Logo

निगमको ओसाका उडान, खर्च १ करोड आम्दानी २७ लाख मात्रै

निगमको ओसाका उडान, खर्च १ करोड आम्दानी २७ लाख मात्रै



काठमाडौं । नेपाल वायुसेवा निगमको वाईडबडी ए ३३० जहाज करोड खर्च गर्दै जापानको ओशाका पुगेको छ ।

laxmi

पहिलो पटक काठमाडौं–जापान सिधा उडान गरेको निगमले एक तर्फि उडान गर्दा करिब १ करोड रुपैयाँ खर्च हुने भए पनि निगमले टिकटबापत २७ लाख ३७ हजार ९ सय २६ रुपैयाँ मात्रै संकलन गरेको छ । बाँकी खर्च भने निगम आफैंले ब्यहोर्ने गरी उडान भरेको हो ।

निगमले २० जना ट्राभल तथा सेल्स एजेन्टलाई निशुल्क टिकट वितरण गरेको छ भने अन्य ४० जनालाई आफैंले निम्तो दिएकाले होटल लगायतको खर्च निगमको आफ्नै हुने भएको छ ।

यस अघि पटक पटक उडान स्थगित गरेको निगमको वाइडबडी ए ३३० जहाजले पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडान सुरू गरेको हो । बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एक समारोहकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ओसाका उडानको उद्घाटन गरे । विमानस्थलमा औपचारिक उद्घाटनलगत्तै वाइड बडी जहाजले ओसाकाका लागि उडान भरेको थियो ।

ओसाका उडानमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, ६ जना सांसद, मन्त्रालयका उच्च अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमका प्रतिनिधिलगायतको सहभागिता रहेको निगमले जानकारी दिएको छ ।

निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौं–ओसाकाको मूल्य अभिवृद्धि करसहित ३६ हजार ९९९ रूपैयाँ नयाँ भाडादर निर्धारण गरेको छ । उक्त गन्तव्यमा दुईतर्फी भाडा ७२ हजार ८१४ रूपैयाँ कायम गरिएको छ ।

२ सय ७४ यात्रु सिट क्षमताको जहाजमा ७४ जना यात्रु र अन्य प्रतिनिधि गरी १ सय ३४ जनाको सवार रहेको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिएका छन । नेपाली ध्वजावहाक जहाज करीब साढे ७ घण्टाको उडान पछि ओसाका कन्साई इन्टरनेशनल एयरपोर्टमा अवतरण भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL