Logo

सहयोगी विकाश बैंकलाई एक्विजिशन गर्दै सिटिजन्स बैंक, अन्तिम सम्झौतामा हस्ताक्षर

सहयोगी विकाश बैंकलाई एक्विजिशन गर्दै सिटिजन्स बैंक, अन्तिम सम्झौतामा हस्ताक्षर



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले सहयोगी विकाश बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौतामा हस्ताक्षर गरेको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ बमोजिम सिटिजन्स बैंक र सहयोगी विकाश बैंकबीच सम्झौता भएको हो ।

सोमबार एक कार्यक्रमबीच सिटिजन्स बैंकक संचालक तथा मर्जर प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र सहयोगी विकाश बैंकका संचालक तथा मर्जर प्राप्ति समितिका संयोजक डिल्ली प्रकाश घिमिरेले हस्ताक्षर गरेका हुन । दुवै बैंकले आ—आफ्नो विशेष÷वार्षिक साधारण सभाबाट प्राप्ति सम्बन्धि विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गर्नेछन् । दुवै बैंकले गत असार २२ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए ।

आईतबार सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सहयोगी विकाश बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ८३ अर्ब २४ करोड रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी ७३ अर्ब ९९ करोड रुपैयाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल शाखा ९९ हुनेछ । सहमति अनुसार सहयोगी विकाश बैंकका सेयरधनीहरुले १०० कित्ता सेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९१ दशमलब ७५ कित्ता सेयर पाउनेछन् ।

हाल सिटिजन्स बैंकको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ पुग्नेछ । धनुषा, महोत्तरी र सिन्धुली कार्यक्षेत्र भएको यस सहयोगी विकाश बैंकले १४ शाखाहरूबाट बैंकिङ सेवाहरू प्रदान गर्दै आईरहेको छ । यी तीन जिल्लामा हाल सिटिजन्स बैंकको ९ वटा शाखाहरू संचालनमा रहेकोमा बैंकको प्राप्ति संगै २३ शाखाहरू संचालनमा आउने छन । बैंकले ८५ शाखा, ८५ एटिएम र १०३ शाखा रहित बैंकिङ एकाईमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL