Logo

सुनमा भन्सार वृद्धिको असर, तोलामा २ हजारले बढ्दै

सुनमा भन्सार वृद्धिको असर, तोलामा २ हजारले बढ्दै



काठमाडौं । सरकारले आर्थिक ऐन २०७६ लाई संशोधन गरेर विदेशबाट आयात हुने सुनको भन्सारदर वृद्धि गरेसँगै मूल्य बढ्ने भएको छ । सरकारले सुनमा लाग्दै आएको राजस्वमा प्रति १० ग्राममा १ हजार ५ सय र चाँदी प्रति १० ग्राममा १९ रुपैयाँ भन्सारदर बढाएको छ । यससँगै अबका दिनमा सुन तथा चाँदीको मूल्य बढ्ने सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

laxmi

भन्सारमा भएको वृद्धिसँगै नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढ्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणीरत्न शाक्य बताउँछन् । अन्तरराष्ट्रिय मूल्यमा नेपाली श्रमिकको ज्याला, सिप, भन्सार लगायतका कुराहरु जोड्दा सुन साविकको भन्दा २ हजार रुपैयाँ प्रतितोलाले महङिगने उनको भनाई छ । उनका अुनसार सुनचाँदीमा भन्सारकर बढेसँगै यी दुबैको नेपाली बजारमा मूल्यमा वृद्धि हुने भएको हो ।

सरकारले सुनमा लाग्दै आएको भन्सार मूल्य बढाएसँगै चोरी पैठारी हुन सक्ने सम्बद्ध व्यवसायीहरु बताउँछन् । सरकारले सुनको भन्सार बढाएसँगै नेपाल चेम्बर अफ कमर्सले आगामी दिनमा भन्सार छलीका सुन नेपाली बजारमा भित्रन सक्ने भन्दै सरकारको ध्यानाकर्षण समेत गराएको थियो । सोही अनुरुप अबका दिनमा अवैधानिक तरिकाबाट हुने सुन आयातलाई रोक्न सरकारको बजार अनुगमन तथा नियमनलाई बलियो हुनुपर्ने महासंघका पूर्व अध्यक्ष शाक्यको भनाई छ ।

चोरी पैठारी हुने सुनको व्यापारलाई निस्तेज पार्न सकिए सुनको व्यवसाय पारदर्शी हुने उनले जोड दिएका छन । पछिल्लो समय सुनचाँदीको मूल्यमा घटबढ भईरहँदा बिहीबार सुनको मूल्य ७१ हजार ४ सय रुपैयाँ प्रतितोला पुगेको छ । बुधबारसम्म सुनको मूल्य ७१ हजार २ सय रुपैयाँ कायम थियो ।

सरकारले सुनको भन्सारदर बढाएपनि साविककै दरमा बजारमा खरिद बिक्री भइरहेको महासंघका अध्यक्ष मोहन सुनुवारले जानकारी दिए । भन्सार वृद्धिका कारण बजारमा तत्काल असर नपरेको तर यसले दिर्घकालिन रुपमा प्रभाव पार्ने उनको भनाई छ । ‘पछिल्लो समय मूल्यमा भएको घटबढकै कारण ग्राहकहरुलाई मूल्यले त्यति असर नगर्ने हुनाले गहना किन्नेको संख्या हाल घटेको छैन,’ उनले भने, ‘ सरकारले सुनमा १ हजार ५ सय भन्सार थप गर्दा पनि हाल सुनको मूल्यमा कुनै फरक परेको छैन ।’

यस्तै विदेशबाट फर्केका नेपालीले साथमा ल्याएका सुन तथा सुनका गहनामा पनि भन्सार वृद्धि भएको छ । पहिले ६ हजार २ सय लाग्ने सुनमा अब ७ हजार ५ सय रुपैयाँ भन्सार लाग्नेछ । ७ हजार २ सय रुपैयाँ भन्सार लाग्ने सुनमा ८ हजार ५ सय रुपैयाँ लाग्ने भएको छ । यस अघि ९ हजार रुपैयाँ लाग्दै आएको सुनमा अब १० हजार रुपैयाँ लाग्ने सोमबार प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ ।

आर्थिक ऐन जारी भएको ४ महिनामै संशोधन गरिएको उक्त ऐनमा कपालमा लगाउने कस्मेटिक, ईस्पात मासु लगायतको दरमा पनि कर संशोधन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL