Logo

नागढुङ्गा नौविसे सुरुङमार्गको टाईमलाईन मंसिर पहिलो हप्तादेखि सुरु, मुआव्जा विवाद सल्टाउने जिम्मा मन्त्रिपरिषदलाई

नागढुङ्गा नौविसे सुरुङमार्गको टाईमलाईन मंसिर पहिलो हप्तादेखि सुरु, मुआव्जा विवाद सल्टाउने जिम्मा मन्त्रिपरिषदलाई



काठमाडौं । नागढुङ्गा नौविसे सुरुङमार्ग बनाउने जिम्मा पाएको जापानी कम्पनीको टाईमलाईन मंसिर पहिलो हप्तादेखि सुरु हुने भएको छ । नेपाल सरकार र जापानी कम्पनी हाज्मा आन्दोबीच भएको सम्झौता अनुसार अबको २ हप्तापछि ४२ महिनामा निर्माण सम्पन्न गरिसक्ने मिति सुरु हुने भएको हो ।

गत असोज ६ गते उक्त जापानी कम्पनी र सरकारबीच ४२ महिनामा सुरुङमार्गको निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । सोही सम्झौता अनुसार निर्माण कम्पनीले भने आफ्नो सामान ओसार्न थालिसकेको आयोजना प्रमुख श्याम खरेलले जानकारी दिए । उनका अनुसार अबको २ हप्तापछि काम नै सुरु गर्नेगरी कम्पनीले सामान ओसार्न र निर्माणस्थलमा बस्नका लागि टहरा बनाउन थालेको छ ।

यस्तै उक्त सुरुङमार्ग निर्माणमा बाधा पुर्याईरहेको धादिङतर्फको जग्गाको मुआव्जाको टुङ्गो भने लागिसकेको छैन । धादिङका स्थानीयहरुले जग्गाको मुआव्जामा किचलो गर्दा मन्त्रिपरिषदको निर्णयबाटै उक्त जग्गाको मुआव्जा वितरण गर्ने आयोजनाको योजना छ ।

उक्त विवादको हाल मन्त्रिपरिषदले केही निर्णय गरी नसकेकाले जग्गाको मुआव्जा दिन नसकीरहेको आयोजना प्रमुख खरेलले बिजखबरलाई जानकारी दिए । उनका अनुसार मुआव्जाको निहुँमा काममा बाधा पुर्याउन खोजे जग्गा हडप्न पनि आयोजना पछि पर्ने छैन ।

नियम अनुसार मुआव्जा दिँदा स्थानीयले नमानेको भन्दै आयोजनाले गुठी र लालपुर्जा नभएका जग्गा धनीको मुआव्जा वितरणका लागि मन्त्रीपरिषदले नै निर्णय गर्नुपर्ने बताएको थियो । सोही अनुसार उक्त निर्णयका लागि मन्त्रिपरिषदमा पठाईएको हो ।

उक्त आयोजना नेपाल सरकार र जापानी सरकारको अनुदानको रकमबाट निर्माण हुने भएको हो । आयोजनाको सुरुङमार्गसम्म बाटो पुर्याउन २ ओटा फ्लाईओभर समेत निर्माण गरिनेछ । उक्त सुरुङमार्ग निर्माण भएपश्चात काठमाडौं भित्रिने प्रमुख नाकामा हुने जामको समस्या कम हुने आयोजनाले जानकारी दिएको छ । उक्त सुरुङमार्गको कार्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL