Logo

खरेल भित्रिएपछि ‘फ्रि’ कंसाकारको यस्तो छ दैनिकी, भन्छन् ‘सल्लाह दिन्छु, फर्किन्छु’

खरेल भित्रिएपछि ‘फ्रि’ कंसाकारको यस्तो छ दैनिकी, भन्छन् ‘सल्लाह दिन्छु, फर्किन्छु’



काठमाडौं । सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुुसेवा निगमको कार्यकारी भूमिकामा रहने महाप्रबन्धक पदमाथि नै ‘कु’ गर्दै कार्यकारी अध्यक्ष नियुक्त गरेपछि सुगतरत्न कंसाकार यतिबेला फूर्सदीला बनेका छन् । कंसाकारलाई भूमिका विहिन बनाउने र त्यसकै आधारमा राजिनामाको लागि बाध्य बनाउने ‘प्लट’ तयार गरी निगम सञ्चालक समितिको अध्यक्षबाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटालाई हटाउने निर्णय भदौ २९ गतेको मन्त्रिपरिषदले गर्यो ।

देवकोटाको स्थानमा त्यसअघि निगमकै महाप्रबन्धकको जिम्मेवारी सम्हालेका मदन खरेललाई सदस्यमा नियुक्तमा गर्ने निर्णय पनि सोही मन्त्रिपरिषद बैठकले गर्यो । त्यसको दुई दिनपछि बसेको मन्त्रिपरिषदकै अर्को बैठकले खरेललाई नै अध्यक्ष बनाउने निर्णय गर्यो त्यो पनि कार्यकारी भूमिकासहित । कार्यकारीमा अर्कै व्यक्ति नियुक्त भएपछि त्यसअघिका कार्यकारी कंसाकारले राजिनामा दिने अनुमान सरकारको पनि थियो । तर, आगामी असारमा आफ्नो कार्यकाल पुरा हुने कंसाकारले लगत्तै राजिनामा नदिने बरु सधै कार्यालयमा जाने प्रतिक्रिया दिए ।

कार्यकारी भूमिकाबाट हटेपछि कंसाकार के गर्दैछन् त ? ‘पहिलेको र अहिलेको दिनचर्या पनि फरक हुँदो रहेछ’ उनले भने ‘पहिले सबै काम आफैंले गर्नुपरथ्यो दौडधुप हुन्थ्यो, तर अहिले सल्लाहमात्र दिए पुग्छ ।’ धेरै जिम्मेवारी कार्यकारी अध्यक्षकै हुने भएकोले आजभोली केही फ्रि भएको महसुस कंसाकारले गरेका छन् । ‘अहिले खासै काम छैन अफिस आउँछु, बस्छु केही सल्लाह पनि दिन्छु तर अन्तिम निर्णय भने उहाँलेनै गर्नुहुन्छ’ कंसाकारले भने ।

निगममा कंसाकारको उपलब्धि
करिब साढे तीन बर्षअघि निगममा कार्यकारी भएर आएका  कंसाकारले आफू मुख्य जिम्मेवारीमा रहँदा दुई किसिमबाट काम थालेको बताउँछन । उनले व्यवस्थापन र सिट क्षमता उत्पादन वृद्धिलाई सँगै अगाडी बढाएको बताउँदै दुईवटा वाईडबडी ल्याएर सिट क्षमता बृद्धि गरेको बताउँछन ।

उडान कम्पनीले हवाईजहाज नकिन्ने सोच भनेको एकदमै घातक सोच रहेकोले त्यसलाई आफूले परिवर्तन गरेको उनको दाबी छ । ‘व्यवस्थापन सुधार नभएसम्म जहाज नकिन्ने हो भने २८ वर्ष अघिको जस्तै घातक हुन्छ । व्यवस्थापन सुधार गर्दै जाने र जहाज पनि थप्दै जानु पर्छ’ उनले भने ।

२०४३ सालतिर लण्डन, जापान पुगेको नेपाल एयरलाईन्स विगत २८ वर्ष देखी भारत दुबई, कतार लगायतका देशमा नै सिमित छ । एयरलाईन्ससँग जहाज नभए पछि ति देशहरुमा जहाज लान नसकेको कंसाकारको भनाई  छ । ‘भएको पनि बेच्ने नयाँ जहाज नकिन्ने अनि २ वटा बोईङले कति ठाउँमा पुग्ने ?’ उनको प्रश्न छ ।

कंसाकारले वाईडबडी ल्याउने देखि लिएर ८ वटा ट्वीनअटर ल्याउने प्रकृया समेत अघि बढाएको जानकारी दिए । उनले अगाडी बढाएको ८ वटा ट्वीनअटर ल्याउने प्रकृया अब अन्तिम चरणमा पुगेको र एक दुई हप्ता भित्र ग्लोबल टेण्डर गर्ने समेत हुने तयारी छ ।

नयाँ विमान भित्रिएसँगै निगममा भएको सो जहाजलाई नयाँ गन्तव्यमा पुर्याउनु र नेपालमा अभाव रहेको पाईलटको समस्या समधान गर्ने कंसाकारलाई चुनौति थियो । तर अब सो चुनौति भने खरेलको काँधमा थपिएको छ ।

त्यसतै कंसाकार कार्यकारी रहँदा निगमले ग्राउण्ड ह्याण्डलिङ सेवामा अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र समेत प्राप्त गरेको थियो । ग्राउण्ड ह्याण्डलिङ सर्भिसमा उत्कृष्ठ सेवा प्रदान गरेको भन्दै इन्टरनेशनल एयरट्रान्सपोर्ट एसोसियसन (आईएटिए)ले आईएटिए सेफ्टी अडिटर्स फर ग्राउण्ड अपरेशन (इसागो) प्रमाणपत्र दिएको थियो ।

निगममानै रहने चाहाना
अब सल्लाहकारको भुमिकामा मात्रै बस्ने बताउँदै आएका कंसाकार विगतमा आफूले गरेको कामको नयाँ कार्यकारी अध्यक्षलाई ब्रिफिङ गर्ने सोंचमा छन् । करिब ८ महिनाको आफ्नो कार्यकाल समाप्ती पछि पनि कंसाकारले सरकारी सेवामानै बस्ने ईच्छा रहेको जानकारी दिएका छन ।

आफ्नो कार्यकाल पछि पनि चुपचाप सुतेर नबस्ने तर निगमलाई निरन्तर सहयोग गर्ने उनको योजना छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL