Logo

चक्रपथ सडक विस्तारमा चिनियाँ पक्षको अडान : साईट क्लियर गरेपछि मात्रै डिजाइन, थालियो रुख काट्न र पोल हटाउन

चक्रपथ सडक विस्तारमा चिनियाँ पक्षको अडान : साईट क्लियर गरेपछि मात्रै डिजाइन, थालियो रुख काट्न र पोल हटाउन



काठमाडौं । चक्रपथ विस्तार अन्तर्गतको कलंकी–महाराजगंज सडक खण्ड विस्तारमा चिनियाँ पक्षले साईट क्लियर गरेपछि मात्रै डिजाईन दिने अडान लिएको छ । चिनियाँ ठेकेदार कम्पनी सांघाई कन्स्ट्रक्सनले उक्त सडक खण्डको जिम्मा लिएको १ बर्षपछि साईट क्लियर पछि मात्रै डिजाईन दिने अडान राखेको हो ।

चिनियाँ कम्पनीले गत बर्ष पहिलो खण्डको काम सम्पन्न भएको केही समयभित्रै दोस्रो खण्डको काम सुरु गर्ने भन्दै डिजाईन बनाउन लागेको बताएको थियो । गत बर्षको असार मसान्तभित्रै डिजाईन बनाउने र मंसिरमा सडक विस्तारको काम अघि बढाउने समेत घोषणा गरेको कम्पनीले पछिल्लो समय भने यस्तो अडान लिएको सडक विभागले जानकारी दिएको छ । चिनियाँ पक्षको ढिलाईकै कारण उक्त खण्डमा रहेका घरटरहरा, रुखहरु, विजुलीका पोलहरु समेत पन्छाउन बाधा पुगिरहेको थियो ।

उक्त खण्डको ३१ मिटर आसपासका घरटहरा, रुख, विजुलीका पोल लगायतका संरचना हटाउनुपर्ने भएको छ । उक्त संरचना हटाउनका लागि डिजाईनको पर्खाईमा रहेको आयोजनाले चिनियाँ पक्षको उक्त अभिव्यक्तिपछि सडक आसपासका संरचना हटाउन थालेको छ । कलंकी–महाराजगंज सडक विस्तार आयोजना प्रमुख अमृतमणी रिमालका अनुसार केही दिन अघिमात्रै चिनियाँ पक्षले उक्त जवाफ दिएपछि संरचना हटाउने काम तिव्र रुपमा अघि बढाईएको हो ।

आयोजनाले असोज १ गतेदेखि उक्त क्षेत्रका घरटहरा हटाउन सुरु गरिसकेको छ । यस्तै रुख काट्ने काम पनि भोली बाटै सुरु हुने आयोजना प्रमुख रिमालले बिजखबरलाई जानकारी दिए ।

चिनियाँ पक्षको डिजाईन पाउनका लागि आयोजनाले २ हजार १ सय रुख र घरटहराहरु समेत हटाउन बाँकी छ । नेपाल विद्युत प्राधिकरणले भने हालसम्म उक्त खण्डका २ सय ५० भन्दा बढी विजुलीका पोलहरु हटाईसकेको जानकारी दिएको छ । आयोजनाले अग्रीम भुक्तानी स्वरुप प्राधिकरणलाई विजुलीका पोलहरु सार्न १० करोड रुपैयाँ दिईसकेको छ ।

यस्तै आयोजनालाई साईट क्लियर गर्नका लागि मात्रै ५० करोड रुपैयाँ सम्म लाग्ने आँकलन गरिएको आयोजना प्रमुख रिमालले बताए । उनका अनुसार आयोजनाले आउने माघसम्म साईट क्लियरको काम सम्पन्न गर्ने र त्यस लगत्तै चिनियाँ पक्षले डिजाईन बनाउने र त्यसपछि सडक विस्तारको काम हुनेछ ।

उक्त सडकखण्ड ८ लेनको डिजाईनमा बनाईने भएको छ । सडक विभागले कोटेश्वर कलंकी खण्डको डिजाईनमा त्रुटी भेटिएपछि दोस्रो खण्डमा यो त्रुटी नदोहोर्याउन चिनियाँ पक्षलाई सुझाव समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL