आरोप लगाउँदैमा वाईडबडीमा घोटला भयो भन्न पनि सक्दिन

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम कहिले जहाज नभएर त कहिले जहाज ल्याएर, चर्चामा रहिरहन्छ । सरकारी स्वामित्वका संस्थामध्ये सम्भवत धेरै समाचारको विषय बन्ने संस्था पनि यहिं निगम नै हो । ६० बर्षे आफ्नो इतिहासमा निगमको उतारचढावले यस प्रतिको चासो उत्तिकै छ । पछिल्लो समय दुई ओटा वाईडबडी जहाज भित्र्याएको निगम अहिले यसको खरिद प्रक्रियामा त्रुटी भएको भन्दै चर्चामा छ । यहीं बीचमा सरकारले निगमको कार्यकारी अधिकार महाप्रबन्धक सुगतरत्न कंसाकारबाट कार्यकारी अध्यक्ष बनाइएका मदन खरेललाई सुम्पिएको छ । खरेलले तीन महिनादेखि निगमको हाकिमको जिम्मेवारी पाएका छन् । यसअघि पनि निगमकै महाप्रबन्धक रहेका खरेलसँग बिजखबरका राङ्डोल लामाले वाइडबडीसहित यसका सुधारका योजना र विवादका विषयमा कुराकानी गरेका छन् ।

यतीबेला राष्ट्रिय ध्वजाबाहकका सम्बन्धमा हल्ला व्यापक छ । कुराकानीको सुरुवात भने म निगमको सुधारबाट गर्न चाहान्छु । कार्यकारी अध्यक्षको रुपमा जिम्मेवारी सम्हालेयता अघिल्लो पटक प्रबन्ध निर्देशक हुनुभन्दा के के फरक महसुस गर्नुभयो ?

United Cement

फरक छ । जस्तो अब पहिलेको हाम्रो जुन व्यावसायिक आकार थियो, त्यो भन्दा अहिले दुईगुणा बढेको छ । पहिलेभन्दा अहिले चुनौतीहरु बढी छन । किनभने अहिले हामीले ल्याएको ठूला वाईडबडी विमानहरु छ । एउटा क्लास पास गरेको जस्तो हो यो । न्यारोबडी अपग्रेड गरिराखेको र हामी वाईडबडीमा जाँदै छौं भने त्यो एउटा ठूलो फड्को नै मारेको कुरा हो ।

यि सबै चिजको ब्यवस्थापन गर्नु पर्ने नयाँ जिम्मेवारी छ र अहिले हामी त्यसमा लागि रहेका छौं । पहिले भन्दा त विलकुलै फरक छ, धेरै च्यालेन्ज पनि छ ।

अध्यक्षका रुपमा आन्तरिक उडान विस्तारमा तपाइको जोड देखिन्छ । कुनै समय विकटको सारथि बनेको निगम अब फेरि त्यही अवस्थामा पुग्न सक्छ ?

बिल्कुलै पुग्न सक्छ । एउटा कुरा के भने मेरो आन्तरिकमा मात्रै जोड भने होईन, मेरो जोड भनेको आन्तरिक र बाह्य दुवैलाई हो । र आन्तरिकलाई हामीले अहिले बढी जोड दिएका हौं । कुनैबेला अलि उपेक्षित जस्तो देखिएको थियो होला त्यो । त्यसलाई हामीले समान रुपमा चाँही महत्व दिनु पर्छ भन्ने मेरो मान्यता हो, बुझाई हो । र हामी त्यही सिद्धान्तमा अगाडी बढीरहेका छौं ।

अहिले केही समय भित्रै ग्राउण्डेड भएका विमानहरु सबैलाई निकालिसकेका छौं । केही बाँकी विमानहरुलाई पनि केही समयमै निकाल्ने र कुनै पनि विमानहरु अबका दिनमा ग्राउण्डेड हुँदैनन् । सामान्य कहिले काँही टेक्निकल त भइहाल्छ । तर, लामो समयदेखी ग्राउण्डेड भएर बस्ने र त्यसलाई सेड्यूलमै नराख्ने अवस्था अब हुँदैन ।

अब म यहाँ आउनु अघि त वाई १२ जहाज, एमए ६० र ट्वीनअटर एउटा मात्रै उडिरहेको थियो । अहिले ट्वीनअटर दुईटा , वाई १२ तीन ओटै उड्न लागीसकेको छ । ५ ओटा त साना जहाज मात्रै उडिसकेको छ । ठूला जहाजमा एमए ६० फूल फ्लेजमा उडेको छ । अर्को एमए ६० पनि केही समयमै आउँदै छ । त्यसो भएको हुनाले एमए ६० ट्रंक रुटमा चल्ने र त्यसलाई हामी भरपर्दो बनाउन सक्छौं ।

आन्तरिक उडानका लागि जहाज थप गर्ने तयारी भैरहेको थियो । यसमा प्रगती के छ ?

पहिला पनि यो धेरै अगाडी बढीसकेको विषय होइन । कन्सेप्ट चाँही आएको हो व्यवस्थापनमा । अब आन्तरिक उडानको लागि केही जहाजहरु थप्नु पर्छ भनेर । त्यसैलाई हामीले बोर्डसम्म लगेको हो । बोर्डले हालसम्म विचाराधिन अवस्थामै राखेको छ । यसमा बोर्डले कुनै किसिमको निर्देशन गरेको छैन । अब हामीले कुरा गर्ने एउटा पाटो भयो त्यसलाई सम्भव बनाउने अर्को पाटो भयो । किनभने जहाज जस्तो कुरा यति उति खरिद गर्ने भनेर भन्दैमा जहाज किनिदैन । जहाज खरिदमा धेरै कुरा हुन्छन् ।

सबैभन्दा पहिले त पैसाको कुरा आयो । हामी सँग त्यो रिसोर्स कहाँबाट आउँछ ? कस्ले दिन्छ ? त्यो पैसा कि त हामी सँग संचित हुनु पर्यो, कि त हामीले पैसा कमएर जगेडा गरेर किन्नु पर्यो । त्यो पनि नभए लोनबाट किन्नु पर्यो । तर लोन दिने ब्यवस्था पनि हुनु पर्यो । ति व्यवस्थाहरु अहिले गरेको छैन, खाली कन्सेप्ट मात्रै ल्याएको हो । तर जहाज किन्ने कुरा चाहीं निरन्तर जिवित छ । वायुसेवा संस्थाको लागि जहाज किन्ने कुरा महत्वपूर्ण कुरा हो । त्यसलाई आफ्नो व्यवसायिक प्लानको लागि पनि सोची राख्नुपर्छ र उपयुक्त किसिमले हामीले रिसोर्स म्यानेजमेन्ट गरेर फाइनान्सिएल क्लोज गरेर जहाज किन्ने प्रकृया अगाडी बढ्छौं ।

अन्तरराष्ट्रिय उडान तर्फ नि ?

दुवै तर्फका लागि हो यो । झन् अन्तरराष्ट्रिय तर्फ त बढी महत्वको कुरा हो । अहिले हामीले बल्ल बल्ल ४ ओटा जहाज बनाएका छौं । यसलाई निरन्तर रुपमा बढाएर लानुपर्छ । र हाम्रो योजनामै पनि एक दुई वर्ष भित्रमा न्यारोबडी जहाज थप्ने भन्ने छ । अब कति संख्यामा थप्ने कुनकुन सेक्टररमा हामीले अध्ययन गर्ने कहाँ जाने, कसरी जाने त्यसको तयारी गर्ने कुराहरुमा व्यापक अध्ययन गरिसकेका छैनौं । तर हाम्रो सामान्य कन्सेप्ट चाँही जहाज थप्नु पर्छ भन्ने हो यसैमा सबैको सहमति मात्रै भएको हो ।

पछिल्लो पटक भएका सुधारका केही कामहरु बताइदिनुहोस न ?

अब म यहाँ आईसके पछि आन्तरिक उडानमा केही देखिने कामहरु गरेका छौं । वाई १२ ई उडान नभरि बसेको थियो धेरै समयदेखी । हामीले पहाडी क्षेत्रहरुमा पनि उडान गर्न सकिन्छ भनेर परीक्षण उडानहरु गर्यौं । ति स्थानहरुमा अहिले उडान भईरहेको छ । विमानहरु रिपेयर गरेर बाहिर आउँदैछन् ।

अहिले भरखरै हामीले ट्रेनिङ सेन्टर पनि उदघाटन गर्यौं । निगमको धरै समय पछाडि आफ्नै ट्रेनिङ सेन्टरको व्यवस्था भयो । पहिले भाडामा ट्रेनिङहरु हुने गर्थे । आन्तरिक उडानको लागि पनि इटिकेटिङ सुरु गरेका छौं । अब सबै ठाउँबाट हाम्रो टिकेट खरिद हुन सक्छ । भर्खर सुरु भएकोले आन्तरिकमा केही समस्या आउन सक्छ । तर त्यसलाई पनि हामी लगातार सुधारमा लागि रहेका छौं । यो काम धेरै पहिले देखीनै गर्ने भनिए पनि हुन सकेको थिएन । तर मैले चाँही कुनै पनि काम समयमै हुनु पर्छ भनेर यो काम गरेका हौं । एयरपोर्टमा एउटा चाँही सेफ्टीको कार्यालय स्थापना गरेका छौं । त्यसको पनि उदघाटन भईसकेको छ । जुन सेफ्टी लिस्टहरुमा हामी बसेका छौं त्यसबाट हामीलाई उम्किनको लागि यसले सहयोग पुग्नेछ । म आएको धेरै समय पनि भएको छैन । जम्मा ३ महिना जति भयो । यहि बीचमा दशैं तिहार पनि परेकाले मैले धेरै काम गर्न पाएको छैन । समग्रमा मैले यहाँ दुई महिना जति काम गरेको छु ।

यो बीचमा गरेको काममध्ये सबै भन्दा ठूलो काम भनेको ओशाका उडानको तयारी हो । म आए पछि मात्रै त्यसको लागि एप्लाई गरेको हो । त्यहाँ फेब्रुअरिमा जाने तयारीमा छौं । मार्चमा हामी गोन्झोउ उड्ने भनेका छौं । यी दुईटा सेक्टरलाई हामलिे फोकस गरेका छौं । एकै चोटी १०÷१५ वटा कामलाई अगाडी बढाएर हामी अगाडी बढ्न सक्दैनौं । यो दुई ठाउँमा हाम्रो उडान भईसके पछि मात्रै हामी साउदी र कोरिया जान्छौं । यी दुई स्थानमा हामीले प्रतिनिधिहरु पठाईसकेका छौं । काम सुरु भईसकेको छ । हामी आशावादी छौं कि हामीले तोकेको समयमा जहाजलाई हामी त्यो क्षेत्रमा उडाउनेछौं ।

दोस्रो फेजमा उडाउन साउदीको लागि जिएसए नियुक्ति गर्नु पर्ने हुन्छ । साउदीको लागि अन्तिम फेजमा पुगिसकेको भएपनि त्याहाँका जिएसएले हाम्रो जिएसए एकतर्फि रुपमा रद्द गर्यो । साउदीमा के छ भने कि त्यहाँको अपरेटिङ परमिट पाउनुभन्दा पहिले नै एउटा रिक्वारमेन्ट जिएसए चाहिन्छ । हामी निकै माथि पुगिसकेको अवस्थामा जिएसएले आफ्नो जुन एग्रिमेन्ट हो नेपाल एयरलाईन्सको त्यो बदर गर्यो । त्यस्तो खालको कुरा गरे पछि अब हामीले तत्काल नयाँ जिएसए खोज्नु पर्यो । अहिले त्यसको लागि दुई वटाले आवेदन दिएको छ । तर उनीहरुको धेरै क्राईट एरिया पुगेको छैन ।

सिओलबाट भने सेफ्टी सिस्टमको अडिटको लागि आउने भनिरहेको छ । नागरिक उड्यन प्राधिकरणले गर्ने अडिट, आन्तरिक सेफ्टी अडिटमा अडिटरले जहिले पनि कमजोरी देखाउँछ । १० वटा कमजोरी देखाउँथ्यो पहिले त्यसलाई हामी १० वर्षसम्म वास्ता गर्दैन थियौं । त्यसरी अडिटको कुनै अर्थ हुँदैन । त्यसैले अहिले के निति लिएका छौ भने कि हामीले जति पनि फाइन्डिङ्सहरु छ त्यसलाई निश्चित समयमा समाधान गरिसक्नुपर्छ । अडिटरले त्यो सुधार गरिसक्नु पर्छ । यो अभियान सुरु भइसकेको छ ।

अहिलेसम्मको अनुभवले निगमलाइ आन्तरिक र बाह्य दुवै उडानमा प्रतिस्पर्धि बनाएर साख बढाउन सकिन्छ भन्ने क्लु पाउनुभयो कि छैन ?

क्लु पाउने होईन हामीमा त्यसको लागि दृढ ईच्छा शक्ति नै हुनुपर्छ । दुनियाँमा नहुने भन्ने कुरा केही पनि छैन । एउटा सानो अर्गनाईजेशन संचालन गर्ने कुरा हो । यो सरकारी संस्था हो, त्यसो भएको हुनाले एउटा सरकारको तुलनामा यो एउटा सानो संस्था हो । यसलाई संचालन गर्नलाई हामी सबै पक्ष गम्भिर हुने हो भने यो संस्था संचालन गर्न सकिँदैन नाफामा उडाउन सकिँदैन भन्ने कुरा हुँदैन । अत्यन्त उत्कृष्ट काम गरेका दुनियाँमा धेरै सरकारी संस्थाहरु छन् । हामीले वास्तवमा मेहेनत गरेर सबै लाग्ने हो भने यसलाई पनि हामी राम्रो परिणाम दिन सक्छौं हामी आशावादी छौं ।

अध्यक्ष भएको केही समयमै निगम सम्बन्धि श्वेतपत्र जारी गर्नुभयो । त्यो किन आवश्यक देख्नुभयो ?

एकदमै आवश्यक थियो । संस्थाको आवश्यकताको आधारमानै मैले त्यो श्वेतपत्र ल्याएको हो । श्वेतपत्रको बारेमा मलाई चाही के लाग्छ भने अलिकति केही किन आयो भन्ने प्रश्नहरु पनि आयो कुनै बेलामा । तर, त्यसको उत्तर दिनु पर्छ भन्ने जरुरी रह्यो र मैले भने पनि । तर हाम्रो पक्षबाट हेर्दा त्यो श्वेतपत्र आउनु अत्यन्त जरुरी थियो र आवश्यकताको आधारमा नै आएको हो । जस्तो म आइसके पछि यो संस्थाको आर्थिक अवस्था हेर्दै जाँदा हरेक ती महिनामा एउटा स्टलमेन्ट तिर्नु पर्ने देखियो । लोन हामीले लिएका छौं । त्यो स्टलमेन्ट भनेको हाम्रो कमाइबाट तिर्नु पर्ने कुरा हो ।

वास्तवमा भन्ने हो भने हामीले पहिला त्यस्तै प्रक्षेपण गरेर यति पैसा कमाउँछौ र यति पैसा मध्यबाट स्टलमेन्ट तिर्दै जान्छौं भन्ने किसिमका व्यावसायिक योजना बनाईसके पछि ति योजनाहरु पास भएर विमानहरु खरिद गरेका हौं । हामीले विमान ल्यायौं तर विमानलाई ठिकसँग संचालन पनि गर्न नसकिरहेको अवस्थामा केही न केही असहज अवस्था आएको मात्र देखियो । वित्तीय रुपमा हेर्दा संस्था चलिरहेको छ तर डेब्ट सर्भिसिङमा अलिकति पैसा जगडा गर्न नसकेको अवस्था देखिसकेपछि इक्विटि इन्जेक्सन गर्नु पर्छ भनेर नेपाल सरकार सँग २० अर्ब रुपैयाँ माग गरेका हौं । यो कुरा बोर्ड र म एक्लैले मागेको पनि होईन, हामी सबैले सरसल्लाह गरेरै मागेको हो । यहाँबाट पास भई मन्त्रालय र मन्त्रालयबाट पनि पास भई अर्थमन्त्रालय पुगेको अवस्था हो । यसरी अर्थसँग पुगे पछि तिनिहरुलाई २० अर्ब रुपैयाँ किन चाहियो भनेर कौतुहलता सबैलाई लाग्नु स्वभाविक नै हो ।

२० अर्ब रुपैयाँ मागे पछि संस्था त खत्तम भए छ कि, तलब खानलाई पनि पैसा पुगेन कि भन्ने खालका कुरा आएपछि हामीले त्यस्लाई श्वेतपत्र जारी गरेका हौं । श्वेतपत्र भनेको राम्रो अवस्था देखाउन जारी गर्ने हो । श्वेतपत्र भनेको गलत अवस्था देखाउनका लागि जारी गर्ने पत्र होईन । त्यसैले हामीले हामी ठिक छौं र हाम्रो राम्रो पक्ष केहो त्यो कुरा उजागार गर्न जरुरी भएको हुनाले मैले त्यो श्वेतपत्र जारी गरेको हो । मैले श्वेतपत्र जारी गर्दा पटक पटक मैले केमा फोकस गरेको थिए भने हाम्रो पुँजी अहिले अलिकति कम देखिएता पनि हाम्रो सम्पत्ति पहिलेभन्दा धेरै माथी बढेको छ ।

हामी ५० अर्ब रुपैयाको सम्पत्तिको मालिक भएका छौं त्यो विषय सबै भन्दा महत्वपूर्ण कुरा हो । त्यो कुरा मैले देखाउन खोजेको हो । अहिले अलिअलि हामीले डेब्ट सर्भिसिङ गर्न सकिरहेका छैनौ । त्यो अर्कै कुरा हो । अहिले हामीलाई क्यास फ्लोमा समस्या देखिरहेको होला त्यो अर्को कुरा हो । तर हाम्रो हिजोको अवस्थाभन्दा आज अत्यन्त ठूलो अवस्थामा हामी छौं । त्यसलाई हामीले विकास नै मान्नु पर्छ र संस्था राम्रोसँग रन पनि भईरहेको छ । संस्थानै रन गर्न अप्ठेरो भएको पनि केही छैन तर अहिले हामीलाई डेब्ट सर्भिसिङ गर्ने अप्ठेरो भएको छ । त्यसमा चाँही सम्बन्धित ठाउँबाट हाम्रो ईक्विटि ईन्जेक्सन भयो भने त्यो पनि समस्या समाधान हुन्छ । एकै चोटी सरकारलाई पनि ईक्वीटि ईन्जेक्सन गर्न गाह्रो हुँदा त्यसको पनि विभिन्न उपायहरु हामी अपनाउन सक्छौं । यो कुरा सबैमाझ पुर्यानकै लागि श्वेतपत्र जारी भएको हो ।

भविष्यमा तपाईलाई आउन सक्ने जोखिमबाट पहिलै बच्नुपर्छ भन्ने लागेर त हैन ?

भविष्यमा आउने जोखिमबाट बच्न त श्वेतपत्र ल्याउनै पर्दैन । त्यो त सधै सावधानी हुनु पर्ने विषय हो । भविष्यमा आउने जोखिमलाई कम गर्न नै व्यावसायीक रणनीति बनाउँछौं । पहिले रियाक्टिभ एक्सन गथ्र्यौं । अहिले आएर चाहीं प्रेडिक्टिभ एक्सन गर्नु पर्ने हुन्छ । हामीले भनेको भोली के होला भन्ने कुरा अहिले नै अनुमान गरेर त्यो पाटोबाट कसरी बच्न सक्छौं भनेर नै हामीले रणनीति बनाउने हो ।

श्वेतपत्र केवल सरकारसँग पुँजी बढाउनु पर्ने बलियो आधार देखाउन तयार गरिएको कागजपत्र मात्र हो भन्ने पनि प्रतिक्रिया आए नि ?

अब त्यो त बुझ्नेले जसरी बुझे पनि हुन्छ । एउटा च्याप्टर पढ्दाखेरी मान्छेले आ–आफ्नो धारणा बनाउँछन । तर हाम्रो उद्देश्य त्यो होईन । उद्देश्य के हो भने हो नेपाल सरकारसँग हामी मागी रहेका छौं अर्को पत्र किन निकाल्नु पर्यो ? हामीले चाहीं त्यो भन्दा पहिला २० दिन अगाडी २० अर्ब रुपैयाँ ईक्वीटि ईन्जेक्सन गर्नु पर्यो भनेर लेखेकै छौं नी । त्यसलाई लुकाउनु पर्ने के नै छ र ? हाम्रो कारणहरु सबै देखाएकै छौं । अझ हामीले त्यसबाट एउटा खालको भ्रम सिर्जना भयो भनेर त्यसलाई हामीले सामान्यीकरण गर्नको लागि नै श्वेतपत्र ल्याएका हौं ।

के निगम वित्तिय हिसाबले अत्यन्त संकट मै परेको हो ?

त्यस्तो हो र ? मैले अघिनै भने हिजो २० अर्बको संस्था आज ५० अर्बको पुगेको छ । हाम्रो जहाज नै छ के भएको छ र ? संचयकोषले दिएको लोनको त जहाज जस्ताको त्यस्तै छ नि । जहाज त उडीरहेको छ । त्यसैलाई बेच्ने हो भने पनि लोनभन्दा बढी पैसा आउँछ कसरी संस्था संकटमा जान्छ र । यसलाई गलत तरिकाले इन्टरप्रिटेशन गरियो । केही समयको लागि हामी सँग अलिकति क्यास फ्लोमा संकट देखेको मात्रै हो ।

त्यसैले हामीले के भनेका छौं भने एउटा व्यावसायी संघसंस्थामा त्यो त्यसको मालिकले अलिकति पुँजी हाल्ने भन्ने कुरोे असामान्य हैन । हरेक समयमा लोन लिएरमात्रै चलाउनु पर्छ भन्ने छैन । हामीले व्यवसाय विस्तारको लागि क्यापिटल हाल्नु पर्ने अवस्था हुन्छ कि हुँदैन । यो संस्थामा जम्मा ३० करोड रुपैयाँ हालेका छ सुरुमा त्यस पछाडी ५० अर्बको संस्था बनेको छ त्यो कसरी आयो ? संस्था खत्तम भएको भए यति ठूलो सम्पत्ति आउने नै थिएन । साधारण रुपमा हेर्दा पनि त्यहि देखिन्छ । तर व्यवसाय गर्दै जाँदा कहिले काँही क्यास फ्लो वा अरु चिजको समस्या आउन सक्छ । यसलाई हामीले चाँही समाधान गर्ने हो । व्यवसाय भनेको सधैं पोजेटिभ मात्रै हुन्छ भन्ने पनि छैन त्यसरी पनि सोच्नु पर्छ । जेटस्पाईस, इन्डीगो र जेट एयरलाईन्स जस्तो भारतका एयरलाईन्सहरु पनि पछिल्लो वर्ष ६, ७ सय करोड रुपैयाँको नाफा भएका संस्थाहरु यो साल १५ सय करोडले नोक्सानीमा छ । ति संस्थाहरुले अहिले क्यापिटल इन्जेक्शन गर्नु पर्यो भन्ने चै अध्ययन हुँदैछ ।

प्राईभेट अर्गनाईजेशनले त आफ्नो पैसा त हाल्नु पर्यो नि किन भने अप्ठेरो परे पछि त्यस्लाई अगाडी बढाउनु पर्यो । प्राईभेट हुनासाथ तिनिहरु संधै नाफामा हुन्छन भन्ने हुँदैन । त्यसकारणले प्राईभेटले गरोस या सरकारी होस । नाफा नोक्सान भनेको व्यवसायको एउटा फिचर हो । कुनै बेला नोक्सान हुन सक्छ भने कुनै बेला नाफामा हुन सक्छ । हामी यहिबीचमा गुज्रने हो । र अलिकति नोक्सान हुने वित्तिकै हामी व्यवसाय नै बन्द गर्छौं र ? त्यसलाई त निरन्तरता दिने हो नि । अरु बढी च्यालेन्ज स्वीकार गरेर त्यस्लाई कसरी नाफामा परिणत गर्ने भनेर अगाडी बढ्ने हो । अहिलेको हाम्रो सम्पूर्ण प्रयत्न भनेको यसलाई कसरी नाफामा छिटो भन्दा छिटो ल्याउने भन्ने हो ।

एकातर्फ सरकार अब निगमलाई ऋण दिन सकिँदैन रणनीतिक साझेदार ल्याएर चलाउनु पर्छ भन्दैछ । तपाईँहरु सरकारको सहयोग बिना चलाउन सकिँदैन भन्दै हुनुहुन्छ । यस्तो अवस्थामा निगमको संकट कसरी समाधान हुन सक्छ ?

निगमलाई अगाडी बढाउनको लागि अप्ठेरो परेको बेलामा सरकारको आवश्यकता हुन्छ । त्यो सहयोग सरकारले गर्दैन भन्नेमा मलाई विश्वास छैन । तर यसको मतलब के हो भने निगमले पनि आफुले नाफा कमाएर वा नाफा कमाउने क्षमता अभिवृद्धि गरेर आफुलाई सस्टेन बनाउनु पर्छ भन्ने कुरामा वास्तवमा म पनि सहमत नै छु । संधै सरकारसँग सजिलो किसिमले पैसा लिने र यहाँ हामी चाहीं त्यसलाई खर्च गर्ने मात्रै संस्था बन्नु हुँदैन । आफैले कमाएर आफैंले अगाडी बढ्नु पर्ने परिस्थिती सिर्जना गर्नुपर्छ । त्यो व्यवसायले गर्ने कुरा हो । र व्यवसाय त्यसरी नै हाँक्नु पर्छ भन्ने कुरामा म पनि सहमत नै हो । तर, अहिलेको अवस्थामा अलिकति जुन अप्ठेरो छ त्यो यसमा हामीले जुन् २० अर्ब माग गरेका छौं, त्यो पैसा दिन सक्ने अवस्था नहुन सक्छ । त्यसलाई हामीले पनि विचार गर्नु पर्छ । तर त्यो बाहेक अरु पनि विकल्प हुन सक्छ । कुन विकल्पका साथ हामी अगाडी बढ्न सक्छौं । हामीले सिधा अगाडी देख्यौं र हामीले अगाडी बढायौं । विभिन्न विकल्पहरुमा हामी र सरकारबीचमा छलफल भईरहेका छन । सरकारबाट एउटा निर्देशन हामीले प्राप्त गरिरहेका छौं । त्यस अनुसार चल्नको लागि कामहरु अगाडी बढी रहेको छ ।

पछिल्लो समय वाइडबडी निकै चर्चामा छ । यसको खरिदको सन्दर्भमा संसदिय समितिहरुमा नियमित बैठकहरु भएरहेका पनि छन । छानविन समितिले काम पनि गरिरहेका छन्क । संस्थाको अध्यक्षको रुपमा तपाइले यसका कागजात पक्कै हेर्नुभएको होला । खरिद प्रक्रियामा तपाइको बुझाइ के हो ?

हेर्नोस संस्थाको अध्यक्ष भन्ने वित्तिकै सबै चिज एकै चोटी हेर्न सकिँदैन । दुई वर्ष पुरा लगाएर खरिद भएको एउटा प्रकृया गुज्रेर आएको चिजको धेरै ठूलो डकुमेन्टेसनहरु छन । एक दुईवटा कागजहरु मैले पनि हेरेको छु नहेरेको होईन । तर समग्रमा सबै कागजहरु हेर्न सक्ने अवस्थामा छैन । त्यसकारणले त्यसको बारेमा म यसै हो भन्न सक्ने अवस्थामा छैन । तर विभिन्न ठाउँबाट छानविनहरु भईरहेका छन् । ति ठाँउहरुमा हामीले चाहीं निगमले पठाउनु पर्ने कागजहरु मागिरहेको अवस्थामा सबै पठाई सकेका छौं । र त्यहाँ अनुसन्धानहरु भईरहका छन् । त्यसको परिणाम जे आउँछ त्यसैले प्रष्ट पार्ने हुन्छ । त्यसैले हामीले अहिले पर्खनु पर्ने हुन्छ र मलाई त्यहि लाग्छ ।

पछिल्लो समयमा सार्वजनिक खरिद कार्यालयले पनि विमान खरिद सार्वजनिक खरिद ऐन अनुरुप नभएको भन्ने राय दिएको छ भने विमान खरिदमा धेरै चलखेल भएको हल्ला आईरहेको छ । लिखित रुपमा आएका त्यस्ता निष्कर्षप्रति तपाईको धारणा के हो ?

त्यस्तो मैले केही भन्नै सक्ने अवस्था नै छैन । कसैले आरोप लगाउने वित्तिकै घोटला भईहाल्यो भनेर भन्न पनि सक्दैन, तर कसैले प्रश्न उठायो भने त्यहाँ केही भएको छैन भनेर पनि भन्न सकिँदैन । चित्तबुझ्दो जवाफनै दिने क्रमको लागि हो यो सबै अनुसन्धानहरु भईरहेको । जिम्मेवार ठाउँहरुबाट अनुसन्धानहरु भईरहेका छन । त्यसको अन्तिम नतिजा नआईन्जेलसम्म त हामीले पर्खनै पर्यो नि । आँकलन गरेर के भएको हो भनेर कसरी भन्न सकिन्छ ? मैले अघिनै भनि सकें कि यि सबै कुराको डकुमेन्टसहरु मैले हेर्न पनि पाएको छैन । वास्तवमा म त्यो भन्दा पछाडी कसरी यो संस्थाको अवस्था थियो त्यसलाई अलिकति राम्रो बाटोमा लान सकिन्छ भनेर नै फोकसमा छु । त्यता काम गरिरहेको हुनाले अगाडीको प्रकृयाहरु किनेको बारेमा त्यो डकुमेन्टहरु पढ्न हेर्न मैले वास्तवमै फुर्सद पनि पाएको छैन ।

र एक दुई वटा डकुमेन्टहरु भने हेरेको छु । र त्यही एक दुईवटा डकुमेन्टहरु हेरेकै आधारमा कुनै निष्कर्ष निकाल्दै यस्तो भाको हो भनेर भन्न कसैले पनि हुँदैन पनि र म त्यो अवस्थामा अहिले छैन पनि ।

वाइडबडीको विषय उचालेर निगमको साख गिराउने र संस्थागत विश्वसनीयता कमजोर बनाउने प्रयास भए जस्तो तपाइलाई लाग्दैन ?

त्यसो भन्दा पनि यदी त्यस्तो हो कुनै पनि क्षेत्रबाट हो भने त्यो गलत चिज हो । संस्थालाई वास्तवमा हामी सबैको धरोहर हो । एउटा सम्पत्ति हो । सबैले यसलाई हित हुने काम गर्नु पर्छ । र त्यस्तो कसैले गरेको छ भने त्यो गलत हो । तर कसैले सार्वजनिक रुपमा एक दुईजना मान्छेले भनेको भन्दा पनि मलाई त अब संसदिय समितिहरुले नै यो विषय लिएको हुनाले उहाँहरुले यस्तो गर्नु भो भन्ने मलाई लाग्दैन ।

यो एउटा अनुसन्धान गर्नु पर्ने विषय ठानेर नै गर्नु भएको होला । उहाँहरुको काम नै अनुसन्धान गर्ने हो । त्यसकारणले त्यसलाई हामीले सहज रुपमा लिनु पर्छ र त्यसको परिणाम जे आउँछ त्यसलाई हामीले पर्खनु पर्छ र सम्मान गर्नु पर्छ ।

वाइडबडिकै इस्युले अन्तर्राष्ट्रिय तर्फ आवश्यक जहाज थप गर्ने योजनामा असर त गर्दैन नि ?

अब वाईडबडीकै कारणले अन्तरराष्ट्रिय तर्फ जहाज थप्ने कुरालाई त्यति ठूलो असर गर्छ जस्तो त मलाई लाग्दैन । तर ठूलो कुरो असर गर्ने भनेको हाम्रो सामथ्र्य हो हेर्नुस । यदी सामथ्र्य बन्दै गयो भने त्यसले पोजेटिभ पनि गर्न सक्छ मुख्य कुरा त्यो हो ।
अव हामीले त्यसलाई ठिक सँग उपयोग गर्न सकेनौं भने नाफा कमाउन सकेनौं नोक्सान तिर जान थाल्यौ भने यो हाम्रो सामथ्र्य कमजोर हुन्छ । त्यसले झन् अन्तरराष्ट्रिय क्षेत्रका ठूला जहाजहरु किन्न अप्ठेरो हुनेछ । त्यसकारण त्यो चाँही आफ्ना कुरा हो तर खरिद प्रक्रियाका कारणले गर्दा जहाज थप्ने कुरामा कुनै अप्ठेरो पर्दैन ।

दुई ओटा न्यारोबडी थप्ने योजना चाहिँ के भैरहेको छ ?

हो, यो योजना भने छ हाम्रो । ब्रोडर कन्सेप्टको रुपमा दुईटा थप्नु पर्छ भनेर अघि पनि मैले भनेको छु । अबको चरण भनेको वाईडबडी होईन न्यारोबडी नै दुईटा किन्नु पर्छ भन्ने हो । न्यारो र वाईडबडीको अनुपात मिलाउनको लागि पनि न्यारोबडीनै किन्नु पर्छ । त्यसकारण दुईवटा न्यारोबडी किन्ने कुरो पाईपलाईनमा होला र हाम्रो कन्सेप्टमा छ । तर यसलाई डिटेल रि स्टडी गरेर त्यो फाइनान्सहरु क्लोज गरेर किन्ने अवस्थामा अहिले हामी छैनौ ।

केही समयसम्म यी अहिले भईरहेका विमानहरुलाई स्टेबल गराईन्जेलसम्म मलाई लाग्छ एक वर्ष अझै पनि लाग्न सक्छ । र यो बीचमा हामी अध्ययन गरिराखेका छौं । मतलब यो काम गरि सकेर यो काम गछौं भनेर होईन क् ियी सबै काम संगसंगै गछौं । विमानहरु थप गर्ने कुराहरुको पनि अध्ययन हामीले सुरु गरिसकेका छौं । निरन्तर रुपमा वित्तीय स्रोत ककसरी जुटाउने भन्ने भन्ने कुरामा पनि लाग्छौं । अब ऋण नै गर्ने कि हाम्रो कमाईले नै पुग्छ की त्यसको फण्ड क्रिएट गर्ने होकी या इक्वीटि इन्जेक्शनबाट किन्ने होकी भनेर अहिले सब कुराहरु टेबलमा छन र हामी अध्ययन गरिरहेका छौं ।

वाइडबडिको उडान विस्तार जापान र चिनमा समयमै हुन्छ त ?

हामी एकदमै विश्वस्त छौं कि समयमै उडान हुन्छ । हामी त्यस किसिमले रात दिन नभनि काम गरिरहेका छौं । तर यो हाम्रो आफ्नो अधिनको कुरा भएको भए त त्यही दिनमा हुन्छ र गथ्र्यौं भनेर भन्थ्यौं । अर्काे देश पनि समावेश भएका हुनाले हामीले एकिन रुपमा यही दिनमा गरिहाल्छौं भनेर नि तोकेका छैनौं । तर त्यसको छेउछाउमा हामी उडान गछौं । र काम प्रक्रियाहरु ठिक सँग अगाडी बढीरहेको छ ।

जापान उडानमा प्राधिकरणको असहयोग रह्यो भन्ने पनि सुनिन्छ नि ?

यो बिल्कुलै गलत कुरा हो । प्राधिकरणले गर्ने सबै किसिमका सहयोग गरेकै छ । सरकारी संस्था हो त्यही भएर पनि प्राधिकरणले सहयोग नगर्ने भन्ने कुरानै हुँदैन । किन के क्षेत्रमा असहयोग गर्छ र उसले ? त्यतिकै आंकलन गर्नु भएन नि ? कुन कुरामा उसले असयोग गरेको छ र उसले त सबै क्षेत्रमा सहयोग गरिरहेको छ । अझ सहयोग गरेर उहाँहरुले त ओशाका मात्रै होईन नारिता जाने पनि पहिल्यै खोलिसकेको छ । यहीं जहाज आएकै कारणले नारिता पनि जानको लागि भनेर ठाउँ खोलीदिएको छ भने अब कसरी असहयोग गरेको भन्ने । उहाँहरुले गरिदेने काम त्यति मात्रै हो । अब हामी तयार हुनु पर्यो । त्यसकारण हामीले आफ्नो काम गरिराखेका छौं र उहाँहरुले बेलाबेलामा अडिट गरिरहनु भएको छ । समयमा आएर अडिट गर्नु पनि ठूलो सहयोग हो । जाँच लिइदिने मान्छेले बेलैमा जाँच लिइदिए पो पास हुन्छ । विकास गर्न त पास हुनु पर्यो भने पछि यो बाहिरको बेकारको कुरा मात्रै हो ।

अन्य सरकारी निकायभन्दा वायुसेवा निगमको चर्चा अलि बढी नै हुने गर्छ । यस पछाडिको कारण अनुमान गर्न सक्नुहुन्छ ?

यो त वास्तवमा भन्ने हो भने एयरलाईन्स हाम्रोमा मात्रै होईन दुनियाँमै पनि एयरलाईन्सको बारेमा बढी चर्चा परिचर्चा हुने गर्छन । अहिले भारतमै पनि हेर्नुस । म छिमेकि देशको बढी उदारहण दिने गर्छु । जापानमै भो अमेरिकामानै पनि भो जहाँ खरिदको बेलामा धेरै ठूलो समाचारहरु आईरहेको हुन्छ । अहिले भारतमानै हेर्नोस भारतको पुरै राजनीतिनै दुईटा जहाजको खरिदमा छ । त्यो राफेलको, अग्सता ओसल्याण्डको केस छ त्याहाँ । उनीहरु ले आफ्नो राजनीतिक पक्षमा ल्याउन विषय बनाई रहेको छ । भने पछि यो त नेपालमा मात्रै होईन बाहिर तिर नि यो कुराहरु हुन्छन ।

विमान भन्ने अहिले मानब सभ्याताकै उत्कृष्ट उपलब्धि हो । त्यसकारणले त्यस्तो क्षेत्रमा भएका ति गतिविधिहरुलाई राष्ट्रको गौरवको पनि विषय हो । त्यसैले त्यहाँ सबैको चासोको विषय हुनु स्वभाभिक हो भन्ने ठान्छु म ।


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status