Logo

ब्रोकर मार्जिन लेण्डिङको लागि राष्ट्र बैंकको मुख ताक्दै दुई नियामक, नेप्से र सेबोनबीच किन मिलेन तालमेल ?

ब्रोकर मार्जिन लेण्डिङको लागि राष्ट्र बैंकको मुख ताक्दै दुई नियामक, नेप्से र सेबोनबीच किन मिलेन तालमेल ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीलाई मार्जिन लेण्डिङको सुविधा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकको सहमति चाहिने भएको छ । यसघि ब्रोकर कम्पनीलाई मार्जिन कारोबार गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति नचाहिने भनिए पनि राष्ट्र बैंकको राय विना उपलब्ध गराउन नसकिने नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले जानकारी दिए ।

laxmi

‘हामीलाई धितोपत्र बोर्डले मार्जिन कारोबार सम्बन्धी निर्देशन दिँदा सो सम्बन्धमा नेपाल राष्ट्र बैंकसँग पनि राय लिएको भन्ने उल्लेख भएर आएको थियो,’ साउदले भने, ‘तर, उक्त रायमा राष्ट्र बैंकबाट के जवाफ आयो अहिलेसम्म बोर्डले हामीलाई उपलब्ध गराएको छैन ।’ ब्रोकरलाई मार्जिन लेण्डिङ सुविधा दिने सम्बन्धमा राष्ट्र बैंकको राय आएपछि मात्र कार्यान्वयनमा ल्याउन सकिने उनले जानकारी दिए ।

हाल सो सम्बन्धमा राष्ट्र बैंकलाई बोर्डले पत्र पठाएकाले सो नेप्सेले कुनै प्रक्रिया अघि नवढाएको समेत उनले जानकारी दिए । ‘अझै केही समय धितोपत्र बोर्डबाट राष्ट्र बैंकबाट आउने रायको विषयमा कुर्नेछौं,’ उनले भने, ‘बोर्डबाट जवाफ नआएमा नेप्सेले राष्ट्र बैंकसँग सोध्नेछ ।’

केही समय अघि नेप्सेले अब ब्रोकरसँग आवदेन माग गरेर मार्जिन लेण्डिङ सुविधा उपलब्ध गराउने जानकारी दिएपनि अबका दिनमा राष्ट्र बैंकको स्वीकृति विना दिन नसकिने बताएको हो । जसले गर्दा ब्रोकको मार्जिन लेण्डिङ अझै पछि धकेलिने भएको छ ।

यसैगरी नेपाल धितोपत्र बोर्डले भने ब्रोकरलाई मार्जिन लेण्डिङको सम्बन्धमा नेपाल राष्ट्र बैंक र नेप्सेलाई एकै पटक पत्र पठाएको जानकारी दिएको छ । ‘हामीले मार्जिन लेण्डिङको कार्यबिधी स्वीकृत गरी सो सम्बन्धमा राष्ट्र बैंकलाई जानकारी गराउँर्दै कार्यान्वयनमा ल्याउनका लागि नेप्सेलाई पनि निर्देशन दिएका हौं,’ बोर्ड स्रोतले भने, ‘तर, राष्ट्र बैंकबाट सो सम्बन्धमा कुनै राय आएको छैन ।’ अबका दिनमा बोर्ड आफैले पनि राष्ट्र बैंकलाई सोधेर राय लिई ब्रोकर मार्जिन लेण्डिङ्को लागि काम गर्न सक्ने समेत बोर्डले जानकारी दिएको छ ।

मार्जिन कारोबार गर्नका लागि कुनै पनि ब्रोकरको नेटवर्थ ५ करोड रुपैयाँ हुनुपर्दछ । हाल उक्त नेटवर्थ भएको २५ वटा जति ब्रोकर कम्पनी भएको समेत नेप्सेले जानकारी दिएको छ । अहिले नेप्सेमा सुचिकृत भएर ५० वटा ब्रोकर कम्पनी संचालनमा छन ।

प्रतिक्रिया दिनुहोस्
MBL