Logo

कोरोना कहर : रोकियो वैदेशिक रोजगारीमा जाने क्रम, घट्यो रेमिटान्स आप्रवाह

कोरोना कहर : रोकियो वैदेशिक रोजगारीमा जाने क्रम, घट्यो रेमिटान्स आप्रवाह



काठमाडौं । विश्वभर फैलिएको कोभिड १९ को महामारीसँगै नेपालमा भित्रने रेमिटान्समा गिरावट आएको छ । चालु आर्थिक बर्षको पछिल्लो ९ महिनामा गत आवको सोही अवधिको तुलनामा रेमिटान्स आप्रवाह ४ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको तथ्यांक अनुसार चालु आवको ९ महिनामा ६ खर्ब २६ अर्ब ९० करोड रुपैयाँ बराबरको रेमिटान्स आप्रवाह भएको छ । जुन गत आवको तुलनामा ४ प्रतिशतले कम हो ।

तथ्यांक अनुसार गत बर्ष सोही अवधिमा यस्तो आप्रबाहमा २० दशमलव ९ प्रतिशतको वृद्धि भएको थियो ।

साथै राष्ट्र बैंकका अनुसार श्रम स्विकृतीका लागि अन्तिम स्विकृती लिनेको संख्यामा भने १० प्रतिशतले वृद्धि भएको छ । तर गत बर्ष भने यस्तो संख्यामा ३७ प्रतिशतको वृद्धि आएको थियो । यो बर्ष श्रम स्विकृती लिनेको संख्यामा वृद्धि भएपनि कोरोनाका कारण वैदेशिक रोजगारीमा गएका कामदारले रेमिटान्स नपठाउँदा आप्रवाहमा भने गिरावट आएको हो ।

साथै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्विकृती लिने नेपालीको संख्या भने १५ प्रतिशतले घटेको छ । जुन गत बर्षको सोही अवधिमा ४ प्रतिशतले वृद्धि भएको थियो ।

सो अबधिमा रेमिटान्स आप्रवाहमा गिरावट आएपनि अबका दिनमा केही बढ्ने आईएमईका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष सुमन पोखरेलले बताए । ‘चैत महिनामा ९ गतेसम्म रेमिटान्स आएको थियो भने त्यसपछि केही समय ठप्पजस्तै भएको थियो,’ उनले भने, ‘तर बैशाखको दोस्रो हप्तापछि विश्वका धेरै मुलुकमा आर्थिक गतिविधि चलायमान भएर नेपालीहरुले पैसा पठाउन थालेका छन् अब आउने तथ्याङकमा बढ्न सक्छ ।’

विशेषगरी पछिल्लो समय नेपालमा बढी रेमिटान्स भित्रिरहेको अमेरिका, कोरिया, युरोप लगायतका मुलुकमा आर्थिक गतिविधि चलायमान भएर नेपालीले पैसा पठाउन थालेकाले पनि रेमिटान्स आप्रवाहमा वृद्धि हुने देखिएको पोखरेलले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्
MBL