Logo

ट्याक्सी चालकलाई पनि कोरोना भाइरस प्रभाव, भन्छन-कमाई छैन, परिवार कसरी धान्नु ?

ट्याक्सी चालकलाई पनि कोरोना भाइरस प्रभाव, भन्छन-कमाई छैन, परिवार कसरी धान्नु ?



काठमाडौं । दाई बसपार्क जाने हो ? हुन्छ हजुर कति दिनु हुन्छ ? मिटरमा जाउँन हुँदैन ? हुन्छ तर केही हेरीदिनु हुन्छ नि ? हुन्छ । ट्याक्सी चल्यो, बसपार्क आईपुग्दा मिटरमा १ सय ३३ रुपैयाँ उठ्यो । ‘१ सय ५० रुपैयाँ दिँए हुन्छ नि दाई’, मेरो प्रश्न भुँईमा खस्न नपाउँदै उनले हुन्छको भावमा टाउको हल्लाए ।

laxmi

ट्याक्सी चालक र मबीच भएको बाटोको कुराकानी हो यो । उनले भने–‘दाई के गर्नु जहान छोराछोरी पाल्न पनि गाह्रो होला जस्तो छ । अब कमाई हुन छाड्यो । मुस्किलले दिनमा हजार १२ सय हुन्छ, अब त त्यो पनि के हुने हो । यो कोरोना होकि सोरोनाले सबै मान्छे गाउँ जान थालिसके, काठमाडौंमा मान्छे भेट्नै गाह्रो भईसक्यो ती ट्याक्सी चालकले भने, ‘मेरो त ठिकै छ आफ्नै ट्याक्सी हो तर अरु भाडामा चलाउनेहरुले कसरी तिर्ने भाडा ? मेरो साथीले हिजो त ४ बजे देखिनै ग्यारेजमा लगेर थन्क्याए रे ।’

पछिल्लो समयमा काठमाडौं उपत्यका छोडेर गाउँघर जानेको लर्को छ । दशैं आएको पनि होईन तर, दशैंमा जस्तै बसपार्कमा मान्छेको भीड छ । उनले थपे–‘यस्तै पारा हो भने अब काठमाडौंमा बाँच्न गाह्रो हुने भयो, हुन त मान्छेहरु केही समयको लागि मात्रै गाउँ जाने त हुन, पछि त आउने यही काठमाडौं खाल्डोमा त हो भन्ने आशा भने छ ।’

यस अघि २०७२ सालको भूकम्पमा पनि मान्छेहरु सबै गाउँ गएका थिए र केहीसमय पछि फर्केजस्तै योपटक पनि त्यस्तै होला भन्ने उनको अपेक्षा छ । ‘यो कोरोना भन्ने जिनिस पनि खत्रा रैछै है दाई । भूकम्प आउँदा त भाग्न पनि सकिन्थ्यो । तर, यो भाईरसबाट त कसरी भाग्ने हो ? कतै केही रुपरंग देखिँदैन, कसलाई लागेको छ वा छैन थाहै नपाउने रहेछ है दाई ?’ म होमा हो मिलाउँदै गएँ । उनको चिन्ता घट्दै गएको कमाईले परिवार कसरी पाल्ने र कोरोनाबाट कसरी बच्नेसँगै कहिलेदेखि यो अवस्था सल्टिएला भन्ने पनि थियो । यसको उत्तर त न सरकारसँग न मसँगै नै छ । त्यसैले उनलाई कही समयमा अवस्था सामान्य होला भन्ने झुटो आश्वासनमात्र मैले दिन सके ।

साँच्चै कोभिड–१९ कोरोनाले गर्दा अहिले विश्वनै आतंकित बन्दै गएको छ । पछिल्लो ४ दिनमा करिब ५/७ लाख मानिसले काठमाडौं उपत्यका छाडिसकेका छन । त्यही भाईरसको त्रासले गर्दा सरकारले समेत स्कुल, कलेज, सिनेमा घर, रंगशालालगायतका मानिस बढी भेला हुने स्थान बन्द गर्न निर्देशन दिईसकेको अवस्था छ । आमनागरिक काठमाडौं उपत्यका भन्दा आफ्नै गाउँमा सुरक्षित हुने आशामा दिनानु दिन गाउँ फर्कने क्रम जारी छ । तर अहिलेसम्म नेपालमा उक्त भाईरसको संक्रमण देखिएको छैन र नदेखियोस पनि ।

सरकारले अन्तरराष्ट्रिय उडानहरुलाई नेपाल आउन प्रतिवन्ध लगाईसकेको छ । त्यस्तै सीमानाकाहरुमा कडाई गर्नुका साथै स्वास्थ्य जाँच गरेरमात्रै नेपाल भित्र्न दिईरहेको अवस्था छ । त्यस्तै सरकारले अत्यावश्यक बाहेकका कुनै पनि बेला बाहिर ननिस्कन उर्दी जारी गरिसकेको छ । जनताकै लागि भनेर सरकारले चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबैप्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।

मानिसहरुको भीडभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ । देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजीसेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरेको घोषणासमेत सरकारले गरिसकेको छ । यस्तोमा जनतामा आफ्नो स्वास्थ्य सुरक्षाको चासोसँगै यो अवस्था लम्बियो भने भोलि जीवन कसरी चलाउने हो भन्ने गम्भीर चिन्ता पनि पैदा भएको छ । ट्याक्सी, रिक्सा चलाएर दैनिक कमाई गरेर परिवार पाल्नेहरु र तलबमा मात्र जीवन आश्रित गरिरहेका मजदूहरुको रोजीरोटीबारे पनि सरकारले सोच्नुपर्ने हो कि ?

प्रतिक्रिया दिनुहोस्
MBL