Logo

सेयर बजारको वास्तविकता, फस्दै साना लगानीकर्ता

सेयर बजारको वास्तविकता, फस्दै साना लगानीकर्ता


बिजखबर संवाददाता
81
Shares

दुर्गाप्रसाद काफ्ले

सेयर बजारमा झण्डै ३ दशक अघिबाट शुरु भएको नेपालको सेयर बजार अहिले पनि करिब करिब उस्तै अवस्थामा छ । यसलाई नेपाल धितोपत्र बोर्डलगायतका सरोकारवाला निकायले समयसापेक्ष परिवर्तन गर्न सकेका छैनन् । पछिल्लो समय सुधारको नाममा बोर्डले १÷२ वटा काम मात्र अघि बढाएको देखिन्छ । ४ वर्ष अघि दैनिक ५÷१० करोड रुपैयाँको कारोवार हुने नेपालको सेयर बजारको आकार बढेर अहिले १ अर्ब रुपैयाँभन्दा बढी हुन थालेको छ । तर, कारोवार रकम बढिरहँदा धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अझै पनि पुरानै प्रविधिमा अघि बढिरहेका छन् । नयाँ प्रविधि भित्र्याउने तयारीमा नियामक निकायले त्यति चासो लिएको देखिँदैन । तसर्थ नेपालको सेयर बजार अझै ५÷१० वर्ष पछिसम्म पनि यहि हालतमा चल्ने निश्चित छ ।

नेपालको धितोपात्र बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, बीमा समिति, विद्युत प्राधिकरण, दूरसंचारजस्ता अति सम्बेदनशील क्षेत्रमा पनि राजनीतिक पार्टीले आफु निकटस्तलाई टिको लगाएर त्यस्ता संस्थाको प्रमुख दिँदै आएका छन् । जुन बजार प्रवद्र्धको लागि हानिकारक छ ।

विशेषत सेयर बजार ३ प्रकारका हुन्छन् । क) स्ट्रोङ मार्केट, ख) सेमी स्ट्रोङ मार्केट र वीक मार्केट । अहिलेकै अवस्थामा हेर्ने हो भने नेपालको बजारमा वीक अर्थात कमजोर अवस्थामा रहेको छ । किनकि कमजोर बजारमा गोप्य सुचना तथा कम्पनीका निर्णय केही सिमित वर्ग र बजारमा बढी चलखेल गर्नसक्ने व्यक्तिले मात्र पाइरहेका छन् भने ठूला लगानीकर्ताले साना लगानीकर्तालाई आफ्नो साधनको रुपमा प्रयोग गर्दै आएका छन् । भित्री सुचनाका आधारमा केही ठूला तथा पहुँच भएका व्यक्तिहरुले सेयर किनबेच गरेपछि मात्र त्यसको वास्तविक सुचना बजारमा आइपुग्छ । सोही सुचनालाई आधार मानेर साना लगानीकर्ताहरु बजारमा प्रवेश गर्छन र ठूला लगानीकर्ताले अग्रीम रुपमा बजार बढाएर वाहिरिन थाल्छन् । जुन नेपालको सन्दर्भमा मेला खाइरहेको छ ।

अझै पनि नेपालको सेयर बजारमा केही ठूला व्यक्ति तथा संस्थाको वर्चश्व रहेको छ । उदाहरणका लागि म्युचुअव फण्ड, इनभेष्टमेण्ट कम्पनी, नेपाल धितोपत्र बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, बीमा समिति, सम्बन्धित कम्पनीको संचालक समिति तथा उनीहरुका नातागोता र केही हदसम्म मिडियाले पनि यसलाई नराम्रोसँग प्रयोग गरिरहेका छन् । अहिले पनि यिनै व्यक्ति तथा संस्थाले नेपालको सेयर बजार चलाइरहेका छन् भन्दा अतिउक्ति नहोला । उनीहरुले चाहेमा नेपालाको सेयर बजार उच्च रुपमा बढाएर २५०० अंक पुर्याउन केही वेर लाग्दैन भने ८ सय अंकभन्दा तल झार्न पनि उत्तिकै हात हुन्छ । यस्तो अवस्थामा समस्यामा पर्ने भनेको साना लगानीकर्ता मात्र हुन् । भित्री सुचनाको आधारमा केही ठूला तथा संगठित लगानीकर्ताले एक आपसमा सल्लाह गरेर मात्र बजारमा प्रवेश गर्ने गरेको घटनाहरु वाहिर नआएका पनि होइनन् ।

नेपालको अस्थिर अवस्थामा सेयर बजारमा घट्ने कारणहरु थुप्रै देखापर्न थालेका छन् । कुनै पनि देशको अर्थतन्त्रलाई त्यस देशको राजनीतिले नराम्रो प्रभाव पार्छ । जुनकुरा हामीले पहिले पनि भोगेका हौ अहिले पनि भोग्दै छौं । देशमा अझै पनि राजनीतिक अन्यौलता छ भने सिमाङ्नजस्ता विषयले पुनः आन्दोलन शुरु हुन थालेको छ । जसको प्रत्यक्ष असर देशको अर्थतन्त्र वा सेयर बजारमा नै पर्ने हो । संविधानको संसोधन, संघीयता तथा राज्य पुर्नसरचनाजस्ता महत्वपूर्ण विषय अझै अन्यौलमा रहेका छन् । संघीयता तथा राज्य पुर्नसरचनाले भोली कुन मोड लिने हो अझै टुङ्गाले लागेको छैन ।

यसैगरी, देशमा सेयर बजारको वातावरण पनि त्यस्तै खालको छ । नेप्से अझै पनि १ दशक अघिको सिस्टममा चलिरहेको छ । जतिवेला दैनिक कारोवार २÷४ करोड रुपैयाँको मात्र थियो । नेप्सेलाई पुर्नसंरचना नगरेसम्म लगानीकर्ता मैत्री बजार बन्न सक्दैन । पछिल्लो समय विभिन्न कम्पनीले पूँजी बृद्धिका लागि फरदर पब्लिक अफरिङ (एफपीओ), हकप्रद सेयर तथा बोनस सेयर उच्च रुपमा जारी गर्दै आएका छन् जसले गर्दा बजारमा सेयरको चाप बढी छ ।

भर्खरै अर्थ समितिद्वारा पारित वाफियाले पनि कुनै पनि बैंक वित्तीय संस्था संचालनमा आएको १० वर्षमा संस्थापक सेयरलाई साधारणमा परिवर्तन गर्न सक्ने व्यवस्था गरिदिएको छ । धेरैजसो बैंक वित्तीय संस्थाका लगानीकर्ता व्यवसायी तथा व्यापारी रहेका र उनीहरुले आफुअनुकुल जुनसुकै वेला त्यस्ता सेयरलाई साधारणमा परिवर्तन गरी बजारमा सेयरको चाप बढाउनसक्ने सम्भावना उच्च छ । त्यस्तै अहिले सरकार तथा नियामक निकाय पनि ठूला लगानीकर्ताले निर्देशनमा चलिरहेको छ । जुन बजारको लागि एकदमै घातक पक्ष हो ।

पछिल्लो समय भारत सरकारले आफ्नो देशको मुद्राको ५ सय र १ हजार रुपैयाँको नोटको कारोवार प्रतिवन्ध लगाएपछि त्यसको प्रत्यक्ष असर नेपालको सेयर बजारमा देखिएको छ । नेपालको सेयर बजारमा दोहोरो नागरिकताधारीको वाहुल्यता पनि उत्तिकै छ भने व्यापारीको प्रवेश पनि उच्च छ । भारुको प्रतिवन्धले त्यस्ता लगानीकर्तालाई ठूलो असर परेरकाले उनीहरु बजारबाट निस्कन चाहेका छन् । जसले गर्दा बजारको भविश्य अन्यौलमा रहेको छ ।

लगानीकर्ताहरु आफुले सेयर किन्ने कम्पनीको वास्तविकता बुझ्नुभन्दा पनि लहैलहैमा लाग्ने क्रम बढेको छ । विश्वको सेयर बजारको इतिहास हेर्नेहो भने पनि यो चलायमान छ । बढ्ने र घट्ने क्रम उत्तिकै हुन्छ । तर, नेपाली लगानीकर्तामा सेयर बजार भनेको बढिरहन पर्छ घट्नु हुँदैन भन्ने भ्रम छ । जुन बजारको लागि हानिकारक छ ।

पछिल्लो समय सेयर बजारमा रेमिट्यान्को प्रभाव उच्च रहेको छ । वैदेशिक रोजगारीबाट कमाएको पैसा सेयरमा लगानी भएको छ । तर, मलेशिया तथा खाडी मुलुकमा समस्या आएसँगै नेपाल भित्रने रेमिट्यान्समा उच्च गिरावट आएको छ । गत आर्थिक वर्षको पहिलो ३ महिनामा २४ प्रतिशतमा रहेको बृद्धिदर घटेर अहिले ३ प्रतिशतमा खुम्चिएको छ । यसको प्रत्यक्ष असर सेयर बजारमा पर्न गएको छ । साथै अमेरिकामा डोलाल्ड ट्रम्पको बिजयीले भने हाम्रो जस्तो मुलुकको आर्थिक विकासमा असर पुर्याउने निश्चित छ ।

सेयर बजारमा अर्को घातक पक्ष भनेको ब्रोकरबीचको मिलेमत्तो हो । उनीहरुले आफु अनुकुल सेयर खरिद गरेर होल्ड तथा बजारमा विक्रीको चाप समेत बढाउने गरेका छन् । जसले कुनै पनि समय बजार समस्यामा पर्न सक्छ । बजारमा तरलता अभाव हुनु तथा ब्याजदरमा भएको उच्च बृद्धिले पनि लगानीकर्ता मारमा परेका छन् । बैंकहरुले मार्जिङ कल गर्न थालेकाले लगानीकर्ताहरु सस्तोमै भएपनि आफुसँग भएको सेयर बेचेर बैंक ऋण तिर्ने मनसायमा पुगेका छन् । यदि सरकारी खर्च बढेर आर्थिक बृद्धिदर बढ्ने हो भने सेयर बजारको दायरामा पनि बृद्धि हुन्छ । तर, त्यसको ठिक विपरित सरकारी खर्च घट्दै गएको छ भने आर्थिक बृद्धिदर वर्षेनी खुम्चदै गएको छ ।

पछिल्लो समय बजारमा घट्नुको मूख्य कारण लगानीकर्ताको आकर्षण घरजग्जामा हुनु हो । सेयरमा भन्दा बढी नाफा हुने भएकाले अहिले लगानीकर्ताको आकर्षण घरजग्गामा देखिएको छ । यस्तै पूँजी बृद्धिको नामका विभिन्न कम्पनी हकप्रद सेयर निष्काशनले गर्दा त्यसको चापले पनि लगानीकर्ताहरु सस्तोमा सेयर विक्री गर्न वाध्य भएका छन् ।

माथी उल्लेखित निम्न कारणले गर्दा नेपालको सेयर बजार उच्च रुपमा गिरावट आउने देखिन्छ । यहि अवस्था रहने हो भने बजार १२०० अंकभन्दा बढी तल आउने निश्चित छ । हाल निष्काशन भएको हकप्रद, एफपीओ र पूँजी बृद्धिका लागि पाइपलाइनमा रहेको हकप्रदका कारण आगामी दिन बजार घटने सम्भावना एकदमै उच्च रहेको छ ।

अहिलेको अवस्थामा देशको अर्थतन्त्र रेमिट्यान्समा निर्भर छ । जुन रुपमा रेमिट्यान्स आप्रवाहका गिरावट आइरहेको छ त्यो देशको लागि एकदमै ठूलो खतरा हो । यहि रुपमा रेमिट्यान्स आप्रवाहमा गिरावटा आउने हो भने देशको अर्थतन्त्रमात्र नभई पूँजी बजारमा ठूलो ह्रास आउने निश्चित छ । अहिले नै आर्थिक सुचकहरुको विश्लेषण गरी बजारमा प्रवेश नगर्ने हो साना लगानीकर्ताहरु ठूलो मारमा पर्ने देखिन्छ ।

नेपाल सानो मात्र नभई अतिकम विकशित राष्ट्र पनि हो । अहिलेको सन्दर्भमा यहाँ कुनै पनि कुराको विकास भइसकेको छैन । देशलाई आर्थिक रुपमा सवल र सक्षम बनाउने हैसियल कुनै पनि राजनीतिक दलमा देखिँदैन । यदि अहिले नै लगानीकर्ताले विचार गरेर बजार प्रवेश तथा समयसापेक्ष निष्कासन नहुने हो भने कुनै पनि समयमा पछुताउनु पर्ने हुन्छ ।

(काफ्ले लगानीकर्ता हुन्)

प्रतिक्रिया दिनुहोस्
MBL