Logo

“सर्वसाधारण लगानीकर्तालाई भर्याङ बनाएर आफू मात्रै कमाउने हाम्रो उद्देश्य होइन”

“सर्वसाधारण लगानीकर्तालाई भर्याङ बनाएर आफू मात्रै कमाउने हाम्रो उद्देश्य होइन”



एक दशक अघि दुई बैंकका ३/३ सय कित्ता प्राथमिक सेयर खरिद गरेर पूँजी बजारमा प्रवेश गरेकी राधा पोखरेल अहिले १५ लाख लगानीकर्ताको हकहितका लागि सेयर शिक्षाको अभियानमा छिन् । आफ्नै नेतृत्वमा नेपाल पूँजीबजार लगानीकर्ता संघमार्फत प्रदेशदेखी जिल्लास्तरमा सेयर शिक्षा पुर्याउन छुट्टै पाठ्यक्रम नै उनले तयार पारेकी छन् । सेयरबाट गुमाउने होइन कमाईन्छ भन्ने सोंचसहित उनी आफुले बजारलाई होइन बजार अनुसार आफु चल्न सक्नुपर्ने बताउँछिन् । नेपालका सानादेखी ठूला लगानीकर्ताहरुको हकहितका लागि जिल्ला दौडाहामा लागेकी पोखरेलसँग बिजखबरका रामराजा श्रेष्ठले गरेको कुराकानीको सार:

लगानीकर्ताको हकहितका लागि यसअघि नै दुई संस्था अस्तित्वमा छन् । एउटै प्रकृतिका दुई संस्था हुँदाहुँदै फेरी अर्को छुट्टै स्थापना गर्नुपर्ने कारण किन ?

नेपाल पूँजीबजार लगानीकर्ता संघ आजभन्दा दुई बर्ष अघि स्थापना भएको हो । तर, विधिवत रुपमा हालै मात्रै दर्ता गरेका हौं । तर, यस संघ स्थापनाको उद्देश्य अन्य संस्थाको भन्दा फरक छ । हाम्रो काम पूँजी बजार ओरालो लाग्दा नियामकलाई झक्झक्याउने र बढ्दा चुप लागेर बस्ने होइन । हामीले नीति निर्माता तथा सरोकारवालालाई झक्झक्याउने देखि साधारण लगानीकर्तामा सेयर सम्बन्धी जनचेतना फैलाउने काममा निरन्तर रुपमा लागि रहने छौं ।

अर्को कुरा यस अघि भएका दुई वटा संघले पूँजी बजार वृद्धि र विकासका लागि लगानीकर्तालाई समय समयमा झक्झक्याई रहनु भएको छ । तर, हाम्रो उद्देश्य अलि बृहत छ । हामीले लगानीकर्तामा सेयर शिक्षा भन्ने छुट्टै कार्यक्रम लिएर गाउँगाउँमा जान थालेका छौं । जुन कुरा अन्य संघले गरेका छैनन् । सेयर शिक्षालाई देशका ७ प्रदेश र ७७ वटै जिल्लामा पुर्याउने लक्ष्य सहित यो संघको नेतृत्व सम्हालेकी हुँ ।

सेयर शिक्षाको तयारी कस्तो छ ?

अहिलेसम्म हामीले कुनै कोर्स डिजाईन गरेका छैनौं । पहिले त हामीले ७ प्रदेश र ७७ वटै जिल्लामा यो संघ र स्थपनाको औचित्यको बारेमा बुझाउनु जरुरी छ । यसका लागि मोफसललाई लक्षित गरी २ नम्बर प्रदेशमा पहिलो कार्यक्रमको आयोजना गर्यौ । हामीले ७ वटै प्रदेशमा मुख्य मन्त्रीलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्दै छौं । हाम्रो लक्ष्य सेयर बजारको दायरालाई संकुचित नभई फराकिलो बनाउनु हो ।

सर्वप्रथम हामीले सबै प्रदेश र जिल्लामा सेयर बजार र हाम्रो संघको काम र कर्तव्यको बारेमा बुझाउने छौं । जिल्ला केन्द्रित सेयर शिक्षाका लागि पनि हामीले विशेषज्ञ सहितको समुह गठन गरेर छुट्टै पाठ्यक्रम बनाउने तयारी गर्दैछौं । दोस्रो चरणमा उक्त पाठ्यक्रम लिएर गाउँगाउँमा सेयर शिक्षाको बारेमा बुझाउन जानेछौं ।

Radh Pokharel

सेयर शिक्षाका नाममा यसअघि भएका कार्यक्रमपछि केही व्यक्तिले सेयर पनि किने । तर, अल्पज्ञानका कारण धेरैले कमाउनुको सट्टा गुमाएको गुनासो गरे । कतै तपाईहरुको सेयर शिक्षा पनि त्यस्तै हुने त होइन ?

बजारबाट कमाउनु र गुमाउनु स्वभाविक प्रक्रिया हो । सेयर बजारबाट जान्नेले कमाउने नजान्नेले गुमाउने भन्ने हुँदैन । पछिल्लो २ बर्षको ट्रेण्ड हेर्ने हो भने सबैजसो लगानीकर्ताले गुमाउनु भएको छ । गत बर्षमात्रै सेयर बजारमा २३ प्रतिशतको गिरावट आएको छ भने कारोबार रकममा पनि त्यसै अनुसार घटेको छ । अघिल्लो आर्थिक बर्षमा १८ खर्ब ५६ अर्ब रहेको सेयर बजारको पूँजीकरण गत आवमा आईपूग्दा घटेर १४ खर्ब ३५ अर्बमा सिमित भयो । घट्दो बजारमा नजान्ने लगानीकर्ताले मात्र गुमाए भन्ने होईन । उतारचढाव भएको बजारमा कसैेले कम गुमाए होला कसैले धेरै तर समग्रमा सबै लगानीकर्ताले गुमाएका छन् । कमाउने र गुमाउने मार्केटको ट्रेण्डमा निर्भर गर्छ ।

यस अघि सेयर लगानीकर्ताको हकहितका लागि खुलेको संस्थाहरुको काम हेर्ने हो भने बजार घट्दा सबैलाई उचालेर आन्दोलनमा लैजाने तर तिनै लगानीकर्तालाई थाहै नदिई आफुसँग भएको सेयर बेचेर निस्कने गरेका छन् । कतै यो संघको काम पनि त्यस्तै त होइन ?

हाम्रो संस्थाबाट त्यस्तो काम कदापि हुँदैन । हामीले बजार बढ्दा होस वा घट्दा नियामक र नीति निर्मातालाई घच्घच्याउन छोड्दैनौं । म यस संस्थाको अध्यक्ष भएर आएसँगै अर्थ मन्त्री, राजस्व सचिव तथा नेपाल राष्ट्र बैंकका गभर्नरलाई भेटेर पूँजी बजार सम्बन्धी समस्याका बारेमा अवगत गराएका छौं । यसैगरी पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सेयर बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत गर्यौ । प्रदेश र जिल्लामा पनि काम गर्दै छौं ।

तर, लगानीकर्ता साथीहरु पनि बजार घट्दा मात्र यस्ता संघ संस्थामा कराउन आउनुहुन्छ । यदि पूँजी बजारमा लगानी गर्ने हो लगानीकर्ता साथीहरु सदैव चनाखो हुनु जरुरी छ । म नारी भएको कारणले पनि हरेक घरको गृहीणीहरु माझ सेयर सम्बन्धी शिक्षा पुर्याउने प्रणका साथ अघि बढेका छु । यो संस्था सर्वसाधारण लगानीकर्तालाई भर्याङ बनाएर आफु मात्र कमाउने उद्देश्य लिएर अघि बढेको छैन । समग्रमा सबैको हित न यो संस्थाको हित हुनेछ ।

लगानीकर्तालाई तपाइहरुको संस्थाको औचित्य के ?

यस संस्थाले साना लगानीकर्ता र ठूला लगानीकर्ता भनेर छुट्याउँदैन । यसको दायित्व समग्र १५ लाख लगानीकर्ताको हकहितका लागि काम गर्ने हो । साना लगानीकर्ता र ठूला लगानीकर्ताका लागि छुट्टा छुट्टै नीति नियम भन्ने हुँदैन । केही समय अघि हाम्रो संस्थाले अर्थ मन्त्री र राजस्व सचिवलाई भेटेर सेयर बजार सम्बन्धी समस्याका बारेमा आफ्ना कुरा राख्यौं समाधान गरिदिन आग्रह गरेका छौं । यदि यस्ता विषय कार्यान्वयनमा आएमा समग्र लगानीकर्ताको हित गर्ने छ । यसले साना ठूला छुट्याउने छैन ।

साना लगानीकर्ताको लागि तपाईहरुले कुनै विशेष योजना ल्याउँदै हुनुहुन्छ की ?

विशेष त त्यस्तो लगानीकर्तालाई सेयर सम्बन्धी शिक्षा प्रदान गर्नका लागि नै हाम्रो संस्थाको स्थापना भएको हो । अहिले समस्यामा परेका साना लगानीकर्ताहरु हामीसँग जोडिन आउनु भएको छ भने धेरै ठाउँबाट हाम्रो सदस्य बन्नका लागि सोधीखोजी पनि भइरहेको छ । कुनै बेला नेप्से परिसुचक १८८१ अंकमा हुँदा हामी बजारमा थियौं भने अहिले घटेर १२ सयको हाराहारीमा हुँदा पनि यहि बजारमा टिकिरहेका छौं ।

तर, बजार उच्च घट्दैमा सबै बेचेर निष्कने र बढ्दा हौसियर किन्ने गर्नु हुँदैन । साधारण र गाउँका लगानीकर्ताका लागि भनेर हामीले छुट्टै पाठ्यक्रम तयार गर्दैछौं । जसले सबै खालका लगानीकर्तालाई सेयर बजार सम्बन्धी जानकारी दिनेछ ।

यो हप्ता नेप्से परिसुचकमा लगातार दोहोरो अंकको वृद्धि भएको छ । अहिले बजारको साधारण प्रकृति अनुसार नै बढिरहेको छ कि यसमा तपाईहरुको पनि भुमिका केहि छ ?

बजार आफ्नो सिद्धान्त अनुसार नै चलिरहेको छ । अहिले बजार बढ्नुमा सबै कुराको कम्बिनेशन मिल्दै आएको छ । अब सबै कम्पनीहरुले गत आर्थिक बर्षको नाफाबाट लाभांस घोषणा गर्ने बेला भएको छ भने बैंकहरुले पनि कर्जाको ब्याजदर क्रमश घटाउँदैछन् । पछिल्लो समय बजारमा तलरतामा पनि केही सहजता भएको छ । बैंकहरुले केही सहज रुपमा सेयर कर्जा दिन थालेका छन् । यसैगरी नेपाल राष्ट्र बैंकले पनि भर्खरे एकिकृत निर्देशिका जारी गर्दै सेयर कर्जाको जोखिम भार घटाएको छ । यो पूँजी बजारको लागि सकारात्म पक्ष हो जुन हामीले पटक पटक माग राख्दै आएका थियौं । यस अघि १५० प्रतिशत रहेको लगानीको जोखिम भार भर्खरै मात्र निर्देशिका जारी गर्दै १०० प्रतिशतमा झारिएको छ । यसले अबका दिनमा बजार बढाउन थप सहयोग पुग्नेछ । नेपाली पूँजी बजारको ट्रेण्ड हेर्ने हो भने पनि भदौं, असोज कात्तिकमा बजार उकालो लाग्ने गरेको छ ।

अहिले नेपालको सेयर बजारको विषयमा नीति निर्मातादेखि लगानीकर्ता समेत अन्यौलमा छन् । बोनस र हकप्रद सेयरको लाग्ने करको विषयमा अझै टुङगो लागेको छ्रैन । त्यसो विषयमा केही समय अघि अर्थमन्त्रीलाई भेटेर सो विषयमा जानकारी गरायौं । यस विषयमा उहाँले लगानीकर्ताहरुलाई राखेर चाडै समाधान गर्ने बताउनु भएको छ । यस्तै बैंकहरुलाई ब्रोकर लाईसेन्स दिनका लागि सम्बद्ध निकायले निर्देशन दिने बताउनु भएको छ । यी सबै सकारात्मक कुराले गर्दा पछिल्लो समय बजार उकालो लागेको छ र सेयर किन्ने बेला पनि यही हो ।

नेपालको सेयर बजारमा समयसमयमा ठूलो उतारचढाव आईरहेको छ । तपाईको डेढ दशकको अनुभवको आधारमा यसरी ठूलो उतारचढाव आउनुका कारण के रैछन् ?

पहिलो विषय त राजनीतिक अस्थिरता नै हो । उदाहरणका लागि चुनाव अघि नेपाली कांग्रेस नेतृत्वको सरकारले वामगठबन्धनको सरकार आएपछि सेयर बजार धराशयी हुन्छ भनेर हल्ला फैलायो । उक्त हल्लालाई चिर्न वामगठबन्धनले आफ्नो नेत्तृवको सरकार आएमा पूँजी बजार वृद्धि विकासको लागि नीतिगत परिवर्तन गरी बजार उकास्ने योजना ल्याए । त्यसको पछि लागेर धेरै लगानीकर्ता बजारमा होमिए । तर, सरकारमा आएपछि ठिक त्यसको विपरित कस्ने काम भयो । यसको मतलब राजनीतिक नेतृत्व तथा नीति निर्माता माथी लगानीकर्ताको विश्वासको संकट सिर्जना भयो ।

सेयर बजार भनेको लगानीकर्ताको मनोविज्ञाजमा चल्ने गर्छ । यदि सरकारले उनीहरुको मनोविज्ञानमा असर पार्ने काम गर्यो भने पक्कै पनि ठुलो उतारचढाव आउँछ र अहिले नेपाली सेयर बजारमा भइहेको पनि त्यहि नै हो ।

अहिले बजारमा मागको तुलनामा सप्लाई एकदमै बढी छ । राष्ट्र बैंकले ल्याएको बैंक तथा वित्तीय संस्थाको पूँजी वृद्धि योजनाले पनि बजारमा सेयरको हिस्सा बढ्न पुग्यो । २ अर्ब पूँजी भएका बैंकको पूँजी एकैपटक ८ अर्ब पुग्यो । पूँजीको आकार ठूलो हुँदा पक्कै पनि त्यसले दिने प्रतिफल घट्ने भयो । अर्कोतर्फ नेपालको पूँजी पलायन भइरहेको छ । केही समय नेपाली पूँजी बजारमा भएको लगानी अहिले बाहिरिएको छ । बजारमा सेयरको फ्लो बढ्ने, नेपाली पूँजी पलायन हुने, बजारमा तरलता अभाव, उच्च ब्याज, नीति निर्मार्ता सहजीकरणको सट्टा अझ कसिलो नीति लिने अनि कसरी हुन्छ पूँजी बजारको विकास ? त्यसैगरी अबका दिन मार्केट मेकरको रुपमा नागरिक लगानी कोष तथा कर्मचारी संचय कोषले पनि काम गर्ने वातावरण बनाउनु जरुरी छ । त्यसो भएमा दैनिक वा क्षणिक रुपमा हुने उच्च उतारचढाव न्युनिकरण गर्न सहयोग पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL