Logo

लकडाउनको असर, तेब्बरले बढ्यो तरकारी र फलफुलको मूल्य

लकडाउनको असर, तेब्बरले बढ्यो तरकारी र फलफुलको मूल्य



काठमाडौं । नेपाल पूूर्णरुपमा लकडाउन भए पछि बजारमा तरकारी तथा फलफूलको मूल्य आकाशिएको छ । गत सातासम्म प्रतिकिलो ५० रुपैयाँ पर्ने गोलभेँडाको अहिले बजार मूल्य १५० रुपैयाँ पुगेको छ भने एउटा कागतीको बजार मूल्य ५ रुपैयाँबाट बढेर १५ रुपैयाँ पुगेको छ ।

laxmi

यो अवधिमा सागको मूल्य प्रतिमुठा ५ रुपैयाँबाट बढेर १५ रुपैयाँ पुगेको छ । तरकारीसँगै काठमाडौँ उपत्यकामा फलफूलको पनि मूल्य बढेको पाइन्छ । स्याउको मूल्य गत सातासम्म १५० रहेकोमा अहिले ३ सय रुपैयाँ पुगेको छ भने केराको मूल्य १ सय रुपैयाँबाट बढेर २ सय रुपैयाँ पुगेको छ । सरकारले गरेको ‘लकडाउन’ को चौथो दिनसम्म आइपुग्दा बजार केही खुल्न थाले पनि तरकारी, फलफूललगायका आवश्यक खाद्य सामग्रीको मूल्य ह्वात्तै बढेको छ ।

‘कोभिड–१९’ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले सकेसम्म घर बाहिर ननिस्कन र आवश्यक सामग्री किन्नु परे नजिकैका पसलमा खरिद गर्न आमनागरिकलाई भनिरहेको छ । तर नजिकको पसल अझै नखुलेकाले केही टाढासम्म पुग्नुपरेको कोटेश्वरकी नम्रता शर्माले बताएकी छिन । सरकारले स्टक नराख्न भने पनि उनले खाद्यान्न केही महिनालाई पुग्ने राखेकी छिन । तरकारी, फलफूल र दूध किन्न दैनिकजसो बाहिर निस्कनु परेको उनले बताए । थोरै पसल मात्रै खुलेकाले पनि पसलले चर्काे मूल्य लिएको उनको भनाई छ । उनले भनिन, ‘कुनै कुनै पसल मात्रै खुलेका छन् जति भन्छन् त्यति तिर्नु हाम्रो बाध्यता हो ।’

काठमाडौं उपत्यकाका आसपासका क्षेत्रले शहरी क्षेत्रमा तरकारी र दूधको आपूर्ति गर्दै आएकामा यातायातका साधन नहुँदा त्यस क्षेत्रबाट ती सामग्री आउन सकेका छैन । खाद्य वस्तु बजारसम्म पुर्याउन नपाउँदा दूध र तरकारी त्यसै खेर गइरहेको उनीहरुको गुनासो छ । बजारमा अहिले पनि कतिपयले संकटलाई कमाउने अवसरका रुपमा लिन थालेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका माधव तिमिल्सनाले बताए ।

बजारमा अहिले कृत्रिम अभाव सिर्जना गर्ने, सामान मूल्यभन्दा बढीमा बिक्री गर्ने त कतिले अवधि सकिन लागेको खाद्यसामग्रीको बिक्री गरिरहेको पाइन्छ । तरकारी र फलफूल ‘लकडाउन’ पहिलेभन्दा अहिले दोब्बरदेखि तेब्बर मूल्यमा बिक्री हुँदासमेत अनुगमन हुन नसकेको उनले बताए । उनले भने, ‘जनता घरभित्रै थुनिएकाले राज्यले आफ्नो उपस्थिति बढाएर सबैलाई राहत दिनुपर्छ ।’ धेरै ठाउँमा आफ्नो घर नजिकका पसल नखुलेकाले उपभोक्ता टाढाटाढासम्म जान बाध्य भइरहेको तिमिल्सना बताउँछन ।

घर र पसल नजिकै भएका पसलेले सरकारले तोकेको समयमा खोले पनि टाढाबाट आउनुपर्नेले सवारी साधन नहुँदा खोलेका छैनन् । काँठ क्षेत्रबाट मोटरसाइकलमै राखेर दूध, तरकारीलगायत ढुवानी हुने गरेकामा ‘लकडाउन’ का कारण त्यो ठप्प छ । शहरी क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, मजदुर, चालक, सहचालकलगायत दैनिक ज्यालादारी गर्नेहरु मारमा परिरहेको उनले बताए ।

सरकारले गरिब परिचयपत्र वा रासनकार्डको अहिलेसम्म व्यवस्था नगर्दा लक्षित वर्गमा चाहँदा पनि सहुलियत दिन कठिन हुने उनको भनाइ छ । बजारमा अहिले सबैभन्दा अभाव ग्यासको रहेको छ । उनले भने, ‘सरकारले महिनौँसम्म पुग्ने ग्यास छ भनेकाले कतिपयले हतारिएर किनेनन् तर अहिले समस्या परिरहेको छ ।’

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक दीपक पोखरेलले सरकारले ‘लकडाउन’ घोषणा गर्नुभन्दा केही दिन पहिलेबाट तरकारी र फलफूलको मूल्य बढ्न थालेको बताएका छन । बजारमा तरकारी तथा फलफूलको आयात नै कम भएको उनको भनाई छ । देशभित्रै पनि उपत्यका र उपत्यका बाहिरबाट खाद्यान्न ल्याउनका लागि यातायातको असुविधा रहेकाले समस्या भएको उनको भनाई छ ।

आफूले कालीमाटी तरकारी तथा फलफूल बिक्री केन्द्रमा सम्पर्क गर्दा त्यहाँ दैनिक तरकारी र फलफूलको आयात कम रहेको जानकारी पाएको उनले बताए । उनले भने, ‘बाहिरबाट मात्रै होइन नजिकका स्थानबाट पनि यी खाद्यान्न ल्याउन सवारी साधनको समस्या देखिएको छ ।’ विभागले संकटका समयमा आमउपभोक्तालाई पर्न सक्ने समस्या तत्काल सुन्न र सम्बोधन गर्न टोल फ्री नम्बर ११३७ शुरु गरेको छ । यो टेलिफोनमा सबैभन्दा बढी ग्यास, माक्स र सेनिटाइजर नपाएको भनी गुनासो आएका छन् । त्यससँगै तरकारी, फलफूलको अभाव र मूल्यसम्बन्धी गुनासो पनि आउन थालेको उनले बताए/रासस

प्रतिक्रिया दिनुहोस्
MBL