Logo

पर्यटक खर्चको वास्तविकता खोज्न अब बिमानस्थलमै ‘प्रि-टेष्ट’, बोर्ड र राष्ट्र बैंकले आईतबारदेखि काम थाल्दै

पर्यटक खर्चको वास्तविकता खोज्न अब बिमानस्थलमै ‘प्रि-टेष्ट’, बोर्ड र राष्ट्र बैंकले आईतबारदेखि काम थाल्दै



काठमाडौं । पछिल्लो समय नेपालमा पर्यटकले गर्ने खर्च र पर्यटकको बसाईँको दरमा उल्लेख्य कमी आएको अवस्था छ । विभिन्न निकायको तथ्यांक र विभिन्न आधारहरुमा रहेर यस्तो तथ्यांक प्रकाशित हुँदै आएको छ ।

जसलाई कतिपयले अवास्तविक र आधारहिन तथ्यांकको रुपमासमेत ब्याख्या गर्ने गरेका छन् । अब भने यस्तो समस्या हटने भएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल राष्ट्र बैंकले मिलेर नेपालमा पर्यटकले गर्ने खर्च र आम्दानीबारे संयुक्तरुपमा अध्ययन गर्ने भएका छन् ।

बोर्ड र राष्ट्र बैंकको संयुक्त टोलीले यसका लागि फिल्डमासमेत काम गर्नेछ । यसका लागि पहिलो चरणमा बिदेशी पर्यटक नेपाल भित्रिने मुख्य बिन्दुको रुपमा रहेको त्रिभुवन अन्तरर्राष्ट्रिय बिमानस्थलबाट काम शुरु गर्ने तयारी थालिएको छ ।

पर्यटन बोर्डका सूचना अधिकारी मणिराज लामिछानेका अनुसार यस्तो अध्ययनको पहिलो चरणमा नेपाल भ्रमण गरि फर्किन लागेका पर्यटकहरुको बिमानस्थलमा प्राथमिक अध्ययन अर्थात ‘प्रि–टेष्ट’ गरिनेछ । ‘अध्ययन टोलीले बिमानस्थलमा पर्यटकको प्रि–टेष्ट गर्ने छ ।

नेपाल आएर फर्किने पर्यटकहरुसँग गरिने यस्तो अध्ययनले पर्यटनका विविधि विषयमा वास्तविक तथ्याङ्क प्राप्त गर्न सहयोग पुग्नेछ’, लामिछानेले बिजखबरसँगको कुराकानीमा बताए । उनका अनुसार राष्ट्र बैंकका २ जना र बोर्डका ३ जना सदस्यले नेपालबाट फर्कने विदेशी पर्यटकहरुको प्रि–टेष्टको लागि काम गर्नेछन् । उक्त प्रि–टेष्टमा विदेशी पर्यटक नेपाल भित्रिएदेखि फर्कनेसम्मका गतिविधि समेटिनेछन ।

लामिछानेका अनुसार हाल पर्यटकले ४४ डलर मात्रै खर्च गरेको तथ्याङ्क भए पनि उक्त तथ्याङ्क अपुरो रहेको धेरैको गुनासो छ । यस्तै गुनासाहरु सम्बोधन गर्न पूर्वतयारीका लागि हाल १ सय जना पर्यटकलाई उक्त प्रि–टेष्टमा समेटिनेछन । बैंक र बोर्डले उक्त प्रि–टेष्ट यही आईतबारदेखि सुरु गर्ने तयारी भइरहेको छ ।

नेपालबाट फर्कने पर्यटकलाई विमान चढ्नु अघि बोर्ड र बैंकका कर्मचारीहरुले बिभिन्न प्रश्नहरु गर्नेछन । जसमा उनीहरु कुन देशबाट नेपाल आएका हुन, कुन उमेर समुह, नेपालमा रहँदा कुन–कुन ठाउँमा घुमेका थिए, समूहमा आएका हुन् या ब्यक्तिगत, घुम्नकै लागि हो या कुनै कार्यक्रमको लागि आएका हुन, नेपालमा बस्दा के कति खर्च भए होटल-अन्य किनमेललगायतका प्रश्न रहने छन ।

उक्त प्रि–टेष्टले बिदेशी पर्यटकले नेपालमा रहँदा के कति खर्च गरे वा कुनकुन स्थानमा घुम्न गएको भनेर सहि तथ्याङ्क आउने बोर्डको विश्वास रहेको छ । साथै उनीहरु नेपाल आउँदा कुन जहाजमार्फत आएको देखि उनीहरु नेपाल आउनु अघि कुनै कम्पनीमार्फत आएको हो सोको समेत तथ्याङ्क आउने लामिछानेले बताए ।

‘अहिले नेपालमा विदेशीले गर्ने खर्च ४४ डलर मात्रै नभएर त्यो भन्दा बढी छ, तर ति सबै राष्ट्र बैंकको तथ्याङ्कमा आउँदैनन’ उनले भने, विदेशीले नेपाल आउँदा बिभिन्न कम्पनीलाई प्याकेजमार्फत रकम बुझाएका हुन्छन त्यो रकम राष्ट्र बैंकको तथ्याङ्कमा आउँदैन ।’

अधिकांश विदेशी एजेन्टमार्फत आए पनि ती सबै रकम राष्ट्र बैंकको तथ्याङ्कमा नआउने तथा अन्य कारणले समेत सही तथ्यांक नआइरहेको सन्दर्भमा स्वयं विदेशीहरुलाई नै बिभिन्न प्रश्न गरि तथ्याङ्क निकाल्ने तयारी गरेको लामिछानेले जानकारी दिए ।

‘एक जना विदेशीले नेपाल घुम्नको लागि २५ सय डलर तिरेका हुन्छन् । तर, व्यवसायीले ५ सय डलर देखाएर अन्य रकम भने नदेखाउने गरेको अवस्था पनि छ’ बोर्डका एक उच्च अधिकारीले बताए । कतिपय व्यवसायीले पर्यटक प्याकेजको वास्तविक मूल्य भन्दा निकै कम मात्र करयोग्य रकममा देखाउने र बाँकी रकम नदेखाउने प्रवृत्ति पर्यटन क्षेत्रमा बढ्दै गएको छ । यसका कारण पनि पर्यटन क्षेत्रको वास्तविक आम्दानी नदेखिने गरेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL