Logo

२४ विद्यालय पुनर्निर्माणका लागि त्रिपक्षीय समझदारी, लागत ८० लाख अमेरिकी डलर

२४ विद्यालय पुनर्निर्माणका लागि त्रिपक्षीय समझदारी, लागत ८० लाख अमेरिकी डलर



काठमाडौं । २४ ओटा अपांगमैत्री विद्यालय पुनर्निर्माणका लागि त्रिपक्षीय समझदारी भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन राजदूतावास तथा युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनओपिएस) बीच समझदारी भएको हो ।

समझदारी अनुसार नर्वे सरकारको करिब ८० लाख अमेरिकी डलर सहयोगमा सिन्धुली, रामेछाप, भक्तपुर र काठमाडौंमा २४ ओटा विद्यालय बन्नेछन् । परियोजना अन्तरगत रामेछापमा १३, सिन्धुलीमा ९ तथा काठमाडौं र भक्तपुरमा एक–एक ओटा विद्यालय पुनर्निर्माण हुनेछन् । २४ ओटा विद्यालयको १४४ कक्षाकोठा रहने प्राधिकरणले जानकारी दिएको छ ।

उक्त विद्यालयमा शौचालय, खानेपानीलगायतको सुविधा हुने छ । विद्यालय पुनर्निर्माण भएपछि करिब ५ हजार ५ सय जना विद्यार्थी लाभान्वित हुने प्राधिकरणले जनाएको छ । उक्त परियोजनाको अवधि भने २०७८ मंसिर १४ गते सम्म रहने छ ।

प्राधिकरणका सहसचिव पिताम्बर घिमिरे, नर्वेजियन राजदूतावासका नेपालका लागि राजदूत लास्से जोर्न जोहानेसें र युनओपिएसका कन्ट्री डाइरेक्टर चाल्र्स क्यालानानले सो समझदारी पत्रमा हस्ताक्षर गरेका छन ।

हस्ताक्षर पछि नर्वे सरकार तथा युनओपिएसलाई धन्यवाद दिंदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परियोजना समयमै सफल कार्यान्वयन हुने जानकारी दिएका छन । नर्वेका राजदूत जोहानेसेंले नर्वे सरकारको विद्यालय क्षेत्रप्रति दरिलो प्रतिबद्धता रहेको उल्लेख गर्दै भूकम्पबाट क्षति भएका विद्यालयहरुको पुनर्निर्माणका लागि प्राधिकरण तथा युनओपिएससँग साझेदारी गर्न पाउँदा खुसी ब्यक्त गरेका छन ।

युएनओपिएसका कन्ट्री डाइरेक्टर चाल्स क्यालानानले प्राधिकरण र नर्वे सरकारसँग मिलेर विद्यालय पुनर्निर्माण गर्नु राम्रो भउको भन्दै तोकिएको समय र गुणस्तरमा विद्यालय पुनर्निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL