निकै रस्साकस्सी हुने गर्छ । अहिले विधानतः वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्थासँगै महासंघमा वरिष्ठ उपाध्यक्ष पदका लागि मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

देशकै ठूलो व्यवसायिक संस्थाको नेतृत्व गर्ने चाहनाकै कारण महासंघमा पछिल्लो समय गुटगत राजनीति मौलाएको आरोप पनि लाग्दै आएको छ । महासंघकै सदस्यहरु अहिले महासंघ व्यवसायिक मुद्दामा कमजोर बन्दै गएको र संस्थामा विभिन्न चलखेलले प्रश्रय पाउँदै गएको बताउँछन् । महासंघका बस्तुगततर्फका वर्तमान उपाध्यक्ष श्रेष्ठ भने आगामी कार्यकालका लागि पुनः अहिलेकै पद दोहोर्याउने कसरतमा छन् ।

अनौपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका श्रेष्ठ महासंघमा ‘स्टेट फरवार्ड’ उद्योगीका रुपमा चिनिन्छन । मिलनसार र सदस्यहरुबीच निकै घुलमिल हुने स्वभावका श्रेष्ठ आफ्नो अनुभव र साथीहरुको अनुरोधका कारण पुनः उपाध्यक्ष पदमै रहेर काम गर्न राजी भएको बताउँछन् । महासंघको चुनावी माहौल शुरु भएको सन्दर्भमा श्रेष्ठसँग महासंघको भावी नेतृत्व र उनको योजनाबारे बिजखबर डटकमका लागि सन्तोष पोख्रेल र रामराजा श्रेष्ठले गरेको कुराकानीको सारसंक्षेप :

तपाईँ फेरी बस्तुगत तर्फकै उपाध्यक्षमा उठ्न लाग्नुभएको छ, किन दोहोर्याएर यही पदका लागि चुनावी मैदानमा आउँदै हुनुहुन्छ ?

जतिजति माथि गयो त्यति त्यति ठाउँ सानो हुँदै जान्छ । वरिष्ठको एउटैमात्रै ठाउँ छ । हामीले यसपालीलाई चन्द्र ढकालजीलाई नै बरिष्ठ उपाध्यक्ष बनाउने सल्लाह गर्यौ । ठाउँ त अरु पनि छन् । तर मेरो सहजता र अनुभव तथा साथीहरुको सुझावको आधारमा म पुनः बस्तुगत उपाध्यक्षमै उठ्न लागेको हुँ । उठ्न त बरिष्ठमै उठ्ने चाहाना थियो तर साथीहरुको जोड, महासंघ भित्रको एकता र मेरो सहजताका लागि पनि राम्रो भन्दै सोही पदमा दोहोर्याउन लागेको हो । मैले त एकचोटी यसपटक साथीहरुलाई नै छोड्छु भनेर पनि योजना बनाएको थिए । तर साथीहरुले तपाईँजस्तो सकारात्मक भविष्य लिएर हिँडेको मान्छेले महासंघका लागि योगदान दिनुपर्छ, छोड्नु ठिक हुँदैन भनेपछि अघि बढेको हुँ ।

हरेक चुनावमा यहाँहरुको गुट परिवर्तन भईरहेको हुन्छ । तपाई अर्कोपटक बरिष्ठ उपाध्यक्षमा उठ्नका लागि पहिलेकै गुटलाई छाडेर नयाँ गुट बनाउनु भयो भन्ने आरोप छ नि ?

पहिले म र चन्द्रजी एउटै टिमबाट चुनाव उठेका हौं । पछि किसोर प्रधानजीलाई पनि समेटेर हाम्रै टिमबाट उपाध्यक्ष बनाईएको हो । साथीहरुको जहाँजहाँ मन मिल्छ त्यतैबाट चुनाव उठ्न पाउनुहुन्छ । मन नमिल्दैमा कसैसँग दुश्मनी हुन्छ भन्ने छैन । कहिलेकाहीँ विभिन्न विषयमा मत नमिल्ने कारणहरु भएपनि कोही कसैसँग गएर टिम बनाएर चुनाव उठ्दैमा त्यहाँ प्रश्नवाचक चिन्ह राखिनुहुन्न भन्ने हाम्रो मान्यता हो ।

भनेपछि अर्काेचोटी स्वतः बरिष्ठ उपाध्यक्षमा उठ्नका लागि पहिलेकै क्याम्पलाई निरन्तरता दिँदै हुनुहुन्छ ?

भविष्यवाणी गर्न म अलि रुचाउँदिन । म यो पदमा उठ्छु या यो बन्छु भनेर म अहिल्यै भन्दिन । कुनै मान्छेले कुनैपनि क्षेत्रमा काम गर्दा त्यो क्षेत्रमा अव्वल हुन खोज्नुपर्छ । म आजको दिनमा राजनीतिमा लागेको भए कि प्रधानमन्त्री कि ठूलै नेता हुने लक्ष्य लिनुपर्दथ्यो । तर म राजनीतिमा लागिन यो कुरा बुझिदिनुपर्याे । होईन म कार्यकर्ता मात्रै भएर बस्छु, सदस्य मात्रै भएर बस्छु भन्ने मानसिकता मेरो छैन । त्यसैले जुन क्षेत्रमा लाग्यो त्यो क्षेत्रमा अव्वल बन्ने मेरो उद्देश्य हो ।

तपाई बस्तुगत उपाध्यक्षतर्फको ३ बर्षे कार्यकाल विताउँदै हुनुहुन्छ । आफ्नो कार्यकालमा चुनावका बेला उठाएका के–के एजेण्डाहरु पूरा गर्नुभयो ?

हाम्रा संस्थाहरुमा धेरै ठूला एजेन्डाहरु हुँदैनन । नेताले चुनाव उठ्दा पुल, बाटोलगायतका विकासका कामहरु गर्ने एजेन्डा राखेका हुन्छन । तर, हाम्रा आर्थिक क्षेत्रमा महासंघको शाख बढाउने र नेपालमा उद्योगधन्दालाई कसरी अगाडि बढाउने भन्ने खालका एजेन्डा हुन्छन । हाम्रा मुख्य एजेन्डा भनेका यिनै हुन् । यस्तै हामी साथीहरुको सम्पर्कमा रहेर बेलामौकामा साथीहरुका समस्याहरुलाई कसरी समाधान गर्न सक्छौ भन्ने कुरा पनि मुख्य विषय हो । हामीले नियमन गर्ने त होईन । तसर्थ हामीले नेताहरुका जस्ता एजेन्डाहरु राख्दैनौ । हाम्रो मूख्य काम नै उद्योगी व्यवसायीहरुलाई उद्योगधन्दा चलाउन सहजीकरणको वातावरण निर्माण गरिदिने मात्रै हो । म मेरो पदको कारणले सकेसम्म विभिन्न क्षेत्रमा हामीले सहजीकरण गर्न प्रेरित हुन्छौं । व्यवसायी औद्योगिक ऐेनमा पनि हामीहरुकै लविङका कारण समयसापेक्ष बनाउन सफल भयौं । । हामी बाहिर देखिदैनौ तर पृष्ठभूमिमा बसेर काम गरिरहेका हुन्छौं ।

अब आउने निर्वाचनका लागि केही एजेन्डा बनाउनुभएको छ ?

हामीले यो चुनावका लागि पनि त्यति ठूलो एजेन्डा बनाएका छैनौं । म सधैं साथीहरुका लागि २४सैं घण्टा खट्न तयार छु । महासंघमा अहिलेको सबैभन्दा ठुलो समस्या भनेकै फोन नउठ्ने, साथीहरुलाई समस्या पर्दा सम्पर्कमा नरहने हो । त्यसैले मैले हाम्रा साथीहरुलाई म २४ घण्टा, सातै दिन तपाईँको समस्या समाधान गर्न तयार छु भनेको छु । मेरो अलिकती उमेर ढल्केकाले अहिले बिहान ९ देखि राति ९ बजेसम्म तयार छु भनेको छु । विहान ९ बजेदेखि राति ९ बजेसम्म मैले महासंघका लागि समद दिन म तयार छु भनेको म चौबीसै घण्टा काम गर्न तयार छु भन्ने हो । साथीहरुको समस्या सुनिदिने मान्छेसमेत हुँदैनन । त्यसैले मैले साथीहरुका समस्याहरु राम्रोसँग सुनिदिने योजना बनाएको छु जसका कारण साथीहरुका समस्या समाधान पनि सहज हुनेछ ।

यस्तै एजेन्डाकै कुरा गर्ने हो भने हामीले नेपालको संघीय ईतिहासमै पहिलोपल्ट केही दिन अघि मात्रै विर्तामोड नगरपालिकासँग कृषि उत्पादन बढाउन सम्झौता गरेका छौं । अलैंचि, सुपारी, अम्लिसो, माछालगायत उत्पादन गरेर निर्यात गर्ने उद्योगहलाई विभिन्न प्रशिक्षण दिने र सहजीकरण गर्ने गरी उक्त सम्झौता गरेका हौं । त्यहाँ कुनैपनि निकायले प्रशिक्षणलगायत सहजीकरणका कामहरु गरेका थिएनन् । त्यो सम्झौता गरिसकेपछि हामीले त्यहाँ ७ बिघा जमिन पाएका छौं । जसमा अलैंचीलाई डेढ बिघा दिने निर्णय गरिसकेका छौं र अन्यलाई पनि दिने कुरा भईरहेको छ । त्यहाँको नगरपालिका र प्रदेशमा पनि हामीले सहजीकरणका लागि माग गरेका छौं । त्यसैगरी हामीले सातै प्रदेशमा यस्ता उद्योगहरु संचालनका लागि पहल गरिरहेका छौं । यसका लागि हामीले १ नम्बर प्रदेशबाट थालनी गरेका छौं ।

तपाई प्रत्यक्ष भोटिङ प्रणालीबाट अध्यक्ष चुनिनुपर्छ वरिष्ठलाई स्वतः अध्यक्ष बनाउने व्यवस्था हटाउनपर्छ भनेर लाग्नुभएको थियो । फेरी एकाएक युटर्न भएर पहिलेकै प्रणालीमा चुनाव हुँदै गर्दा यहाँको समर्थन कसरी भयो ?

करिव ४ बर्ष अगाडि यो परिवर्तन भएको हो । त्यो बेला हामीले गल्ती गरेका हौं । तर, हाम्रा धेरै साथीहरुले वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्षमा जानेमा साथ दिए । अहिले पनि त्यस्तै हो । फ्लोरबाटै उठेको प्रश्न हो यो । यसपाली विधान संशोधन समितिमा पनि थुप्रै छलफलहरु भए । हामीहरुको बीचमा पनि धेरै मन्थन गर्याैं । विधान संशोधनमा ३५ ओटा बुँदाहरु छन । हामीले यहि एउटा बुँदामा मात्र अड्केर बस्ने कुरा भएन । अध्यक्षको विषयलाई भने हामीले गम्भीर रुपमा हेर्नुपर्ने भएकाले यसका लागि थप विचार गर्ने योजना भयो । मैले जहिलेपनि अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुनुपर्छ भनेको थिए । तर त्यो भएन र परिवर्तन भयो । म प्रत्यक्षबाटै चुुनिुपर्छ भन्नेमा अहिले पनि विश्वस्त छु । तर, हामीले वरिष्ठ उपाध्यक्षबट स्वतः अध्यक्ष बन्ने व्यवस्था बनाएपछि यसलाई हेर्नु त पर्यो भन्नेमा म पनि समर्थनमा आएको हुँ । साथीहरुले पनि यसमा विवाद गर्दा महासंघकै साखमासमस्या आउने बताएपछि ३५ बुँदामध्ये एक वुँदालाई थाती राख्ने निर्णय भयो । विधानमै पनि विशेषगरी केही नमिल्ने कुराहरु छन । २ ओटा जिल्ला उपाध्यक्ष, बस्तुगततर्फको मतभार बढाउने, प्रदेशका कुरालगायतका थुप्रै कुराहरु हेर्नुपर्ने छ ।

बस्तुगतको मतभार २० र एशोसिएटको ३० छ । यसलाई परिवर्तन गर्ने कुरा थियो, यो विषयमा के भईरहेको छ ?

एसोशियटतर्फ ३० मतभार रहेको सबैभन्दा कनिष्ठ उपाध्यक्ष हो । बस्तुगत उपाध्यक्ष भने २ नम्बरको उपाध्यक्ष हो । १ नम्बरमा जिल्ला, २ नम्बर बस्तुगत र ३ नम्बरमा एसोशिएट हो । त्यहाँनेर सिस्टम त केही न केही गडबडी छ भन्ने त देखियो नि भोट अनुसार । त्यहाँनेर केही न केही गल्ती छ । यसलाई सच्याउने कुरा भईरहेको छ । प्रदेशमा भने जिल्लाबाहेक अरु कोही पनि अध्यक्ष हुन नपाउने भनेर लेखिएको रहेछ । कहाँबाट गल्ती भयो थाहा छैन । प्रदेश अध्यक्षको मापदण्डमा पनि हामीले अलिकति परिवर्तन गर्नुपर्ने देखिरहेका छौं । यसले हामीलाई प्रदेशमा काम गर्न अप्ठ्यारो भईरहेको छ । यीनै कुराहरुलाई लिएर पुनः छलफल राखेका छौं ।

महासंघभित्र आन्तरिक राजनीतिक हुँदा यसको साख खस्किँदै गयो भन्ने एक खालको बुझाई छ नि ? यसको वास्तविकता के हो ?

धेरैले महासंघ दरिलो भएन भन्छन । म भने यसमा कमै मात्र विश्वास गर्छु । पहिला अर्थात १५ बर्षअघि हाम्रो प्रतिस्पर्धी कोही थिएन । एक्लो रेस दौडिँदा जहिलै पहिलो भईन्थ्यो । तर अब त्यो अवस्था रहेन । हाम्रा प्रतिस्पर्धी थपिएका छन । जसका कारण हाम्रा कुराहरु पनि धेरै फैलिन थाले । तर व्यवसायका आधारमा हामीसँग अहिले १ सय १२ जिल्ला नगर छन । ५० ओटा आवेदन लाईन लागेर बसिराखेका छन । मापदण्ड नपुगेका कारणले दिन सकिरहेका छैनौं । हामी त गाउँपालिकालाई पनि दिने योजनामा छौं । कुन जिल्ला र नगरमा महासंघ पुगेको छैन ? सोही संख्यामा बस्तुगत सदस्य छन् भने १२ ओटा सदस्य लिनका लागि पाईपलाईनमा छन् । यसैगरी एसोशिएटमा केही दिन अघिसम्म ७ सय ५३ सदस्य नविकरण भैकेका छन । यत्रो ठूला संस्था र यति धेरै जुझारु मान्छेहरु भएको संस्था हो । महासंघको सम्पत्ति मात्रै हेर्ने हो भनेपनि अर्र्वाैं रुपैयाँको छ । उद्योग वाणिज्य महासंघमा धनी जिल्लाहरु छन । कस्ता–कस्ता भवन बनिरहेका छन् । हामीले यत्रो सम्पत्ति, पहलकदमीका काममा र साथीहरुलाई सहजीकरणमा खर्च गर्छौं । हामीले कृषि क्षेत्रमा पनि त्यस्तै रुपमा पैसा खर्च गरेका छौं । एक जिल्ला एक उत्पादन र एक गाउँ एक उत्पादन पनि हामीले ल्याएका हौैं । यसले गर्दा हामी पहिले शतप्रतिशत थियौं अझैपनि ८०–८५ प्रतिशत छौं । को अगाडि र को पछाडि भन्ने व्यक्तिगत टकराव मात्रै होला ।

महासंघमा बैठकमा आन्तरिक कुराहरु बाहिर आउने र बैठक नै छोडेर भाग्ने जस्ता समस्या आउन थाले । यो कस्तो खालको टकराव हो ?

कुनैपनि संस्थाभित्र बसेर गलत काम गरेपछि राजीनामा बुझाउनुपर्छ । हामीहरु सबै संघसंस्थामा छौं । तपाईको घरमा केही समस्या पर्याे भने चौबाटोमा बसेर कराउनुको फाईदा छैन । घरभित्रको समस्या घरमै सल्टाउनुपर्छ । संस्थाभित्र सबैजना एकै ठाउँमा बसेर काम गर्दा केही न केही समस्या त हुन्छन् नै । तर, त्यसको समाधान पनि हुन्छ नि । यस्ता कुराहरुलाई मनमुटाव नै भयो भनेर लिन मिल्दैन । मतभेद त भइरहन्छ नि मनभेद र मनमुटाव चाहि हुनुभएन । यस्तै बैठकबाट उठेर हिँड्ने अधिकार सबैलाई हुन्छ । जोसँग कुरा सुन्ने शक्ति हुँदैन, बैठक छोडेर जान सकियो । यदि कुरा गर्दागर्दै तर्कहरु सकिए भने बाहिर हुनु स्वभाविकै हो । कसैले बैठक छोडेर गए भन्ने विषय ठुलो होईन, बैठक छोडेर हिँड्ने मान्छे कस्तो हो बुझ्नुपर्छ । यस्तो कुरामा राम्रो मान्छे हो भने सरी भन्छ, माफी माग्छ । सोचै नकारात्मक भए झगडा गर्छ, मुख छाड्छ हिँड्छ । त्यस्ता मान्छेले परिस्थितिको सामना गर्न नसकेको हो भन्नुपर्ला ।

महासंघ सरकारपछिको सबैभन्दा बढी नेटवर्क भएको संस्था हो, यसको चुनाव आईरहँदा धेरै कुराहरुको प्रभाव देखिन्छ । चुनावमा निश्पक्षताको प्रश्न कत्तिको जायज छ ?

महासंघको केन्द्रिय चुनाव निश्पक्ष हुन्छ । यसमा राजनीतिक हस्तक्षेप हुँदैन । हामी राजनीतिक पार्टीमा जादैनौंं भन्नु हामीले झुट बोलेको जस्तो हुन्छ । हामी राजनीति पनि गर्छौं तर, केन्द्रिय चुनावमा भने राजनीतिले कुनै असर पारेको हुँदैन ।

चुनावका लागि तपाईँले बस्तुगततर्फ भोट माग्न थालिसक्नुभएको छ । अनौपचारिक घोषणा गरिसक्नुभएको छ । यसमा तपाईँहरुको टिम कसरी बनाउँदै हुनुहुन्छ ?

बस्तुगतमा टिम बनाउँदा ५ ओटा क्षेत्रलाई सम्बोधन गर्ने गरेका छौं । उत्पादनशिल उद्योग, कृषि, निर्यात, सेवा र विज्ञलगायतका क्षेत्रहरुलाई सम्बोधन गर्ने प्रयास गरेका छौं । हामी ६०÷४० को अनुपातमा काम गर्छाैं । ४० प्रतिशत नयाँ साथीहरु र ६० प्रतिशत पुराना साथीहरुलाई पालो दिन्छौं । तर, कतिपय पुरानै साथीहरु पनि हट्नुहुन्छ । दुख लाग्छ पुराना साथीहरुको नाम काटिदा । आकांक्षीहरु त थुप्रै हुनुहुन्छ । मलाई नै २३–२४ जना साथीहरुले भनिसक्नुभएको छ सदस्य पदका लागि । हाम्रो लागि सबैभन्दा ठुलो चुनौती र समस्या नै यही हो । त्यस्ता केही ठाउँ नपाउने साथीहरुलाई भने पछि समितिहरुमा एडजस्ट गरेर मिलाउँछौं । समितिमा लागेपछि उहाँहरुले महासंघ बुझ्नुहुन्छ र अर्काेचोटीलाई तयार हुनुहुन्छ । यसपाली केही साथीहरुलाई त्यही आश्वासनका साथ समितिमा राखिसकिएको छ ।

प्रसंग बदलौं, यहाँहरुले बैंकले दिन व्याजदर घटाउनुपर्ने माग राख्दै आउनुभएको छ । व्याजदर एकदमै बढी भएकै हो त ?

खुला अर्थतन्त्रमा नियन्त्रणमुखी कुरा हामीले गर्न हुँदैंन । बैंकहरुले पनि उहाँहरुलाई सरकारले धेरै सुविधा दिएको छ भन्ने बुझ्नुपर्छ । वहाँहरुको उद्देष्य पनि देशको औद्योगिक विकासमै हो जस्तो लाग्छ । बैंकले व्यापार, व्यवसायमा धेरै फाईदा देखेका छन् । कृषि अनुदानमा कर्जा प्रदान गनर्नेलगायतका कामहरु बैंकहरुले गर्नुहुँदैन । र अदृष्य तरिकाले सेवाशुल्कहरु लिनुहुँदैन । बैंकहरुलाई एकै किसिमको कानुन किन लागु हुँदैन ? एक बैंकले १० ओटा कागजमा हस्ताक्षर गर्न लगायो भने अर्काे बैंकले १५ ओटा कागजमा हस्ताक्षर गर्न लगाउँछ । हामी निजी कम्पनी हौं र हाम्रो दायित्व सिमित हुन्छ । मैले कुनैपनि कम्पनीमा लगानी गर्छु भने भने मेरो दायित्व त्यति मात्रै हो । तर मैले बैंकमा हस्ताक्षर गर्दा घरबार सबैको लागि हस्ताक्षर गर्नुपर्छ । यस्ता किसिमका खराव प्रथाहरुलाई उन्मुलन गर्नुपर्दछ । बैंकले कमायो भनेर भन्न खोजेको होईन । तर, बैंकहरुले सरकारले दिएको सुविधाको नाजायज फाईदा लिईरहेका छन् । उनीहरुले कर्जाको व्याजदर बढी लिने र निक्षेपकर्तालाई ७ प्रतिशत दिनुपर्छ भन्ने कुरा म कुतर्क ठान्छु । त्यसैले सकेसम्म पैसा बैंकमा राख्नुभन्दा उद्योगमा लगानी गर्दा या अन्य क्षेत्रमा लगानी गर्दा सरकारलाई र संस्थागत रुपमा पनि फाईदा हुन्छ । बैंक बढी व्याजमा निक्षेप राख्नु भनेको मान्छेलाई अल्छी बनाउने प्रवृत्ति हो । बैंकले मानिसहरुलाई डिपोजिट गर्न लगाउनु नै ठिक होईन जस्तो मलाई लाग्छ । बैंकहरुले व्याजबाट बाँच्न सिकाउनु हुँदैन ।

सरकारले उद्योगधन्दालाई प्रोत्साहन गर्नेगरी विभिन्न सहुलियतपुर्ण कर्जाहरु ल्याएको छ । तर, यसलाई सही तरिकाले वितरण गरिनुपर्छ भनेर तपाईँहरुको लविङ देखिदैन नि ?

हामीले लविङ त प्रशस्तै गरेका छौं । तर, बैंकले नै नदिएपछि के गर्नु ? बैंकहरु धेरै नाफा उन्मुख हुनुहुँदैन । नाफा कमाईराखेका छन नकमाउ भनेको होईन । बैंकहरुले कमाउनुका साथसाथै देशमा औद्योगिक वातावरण निर्माणमा सहयोग गर्ने उद्देष्य राख्नुपर्छ, त्यो कुरा बैंकहरुले बुझ्दैनन । सिईओहरुले सबै बैंकहरु संचालन गरिरहेका छन । यसमा राष्ट्र बैंक पनि सम्मिलित छ । यस्ता कुराहरुमा त राष्ट्र बैंकले नियमन गर्नुपर्याे नि ।

तीन तहको करका कारण उद्योगी व्यवसायी मर्कामा परे भन्ने छ नि ?

सरकारले गृहकार्य पूरा नगरिकन विभिन्न समस्या लाद्नु नहुने हो । विभिन्न तहमा के–के उठाउने र नउठाउने भनेर तोकिएको छ । तर केही गाउँपालिका र नगरपालिकाहरुले मोनोपोली तरिकाले कर उठाउँदा हामीलाई समस्या भएको हो । त्यसको सहजीकरणका लागि कुरा गरिरहेका छौं । हामीले विभिन्न स्थानमा गुनासो पनि गरिरहेका छौं । करकै कारण विभिन्न बस्तुहरुको मूल्यसमेत बढेको छ । यसको असर सर्वसाधारणलाई परिरहेको छ ।


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status