Logo

पेट्रोलियम उत्खननका लागि चिनियाँ टोली तत्काल नआउने, किन हुँदैछ ढिलाई ?

पेट्रोलियम उत्खननका लागि चिनियाँ टोली तत्काल नआउने, किन हुँदैछ ढिलाई ?



काठमाडौं । दैलेखको पादुकामा पेट्रोलियम अन्वेषण गर्नका लागि चिनियाँ टोली तत्काल नेपाल नआउने भएको छ । चिनियाँ टोली उक्त स्थानमा अन्वेषणका लागि बैशाखको अन्त्यसम्ममा नेपाल आईपुग्ने बताईएपनि आन्तरिक कारणले गर्दा नेपाल आउन ढिला भएको हो ।

उक्त टोली बैशाख २९ गते नै नेपाल आउने तालिका रहेपनि चीनस्थित मन्त्रालयमा प्रक्रिया नपुगेका कारण नेपाल आउन ढिला भएको खानी तथा भुगर्भ विभागका पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन परियोजनाका प्रमुख सुधिर रजौरेले जानकारी दिए । ‘उक्त क्षेत्रको पेट्रोलियमको उत्खनन गर्न चिनियाँ टोली नआउने होईन आउने हो,’ उनले भने, ‘तर उनीहरुको आन्तरिक प्रक्रियाले गर्दा ढिलो भएको जानकारी हामीले पाएका छौं ।’

चिनियाँ टोलीले त्यहाँस्थित मन्त्रालयको प्रक्रीयामा ढिलाई भईरहेकाले आउन समय लाग्ने जानकारी दिएको रजौरेले बताए । हालसम्म नेपालका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको सम्भाव्यता भएको पत्ता लगाइएपनि सोही अनुसार अनुसन्धान भने गरिएको थिएन । दैलेखको पादुकामा रहेको खनिज तेलको खानीको बारेमा विस्तृत अध्ययन गर्नका लागि चिनियाँ टोली तत्काल नआउने भएको हो ।

२०७२ को चैतमा नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषणसम्बन्धी द्विपक्षीय सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीमा हस्ताक्षर भएपछि उक्त खानीको अन्वेषण गर्ने बाटो खुलेको थियो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा उक्त समझदारी भएको थियो । यस्तै गत फागुन १६ गते खानी तथा भूगर्भ विभाग र चाइना जिओलोजिकल सर्भेबीच चीनमा खानी अन्वेषण कार्यान्वयन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो ।

नेपाल आउने चिनियाँ टोलीले दैलेखको उक्त क्षेत्रमा पेट्रोलियम खानीको विस्तृत अन्वेषण, अध्ययन तथा ड्रिलिङको काम गर्ने उपमहानिर्देशक रजौरेले बिजखबरलाई जानकारी दिए । उनका अनुसार उक्त टोलीले आगामी ३ बर्षसम्म विभिन्न ड्रिलिङ गर्नुका साथै सोही अनुसार आर्थिक रुपमा सम्भाव्य छ छैन यसको भण्डार कती छ लगायतका कुरा पत्ता लगाउने छ ।

सरकारले गत पुसमा खानी अन्वेषण तथा अध्ययनको सम्झौताका लागि स्वीकृति दिएको थियो । मोरङको बाहुनी भन्ने स्थानमा पनि २०४२ मा नेपाल, इटाली, स्विटजरल्याण्ड र नेदरल्याण्ड्सका प्रतिनिधिको सहभागितामा गरिएको अध्ययनले पेट्रोल रहेको पत्ता लगाएको थियो । इटालीको साइपम नामक कम्पनीले ३ हजार ५ सय मिटर बराबरको ड्रिलिङ गरी पेट्रोलियम पदार्थ रहेको पत्ता लगाएको थियो । तर उक्त परियोजना विभिन्न कारणबस अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL