Logo

सिइओ छनौटको फाइनल चरणमा बोर्डमा भ्रष्टाचारको हल्ला, जोशी भन्छन, ‘मलाई बदनाम गर्न खोजियो’

सिइओ छनौटको फाइनल चरणमा बोर्डमा भ्रष्टाचारको हल्ला, जोशी भन्छन, ‘मलाई बदनाम गर्न खोजियो’



काठमाडौं । नेपाल पर्यटन बोर्डमा भ्रष्टाचारको विषय नौलो होइन । बोर्डमा करोडौं रुपैयाँ भ्रष्टाचारको आरोपमा बोर्डका पूर्व कार्यकारी प्रमुख सुवास निरौलालगायत केही अधिकारीहरु अहिले पनि मुद्दा खेपिरहेका छन् । उनै निरौला पछि बोर्डको नेतृत्व सम्हालेका दीपकराज जोशीमाथि अहिले बोर्डमा भ्रष्टाचारको आरोप लागेको छ ।

केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोर्डमा छापा मारे पछि अहिले बोर्डमा करोडौं रुपैयाँ भ्रष्टचारको चर्चा बाहिरिएको छ । बोर्डमा माघ पहिलो साता नयाँ सिइओ छनौटको तयारी भइरहेको समयमा चलेको भ्रष्टाचारको चर्चालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

बोर्डले प्रवर्द्धनको नाममा जर्मनको माईकल कोबोल्ड (फायर ट्रक) लाई २ करोड रुपैयाँ र नेपालभित्रै बिभिन्न संचार माध्यमलाई करोडौं रुपैयाँ आफखुशी बाँडेर भ्रष्टाचार गरिएको बोर्डकै एक अधिकारीले दाबी गरे ।

तर, बोर्डको प्रमुख कार्यकारी अधिकृतको अवधि भर्खरै सकिएर पुनः सोही पदका लागि प्रमुख दाबदार रहेका जोशीले भने आफुलाई बिबादित बनाउन एउटा पक्षले नचाहिदो आरोप लगाएको बताए । उनले भने, ‘यस अघि सम्म केही कुराको जानकारी नभएको जस्तो गरेर अहिले बोर्डको सिइओका लागि मेरो सम्भावना देखेपछि मलाई बदनाम गर्न खोजिएको हो । कोबोल्डलाई हामीले पहिले १ करोड रुपैयाँ बुझाएका हौं । तर, पछि काम पूरा गर्न नसके पछि बाँकी रकम दिएको छैन’, जोशीले बिजखबरसँग भने ।

जोशीले बोर्डको अडिटको विषयमा कुरा गर्दै भने, ‘७/८ बर्ष देखि नभएको अडिट हामीले एकै पटक गरेका छौं । यस बर्षको अडिटको लागि पनि महालेखामा पठाई सकेका छौं, आन्तरिक अडिट गरेकै छ, यो अरु केही होईन मलाई बिबादित बनाउन खोजिएको मात्रै हो ।’

बोर्डका एक अधिकारीले भने तत्कालीन प्रमुख कार्यकारी अधिकृत जोशीले अनिमियतता भएकोे रकमको विषयमा कर्मचारीलाई समेत नबोल्न निर्देशन दिए पछि सुराकीको आधारमा आयोगले छापा मारेको बताए । ती अधिकारीका अनुसार बोर्डमा सिइओको तजबीजमा एउटै शिर्षकमा बिभिन्न मिडियाहरुलाई २० लाख रुपैयाँ सम्म बाँडिएको छ । यस्तै कोबोल्डसँगको सम्झौतामा पनि अनियमितताको आशंकामा अनुसन्धानका लागि भन्दै फाईल कब्जा गरेको ती अधिकारीले दाबी गरे ।

जोशीले २०७३/७४ को महालेखा परीक्षकको कार्यालयको लेखा परीक्षणमा यस किसिमबाट भएको खर्च असुल उपर गर्न निर्देशन दिएपनि आफ्नो कार्यकालमा लेखा परीक्षणसमेत नगरेको ती अधिकारीले आरोप लगाए । महालेखा परीक्षक टंकमणी शर्माले समेत बोर्डले लेखापरीक्षण नगरेको बताएका छन । उनले बोर्डलाई कारवाही गर्न समेत सरकारसँग आग्रह गरेका छन ।

आर्थिक तथा खरिद नियमावली, २०७२ को परिच्छेद–१३ को बोलपत्र सम्वन्धी व्यवस्थाको ७६ (१) मा बोर्डले १० लाख रुपैंया भन्दा वढीको मालसामान सेवा वा २० लाख रुपैयाँ भन्दा वढीको कुनै निर्माण कार्य गराउंँदा वोलपत्रको माध्यमद्धारा गर्नुपर्ने नियम पालना नगरेको बताइएको छ ।

बोर्डले यो वर्ष अन्तराष्ट्रिय मिडियामार्फत पर्यटन प्रर्वद्धनका लागि बिबिसी ग्लोवल न्यूजसँग विनियमावली विपरित ६८ लाख ४७ हजार ८ सय ५६ रुपैयाँ र ट्रिप एडभाइजरसँग २ करोड ५८ लाख ५० हजार रुपैयाँको सोझै वार्ताबाट सम्झौता गरेको महालेखाले औंल्याएको छ । महालेखाले विना प्रतिष्पर्धी दिएको उक्त रकम अनियमिता भएको ठहरसमेत गरेको छ ।

यता हाल खाली रहेको बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को माघको पहिलो साता छानिदैं छ । बोर्डको तत्कालीन प्रमुख कार्यकारी अधिकृत जोशीको ४ बर्षे कार्यकाल पुस ७ गतेदेखि सकिए पछि बोर्डको सिइओका लागि छनौट सिफारिस समितिले आवेदन माग गरेको थियो ।

बोर्डमा सिइओ बन्ने आकांक्षासहित आवेदन दिएका १७ जनामध्ये ९ जना सर्टलिस्टमा परेका छन । सर्टष्टिमा रहेका सिइओका दाबेदारहरुमा काशीराज भण्डारी, दीपकराज जोशी, धनन्जय रेग्मी, नविन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिणीप्रसाद खनाल, सन्तोषबिक्रम थापा र हिक्मतसिंह ऐर रहेका छन् ।

सिफारिस समितिले जसमध्येबाट यही माघ २ र ३ गतेको आ–आफ्नो प्रस्तुति तथा अन्तरवार्ताका लागि सर्टलिष्टमा परेकाहरुलाई बोलाएको छ । समितिले सर्टलिष्टमा परेका ९ जनामध्ये अन्तरवार्ता र प्रसतुतिपछि ३ जनालाई सिफारिस गर्ने छनौट समितिका सदस्य घनश्याम उपाध्यायले जानकारी दिए ।

उक्त समितिमा विप्लब पौडेको संयोजक, घनश्याम उपाध्याय र कृष्णबहादुर महरा सदस्य रहेका छन । समितिले सिफारिस गरेका ३ जनामध्येबाट बोर्ड संचालक समितिले निर्णय गरेर प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL