Logo

हेजिङ फण्डको कार्यविधी मन्त्रिपरिषद्बाट स्वीकृत, तत्काल कार्यान्वयनमा ल्याउँदै राष्ट्र बैंक

हेजिङ फण्डको कार्यविधी मन्त्रिपरिषद्बाट स्वीकृत, तत्काल कार्यान्वयनमा ल्याउँदै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले तत्कालै हेजिङ फण्ड संचालनमा ल्याउने भएको छ । केही समअघि राष्ट्र बैंकले विदेशी लगानीमा सञ्चालन हुने आयोजना र उद्योग व्यवसायमा डलरको मूल्यमा उतारचढाव हुँदा हुने जोखिमलाई व्यवस्थापन गर्न हेजिङ फण्ड सम्बन्धी कार्यविधी बनाएर पेश गरेको थियो ।

सो कार्यविधी मन्त्रिपरिषद्बाट स्वीकृति भएको र अबको केही समयभित्रै कार्यान्वयनमा ल्याइने नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले जानकारी दिए । ‘उद्योगी व्यवसायीहरुले माग गरे बमोजिम हेजिङ फण्डको कार्यबिधी मन्त्रिपरिषद्बाट स्वीकृति भएर आईसकेको छ,’ मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षाको पूर्व सन्ध्यामा उद्योगी तथा बैंकरसँगको छलफल कार्यक्रममा उनले भने, ‘तपाईहरुले लामो सयमदेखि माग राख्दै आउनुभएको हेजिङ फण्डको कार्यविधी स्वीकृत भएको छ अब राष्ट्र बैंकले तत्कालै कार्यान्वनमा ल्याउने छ ।’

हालसम्म हेजिङ फण्डको व्यवस्था नहुँदा विदेशी लगानी भित्र्याउन कठिनाई भएको थियो । तर, हेजिङको व्यवस्था भएसँगै आगामी दिनमा विदेशी लगानीमा परिवत्र्य विदेशी मुद्राको जोखिमबाट न्युनिकरण गर्न सहज हुनेछ । जसबाट नेपालमा जलविद्युत तथा ठूला पूर्वाधार निर्माणमा विदेशी लगानी भित्र्याउन समेत सहज हुने नेपाल उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष सतिशकुमार मोरले जानकारी दिए । ‘अहिले हेजिङको व्यवस्था नहुँदा प्रत्यक्ष वैदेशिक लगानी ल्याउँदा वा विदेशी मुद्रामा ऋण ल्याउँदा बढी जोखिम छ,’ उनले भने, ‘हेजिङको व्यवस्था भएसँगै अबका दिनमा विदेशी डलरमा हुने उतारचढावबाट हुने जोखिम न्यूनिकरण गर्न सहयोग गर्नेछ ।’ तर, मन्त्रीपरिषद्ले कसरी कार्यविधी स्वीकृत गरेको छ सोको आधारमा मात्र कसरी कार्यान्वयनमा ल्याउने भन्ने विषयमा अघि बढ्न सकिने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL