Logo

नेपालमा कति छ होटल रेष्टुराँको संख्या ?, सरकारी निकायासँगै छैन एकिन तथ्याङ्क

नेपालमा कति छ होटल रेष्टुराँको संख्या ?, सरकारी निकायासँगै छैन एकिन तथ्याङ्क



काठमाडौं । पछिल्लो समयमा होटल खोल्नेक्रम बढे पनि हालसम्म कति होटल संचालनमा आए भन्ने कुनै तथ्याङ्क प्राप्त गर्न सकेको छैन ।

laxmi

होटल एशोसिएसन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले मुलुकभर साना–ठूला होटल, गेष्ट हाउस, लज र घरबास ‘होमस्टे’ गरी करिब १० हजारभन्दा बढी सञ्चालनमा रहेको बताउँदै आएका छन । तर यसको आधिकारिक तथ्याङ्क भने न हानसँग न त पर्यटन विभागसँग नै छ ।

विभागमा मात्रै नभएर देशभर होटलको संख्या के कति छन भनेर कुनै पनि नगर वा गाउँपालिका तथा उद्योग विभागसँग समेत एकिन तथ्याङ्क नभएको हानका प्रथम उपाध्यक्ष शाहले बताए ।

उनका अनुसार कम्पनी रजिस्ट्रार कार्यालय, उद्योग विभागलगायतमा दर्ता गरे पछि मात्रै रेटिङको लागि विभागममा दर्ता हुन आउने भएकाले विभागसँग ६ सय १३ ओटा मात्रै होटल, लज रेष्टुँरा दर्ता भएको हो ।

‘राजमार्गमा खोल्ने होटलहरुको दर्ता विभागमा हुँदैन गाउँपालिका नगर वा घरेलु उद्योगमा हुन्छ,’ उनले भने, ‘त्यसैले के कति संख्यामा होटल दर्ता भयो भन्ने वास्तविक तथ्याङक कुनै पनि नियकासँग छैन ।’

तर ती स्थानहरुमा दर्ता भए पनि हालसम्म देश भरिमा कति होटल संचालनमा छन भन्ने कुरा अनुमानित मात्रै भन्ने हो । उनले भने, ‘जबसम्म टुरिजम स्याटेलाईट अकाउन्ट संचालनमा आउँदैन तबसम्म नेपालमा कति पर्यटक भित्रिए, कति होटल थपिए कुन पर्यटकले कहाँ कति खर्च गरे भन्ने तथ्याङ्क निकाल्न सकिँदैन ।’

काठमाडौं, पोखरा, चितवनकासाथै प्रमुख पर्यटकीय हिमाली क्षेत्र र ७ ओटै प्रदेशमा नयाँ होटल खुल्ने क्रममा छन् । काठमाडौंमा मात्र आगामी ५ वर्षमा २ दर्जनभन्दा बढी अन्तराष्ट्रिय स्तरका होटलले करिब ५ हजार शैया थपिने उपाध्यक्ष शाहको भनाई छ । उनका अनुसार हाल नेपालका साना ठूला होटलमा गरी जम्मा ३२ हजार ९ सय ५० शैया रहेको छ ।

कम्पनी रजिस्ट्रार कार्यालयमा १० हजार ७ सय होटल रेष्टुराँ दर्ता

नेपालमा सन् १९५१ देखीनै होटल, लज संचालनमा आए पनि कम्पनी रजिस्ट्रार कार्यालयको तथ्याङ्कमा भने सन् २०११ पुस १३ गते मात्रै होटल दर्ता भएको उल्लेख छ ।

कार्यालयका अनुसार हाल सम्ममा १० हजार ७ ओटा होटल, लज, रेष्टुँरा दर्ता भएको छ भने २०७५ बैशाख देखी हाल सम्म (एक बर्षको अवधिमा) १ हजार ९ सय ७४ ओटा साना ठूला होटल दर्ता भएको तथ्याङ्कमा उल्लेख छ ।

कार्यालयको तथ्याङ्क अनुसार हालसम्म ५० करोड रुपैयाँ भन्दा माथी अधिकृत पुँजी भएका होटलको संख्या मात्रै ८५ ओटा दर्ता भएका छन भने १ करोड रुपैयाँ भन्दा माथी लगानी भएका होटलको संख्या ४ हजार ५ सय २४ ओटा रहेको उल्लेख छ ।

उद्योग विभाग लगायतका सम्बन्धित स्थानहरुमा दर्ता भएका अन्य होटलहरुको भने कुनै तथ्याङ्क उपलब्ध हुन सकेको छैन ।

विभागमा हालसम्म कति दर्ता भए ?

विभागको तथ्याङ अनुसार तारे होटलको संख्या जम्मा १ सय २५ ओटा मात्रै रहेका छन । जस मध्ये ५ तारे होटलको संख्या १३ भए पनि ११ ओटा होटल मात्रै संचालनमा रहेका छन् । ४ तारे होटलको संख्या ८ ओटा भए पनि ५ ओटा मात्रै संचालनमा रहेको छ ।

त्यस्तै ३ तारे होटलको संख्या ३५ रहेको छ भने २ तारे ४३ र १ तारे होटलको संख्या ३१ रहेको छ । पर्यटक स्तरका साधरण होटल भने ४ सय ८८ गरी कुल ६ सय १३ होटल मात्रै विभागमा दर्ता भएर संचालनमा रहेका छन ।

फड्को मार्दै होमस्टे

home-sty-in-nepal

नेपालमा अन्य ठूला साना होटल जस्तै निजी तथा सामुदायीक होमस्टेको पनि कुनै एकिन तथ्याङ्क फेला पार्न सकेको छैन । पर्यटन विभागको तथ्याङक अनुसार नेपालमा १ सय ६ ओटा मात्रै होमस्टे दर्ता भएर संचालन भईरहेको छ ।

तर विभागमा १ सय ६ ओटा मात्रै होमस्टे दर्ता भएर संचालन भए पनि ग्रामीण पर्यटन प्रवद्र्धन विकास मञ्च नेपाल (भिटोफ) का अनुसार नेपालमा १ हजार ७ सय ३७ होमस्टे संचालनमा रहेका छन ।

भिटोफका अनुसार १७ सयको संख्यामा होमस्टे संचालन भए पनि देशभर जम्मा ४ सय २५ मात्रै सरकारी निकायमा दर्ता भई संचालनमा रहेको होमस्टे एशोसिएसन नेपाल (होसान) का अध्यक्ष केसब बडालले जानकारी दिएका छन ।

उनका अनुसार होसानमा २ सय १५, गण्डकी प्रदेशमा ३ सय ७२ प्रदेश ३ मा ९८ होमस्टे दर्ता भएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL