Logo

बसपार्कमा बिचौलियाको कमाईखाने बाटो बन्द भएपछि म माथि प्रहार भइरहेको छ

बसपार्कमा बिचौलियाको कमाईखाने बाटो बन्द भएपछि म माथि प्रहार भइरहेको छ



काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क यसको अव्यवस्थापनका कारण लामो समयदेखि आलोचित हुँदै आएको छ । फोहोरमात्र होइन आसपासका टहराले यसको देशैकै ठूलो बसपार्क बदनाम थियो । पछिल्लो समय यसमा सुधारका प्रयास भने अगाडी बढीरहेको छ । यद्यपि काठमाडौं महानगरले यसको सुधारको जिम्मा दिएको ल्होत्से बहुउद्देश्य प्रालिको कामका विषयमा एक किसिमको आलोचना सुरु हुन थालेको छ । यसै सेरोफेरोमा ल्होत्सेका अध्यक्ष दिपक कुँबरसँग बिजखबरका रामराजा श्रेष्ठले गरेको कुराकानीको :

बसपार्क र दिपक कुँवरसँग जोडिएर पछिल्लो समय धेरै विवाद आएको छ । यसको वास्तविकता के हो ?

सर्बप्रथम बसपार्क के हो भनेर बुझ्नु आवश्यक छ । बसपार्कको १६१ रोपनी जग्गा काठमाडौ महानगरपालिकाको नाममा छ । विधि र प्रक्रिया अनुरुप २०५६ सालमा बुट मोडलमा संचालन गर्न ल्होत्से र महानगरबीच ४५ बर्षको लागि सम्झौता भएको थियो । तर ल्होत्सेमा म थिईन । तत्कालिन समयमा बसपार्कको गुरुयोजना बनाएर सोही अनुरुप संचालन गर्ने विषयमा सम्झौता भएको थियो । गुरुयोजना अनुरुप बसपार्कमा जे जे संरचना बन्छ ४५ बर्षपछि स्वतः महानगरपालिकाकै हुनेछ । तर २०६२ सालदेखि २०६६ सालसम्म विभिन्न व्यक्तिहरुले बसपार्कको विषयलाई लिएर सम्मानित सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । अख्तियारले छानविन गर्दा केहि त्रुटिहरु देखिएपछि २०६६÷९÷९ मा महानगरलाई तिर्ने रकम बढाउन, त्यहाँ भित्र रहेका पानीका ट्याङकर हटाउन, टहरा हटाउन तथा गुरु योजना अनुरुप निर्माण र पुरक सम्झौता गरी संचालन गर्न निर्देशन दिएको थियो । त्यसबेलाका संचालकहरुले महानगरलाई तिर्नुपर्ने बाँकी रकम तिर्न नसक्दा पुरक सम्झौता हुन सकेको थिएन भने तत्कालिन समयको राजनीतिक अस्थिरताले बसपार्क पनि राम्रोसँगै संचालन हुन सकेको थिएन ।

बसपार्क भित्र विभिन्न राजनीतिक दलको नाममा अनाधिकृत रुपमा ७/८ सय टहरा बनाएर आफुखुशी संचालन गर्दै आएका थिए । त्यसबेलाको राजनीतिक अस्थिरताका कारण ल्होत्सेका संचालकहरुले टहरा संचालन गर्नेमाथी केही बोल्न सकेका थिएनन् । सोही कारणबाट त्यतिबेलाका संचालक असफल भए भने बसपार्क पनि अस्तव्यस्त हुन पुग्यो । संचालकहरुको लगानी पनि डुब्ने अवस्थामा पुगेको थियो । जसका कारण महानगर र ल्होत्सेबीच पुरक सम्झौता हुन सकेको थिएन । सोही अवस्थामा बसपार्क संचालनको लागि म कहाँ प्रस्ताव आयो । त्यतिबेला मैले मुनाफाभन्दा पनि राज्यको केन्द्रमा रहेको एउटा बसपार्क व्यवस्थित र नमुनाको रुपमा संचालन गर्ने उद्देश्य अनुरुप आफुले लिएर संचालन गर्ने निर्णयमा पुगे ।

आफुले पढेको ज्ञानसिप र कामको अनुभवको आधारमा बसपार्कलाई केही व्यस्थित गर्छु भन्ने उद्देश्यसहित मैले बसपार्कको व्यवस्थापन सम्हाले । यहाँ कतिपयको प्रश्न उठ्न सक्छ के सामाजिक उत्तरदायित्वको लागि नै बसपार्कको व्यवस्थापन सम्हालेको हो त ? पक्कै पनि होइन । तर, मैले गर्दै आएको अन्य व्यवसायमा जति नाफा हुन्छ बसपार्क व्यवस्थापनमा त्यो हुँदैन । आफुले पनि सामान्य कमाई गर्ने र राज्यलाई पनि योगदान दिने उद्देश्य अनुरुप मैले बसपार्क संचालनको जिम्मा लिएको हुँ र सोही अनुरुप संचालन गर्दै आएको छु । मैले बसपार्क संचालनको जिम्मा लिँदा त्यसअघिका संचालकले बक्यौता राखेको रकम तिर्नुपर्ने, गुरु योजना अनुरुप ५ बर्षभित्र सबै संरचना निर्माण र संचालन गर्नुपर्ने प्रावधान राखिएको थियो । त्यतिबेला मैले ठूलो आँट गरी सबै सर्तहरु स्विकार गर्दै महानगरसँग पुरक संझौता गरे । मैले बसपार्कको व्यवस्थापन सम्हाल्दा त्यहाँ धेरै ठूलो लगानी गर्नुपर्ने थियो । त्यसका लागि विभिन्न बैंकहरुसँग छलफल गरे । मेरो क्षमता, काम गर्ने शैली विगतका इतिहास हेरेर बैंकहरुले पनि म माथि लगानी गर्न तयार भएर सोही अनुरुप निर्माण भइरहेको छ ।

यस्तो असफल भएको बसपार्कलाई मेरो नेतृत्वमा सफल बनाउन सके भने राज्यमाथी मेरो योगदान हुनुका साथै सम्मान पनि पाइन्छ भनेर ठूलो आर्थिक जोखिम लिँदै बसपार्क संचालन गर्ने निर्णय गरेको हुँ । तर, बसपार्कमा पहिला बिचौलियाहरुले टिकट काउण्टरदेखि सार्वजनिक स्थान कब्जा गर्दै अनाधिकृत रुपमा करोडौं कमाउँदै आएका थिए । तर, म आएपछि त्यसलाई हटाएर व्यवस्थित रुपमा संचालन गर्न सफल भए । विना लगानी लाखौ करोडौं रुपैयाँ कमाउने सपना देखेका विचौलियाहरुलाई मैले नेपाल सरकार र नेपाल प्रहरीको सहयोगमा त्यहाँबाट हटाउन सफल भए । उनीहरुले मसँग विभिन्न समयमा बार्गेनिङ गरे । तर, म नेपाल सरकारको नियम कानुनअनुरुप चलेका हुनाले त्यस्ता विचौलियासँग झुकिन । उनीहरुको स्वार्थसिद्ध नभएपछि म माथी मिडियाबाजी तथा अनेक खालका प्रहार गर्दै आएका छन् ।

म राज्यको नियम कानुनको परिधिभित्र रहेर काम गर्ने व्यक्ति, तसर्थ मलाई न कसैसँग आस छ न त त्रास नै । म राज्य र कानूनसँग डराउछु किनकि नियम अनुसार काम गर्छु । म भिजन र मिसनका साथ हिडेको व्यक्ति हुँ । विचौलिको गलत प्रचारबाजीले कुनै असर गर्नेछैन । अहिले विचौलियाहरुले केही मिडियामा गलत सूचना दिँदै मेरो विरुद्धमा अनावश्यक प्रचारबाजी गर्दै आएका छन् । मलाई विश्वास छ, समय आएपछि यस विषयमा स्पष्ट हुन्छ र मिडियाहरुले पनि सत्यकै पक्षमा लेख्नुहुनेछ ।

तपाईकै भनाईमा वा गुरुयोजना अनुरुप बसपार्क भित्र ल्होत्से भवन बन्दै छ । उक्त भवन पनि गैरकानूनी रुपमा बनाइयो भन्ने आरोप छ नि ?

विचौलालियाहरुले यो भवन बन्न हुँदैन भनेर उच्च अदालत र सर्वोच्च अदालतमा मुद्दा हाले । तर सम्मानित अदालतले सबै कागजातको आधारमा भवन भन्नुपर्छ भनेर महानगरपालिकाको पक्षमा फैसला गरेको छ । अदालतको कठघरामा पनि विचौलियाहरु असफल भए । सर्वोच्च अदालतले बसपार्क महानगरको सम्पति भएको र गुरुयोजना अुरुप ल्होत्सेसँग भएको सम्झौता अनुरुप निर्माण गर्न मिल्ने भन्दै फैसला गरेको छ । तर दुःख दिनलाई अहिले पनि विचौलियाहरुले मुद्दा हालिराखेका छन् । पछिल्लो समय विचौलियाहरुले सर्वोच्च अदालमा हालेका ४ वटा मुद्दा पनि हामीले जितिसक्यौ । अहिले अतिक्रमण गरियो भन्ने विषय उठान गरेका छन् ।

बसपार्कको १६१ रोपनी जग्गामध्ये हालसम्म १२/१३ प्रतिशतभन्दा कम जग्गामा मात्र पूर्वाधार निर्माण गरिएको छ । ८५ प्रतिशतभन्दा बढी जग्गा पार्किङको लागि प्रयोग भइरहेको छ । यहाँ अतिक्रमण भन्ने शब्द कसरी आयो त्यस विषयमा मलाई नै थाहा छैन । हाल निर्माण भइरहेको ल्होत्से मल २०५६ सालको गुरु योजनाका आधारमा बसपार्कको आवश्यकता अनुरुप नै निर्माण गरिएको छ । त्यतिबेलाको डिजाईन र महानगरपालिकाबाट नक्सा पास गरेर निर्माण गएिको छ । यो राताराता पालले छोपेर बनाईएको भवन होइन । जसको शिलान्यास नै तत्कालिन प्रधानमन्त्री केपी शर्माओलीले गर्नुभएको थियो । यो नगरपालिकाको जग्गामा नियम कानून अनुरुप नै बनेको छ । अहिले विचौलियाहरुले भवनको विषयलाई लिएर जुन हल्ला फैलाईरहेका छन् यो सत्य होइन ।
हामीले २०७२ सालमा विनाशकारी ठूलो भुकम्प आईसकेपछि अझ मजबुत तवरले भवन निर्माण गरेका छौं । नेपालमा अहिलेसम्म बनिरहेको भवनमध्ये सबैभन्दा भुकम्पप्रतिरोधी भवन हो यो । मलाई लाग्छ काठमाडौंमा निर्माण भएका भवनमध्ये यो पनि एउटा उत्कृष्ट छ ।

त्यतिबेलाको गुरुयोजना र बसपार्कको आवश्यकता अनुरुप ल्होत्से भवन निर्माण गएिको भन्नुभयो । यो भवनले बसपार्कको केकस्ता आवश्यकता पुरा गर्छ र एउटा यात्रुलाई के सुविधा थपिन्छ ?

बसपार्क भनेपछि सबै कुराले सुविधा सम्पन्न हुनुपर्छ । यसभित्र नुहाउने, खाने, बस्ने, फुर्सदको समयमा मनोरञ्जन गर्ने, फिल्म हेर्ने, सपिङ गर्नेदेखि लिएर बगैंचामा बसेर आराम गर्नेसम्म । बसपार्कको ल्होत्से मलभित्र फिल्म हल, रिक्रिएशन सेन्टर, सपिङ मल, फुडकोर्ट र यात्रुको टाईम पासका लागि सोही अनुरुपको मनोरञ्जन स्थलहरु बनाइएको छ । बसपार्कमा आउने चालक, सहचालकदेखि यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै भवन निर्माण गरिएको छ । २०५६ सालको जुन खालको गुरुयोजना बनाईएको थियो सोही अनुरुप नगरपालिकाबाट स्वीकृति लिएर बनाइएको छ ।

तपाईले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयकै उच्च पदस्थसँगको साठगाँठमा बसपार्क भित्र गैर कानूनी काम गर्नुभयो, पावर एक्सरसाईज गर्नुभयो भन्ने आरोप पनि छ नि ?
समयसमयमा केही मिडियाहरुले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठसँग मेरो नाम जोडेर बदनाम गर्न खोजेका छन् त्यो सरासर गलत हो । म व्यवसायी भएको नाताले विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सरकारी अधिकारीहरुसँग चिनजान हुनु स्वभाविक हो । चिनजान हुँदैमा संंलग्नता हुन्छ भन्ने हुँदैन । बसपार्कमा भौतिक पूर्वाधार मन्त्री महासेठको कुनै संलग्नता छैन । उहाँले मलाई सहयोग गर्नुपर्ने आवश्यकता पनि छैन भने उहाँसँगको पहुँचको आधारमा मैले गलत काम गर्नुपर्ने आवश्यक पनि छैन । यो बसपार्क मैले लिँदा रामप्रताव पंजियारको नाममा थियो । उहाँको नामबाट २०७१ सालमा म लगायत मेरा ग्रूपको नाममा सेयर हस्तान्तरण भएको छ । तसर्थ बसपार्कको विषयलाई लिएर मन्त्रीज्यूसँग कुनै संलग्नता छैन । उहाँको नामसँग जोडेर बदनाम गर्न मात्र खोजिएको छ ।

२०५६ सालमा बसपार्कको जसरी गुरुयोजना बनाइएको थियो त्यस अनुसार बसपार्क धेरै साँघुरो भइसकेको छ । अवका दिनमा यसलाई कसरी विस्तार गर्ने योजना बनाउनु भएको छ ?


यो प्रश्न एकदमै पेचिलो बन्दै गएको छ । यो बसपार्क आजभन्दा २० बर्ष अघि कल्पना गरिएको थियो र सोही अनुरुप गुरुयोजना बनाईएको थियो । बसपार्कको निमार्णकार्य सम्झौता अनुरुप एक बर्षभित्रै सम्पन्न गर्दैछु । यो निर्माण सकिएपछि देशविदेशको अनुभव र अध्ययन गरेर बसपार्क विस्तारको लागि सरकारलाई प्रस्ताव पठाउने तयारी गरेको छु । अहिले विभिन्न ठाउँमा अनाधिकृत रुपमा बसपार्कको रुपमा प्रयोग भइरहेको छ । उदाहरणका लागि कलंकी, कोटेश्वर, सातदोबाटो, गौशाला, जोरपाटीजस्ता स्थानमा अनधिकृत रुपमा बसपार्कको रुपमा प्रयोग हुँदै आएको छ । रिङरोडको आसपासका जथाभावी रुपमा बसपार्क भइरहेको छ ।

अहिले यात्रुहरुलाई कहाँबाट जाने बस कहाँबाट चढ्ने, कहाँ रोक्छ भन्ने अन्यौलता छ । मेरो भिजन अनुसार सरकारले स्वीकृति दिन्छ भने यस बसपार्कभन्दा ३/४ किलोमिटर आसपासमा बसपार्किङ बनाउने योजना छ । हाल भइरहेको बसपार्कलाई अराईभल र डिपार्चरको रुपमा मात्र प्रयोग गरिनेछ । यसमा सरकारको जग्गा वा निजीक्षेत्रबाटै खरिद गरेर भएपनि बनाउन सकिन्छ । यसबाट देशभरबाट आएको बसको चाप यो बसपार्कले धान्न सक्छ । कुनै पनि बस आफ्नो गन्तव्यमा जानुभन्दा एक डेढ घण्टा बसपार्कमा आउँछ र यात्रु लिएर आफ्नो गन्तव्यतर्फ जान्छ । जहाँ बसपार्किङ बनाइन्छ त्यहाँ चालक तथा सहचालकको लागि खाने बस्ने सुविधा, सर्भिसिङ सेन्टर, मनोरञ्जन गर्ने स्थलसहितको निर्माण गर्ने योजना बनाइने छ ।

केही समय अघि ल्होत्से बहुद्देश्यीय प्रालिले यात्रुको सुविधाको लागि रिङरोडमा विद्युतीय बस संचालन गर्ने पनि घोषणा गरेको थियो । यो प्रक्रिया कहाँ पुग्यो ?

यो विषयमा धेरै साथीहरुको रायसुझाव आएको छ । अहिले यात्रुहरुलाई विभिन्न रुटबाट बसपार्कमा आउन कठिन भइरहेको छ । नेपाल सरकारको उद्घोष र यात्रु सहजताका लागि रिङरोडमा विद्युतिय बस संचालन गर्ने योजना बनाएका हौं । यस संस्थाले करिब आधा दर्जन विद्युतिय बस खरिद गरेर रिङरोड घुमाउने ताकि यात्रुहरु सहज रुपमा बसपार्कमा आवतजावत गर्न सकुन । यसका लागि विभिन्न रुटहरुमा विहान ४ बजेदेखि बेलुकी १२ बजेसम्म संचालन गर्ने योजना छ । यो नाफाभन्दा पनि बसपार्कमा आउने यात्रुको लागि सुविधा दिन संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत संचालन गर्दैछौं ।

तपाईले भन्नु भयो बसपार्कमा धेरै सुधार भएको छ । तपाईले व्यवस्थापन सम्हाल्दा बसपार्क कुन अवस्थामा थियो अहिले कस्तो भयो ? आफ्नो काममा कत्तिको सन्तुष्टि छ ?

हामीले सोचेको बसपार्क राम्रो र सुरक्षित होस भन्ने हो । जहाँ २४ सै घण्टा बालबच्चा तथा महिलाहरु एक्लै जादा पनि सुरक्षित महशुस गर्न सकुन । कुनै पनि साधारण मान्छे टिकट काट्न जाँदा विचौलियाको हातमा नपरोस आफैले सहज रुपमा टिकट लिन सकुन नठगियोस भन्ने हो । मैले बसपार्कको व्यवस्थापन सम्हालेपछि ९० प्रतिशत खराब तत्वहरुलाई हटाईसके । त्यहाँ भित्र अव्यस्थित रुपमा निर्माण गरिएका टहरा, पसलहरु हटाउन सफल भएको छु । टिकट बिक्रीमा हुने दादागिरी र कार्टेलिङको अन्त्य भएको छ । जथाभावी रुपमा हुने मदिरा सेवन तथा विक्री वितरणलाई पूर्ण बन्देज लगाएको छ । हाल बसपार्कमा भइरहेको कामबाट म पूर्ण रुपमा सन्तुष्ट छु भने अबको एक बर्षभित्र सम्झौता अनुरुप सबै निर्माणकार्य पनि सम्पन्न गर्नेछु ।

प्रतिक्रिया दिनुहोस्
MBL