Logo

एकैदिन १ लाख ६ हजार बढी संक्रमित थपिएपछि डब्ल्युएचओले भन्यो, ‘कोरोना अन्त्य हुन गाह्रो छ’

एकैदिन १ लाख ६ हजार बढी संक्रमित थपिएपछि डब्ल्युएचओले भन्यो, ‘कोरोना अन्त्य हुन गाह्रो छ’



काठमाडौं । विश्व स्वास्थ्य संगठनले भने तत्काल कोरोना भाइरस संक्रमण अन्त्य नहुने चेतावनी दिएको छ । विश्वमा कोरोना भाइरसको संक्रमण बढ्नुको सट्टा झनझन् बढेको भन्दै डब्ल्युएचओले कोरोना महामारी अन्त्य हुन निकै लामो समय लाग्ने देखिएको बताएको छ । विश्वमा कोरोना संक्रमितको ग्राफ बढिरहेको बताउँदै महामारी अन्त्य हुन निकै समय लाग्ने देखिएको डब्लूएचओका महानिर्देशक डा। टेडरोज आध्यनोम गेब्रेयेसोसले बताएका छन् ।

अमेरिकामा कोरोनाविरुद्ध मानिसमा गरिएको खोपको प्रारम्भिक नतिजा सफल आएको सुखद समाचारले विश्वलाई कोरोना महामारीबाट मुक्ति मिल्ने आशा जागिरहेका बेला डब्ल्यूएचओको यस्तो चेतावनीले थप निराश बनाएको छ ।

‘पछिल्लो २४ घण्टामा डब्लूएचओलाई प्राप्त तथ्यांकअनुासर विश्वमा एक लाख ६ हजार नयाँ केस थपिएका छन्, यो एकै दिन थपिएको संक्रमितको संख्या अहिलेसम्मकै धेरै हो,’ बुधबारको पत्रकार सम्मेलनमा डा। टेडरोजले भने, ‘झण्डै दुई तिहाइ केस त मात्रै चार देशका हुन् ।’

उनका अनुसार पछिल्ला दिनमा कम तथा मध्यम आय भएका देशमा कोरोना संक्रमण बढ्दै गएको छ । विश्वभरमा दुई हप्तामै झण्डै १० लाख संक्रमित थपिएको डब्लूएचओले जनाएको छ ।

बुधबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको डब्लूएचओले जनाएको छ । उसका अनुसार पछिल्लो २४ घण्टामा विश्वका एक लाख ६ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

अझ विज्ञहरूले धेरै देशमा पर्याप्त परीक्षण नभएकाले संक्रमण पुष्टि हुन नसकेकाले संक्रमितको वास्तविक संख्या योभन्दा धेरै हुन सक्ने अनुमान गरेका छन् ।

बिहीबार बिहान ९ बजेसम्म वर्ल्डओमिटरको तथ्याङ्कअनुसार विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५० लाख ८५ हजार ५ सय पुगेको छ । जसमध्ये ३ लाख २९ हजार ७३१ जनाको मृत्यु भएको छ भने २० लाख २१ हजार ६६६ जना निको भएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL