Logo

नेपालीले लिए प्याराग्लाइडिङमा बिदेशी पाइलटको ठाउँ, करोडौं रुपैयाँ बिदेशिनबाट बच्यो

नेपालीले लिए प्याराग्लाइडिङमा बिदेशी पाइलटको ठाउँ, करोडौं रुपैयाँ बिदेशिनबाट बच्यो



काठमाडौं । नेपालमा साहसिक पर्यटनको प्रमुख आकर्षण रहेको प्याराग्लाइडिङमा नेपाली पाइलटले बिदेशी पाइलटलाई बिस्थापित गरेका छन् । केही वर्ष अघिसम्म विदेशी पाइलटको बाहुल्यता रहेको प्याराग्लाइडिङ उडानमा अहिले भने नेपाली पाइलटको राज चल्न थालेको छ । पछिल्लो समय प्याराग्लाइडिङ उडान गर्ने नेपाली पाईलटहरुको संख्या ३ सय ५० पुगेको छ । जसले पाँच दर्जनभन्दा बढी प्याराग्लाइडिङ कम्पनीका लागि काम गरिरहेका छन् ।

laxmi

प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्ट गन्तब्य मानिएको पोखरामा शुरुमा विदेशी पाईलटले नै प्याराग्लाइडिङ स्थापित गरेपनि अहिले भने विदेशी पाईलटहरु विस्तारै विस्थापित हुँदै गएका छन् । विदेशी पाईलटको मात्रै हावी रहेको प्याराग्लाइडिङ क्षेत्र पछिल्लो समयमा भने नेपाली पाईलटहरुले नै धानिरहेको नेपाल प्याराग्लाइडिङ एशोसिएसन (ना) का अध्यक्ष कृष्ण भण्डारीले बताए ।

भण्डारीका अनुसार कुनैबेला सयौंका संख्यामा रहेका विदेशी पाईलट भने अहिले १०-१२ जना मात्रै रहेका छन् । जसका कारण नेपालबाट करोडौं रुपैयाँ मासिक रुपमा बाहिरिनबाट बचेको छ । अहिले भने नेपाली पाइलटका कारण करोडौं रुपैयाँ पनि देशभित्रै रहने वातावरण बनेको छ । ‘अहिलेको हिसााबले हेर्ने हो भने सिजनमा मासिक ४ करोड रुपैयाँसम्म बिदेशी पाइलटलका लागि खर्च गर्नुपथ्र्यो । जुन रकम अहिले नेपाली पाइलट बढेसँगै बिदेशिनबाट रोकिएको छ’, भण्डारीले भने । नेपालमा मुख्य गरि प्याराग्लाइडिङ पाइलटका रुपमा बाल्कन क्षेत्रका बिदेशीहरु नेपाल आउने गरेका थिए ।

पछिल्लो समय नेपाली पाइलटले बिदेशी पाइलट बिस्थापित गर्दै जानुमा नेपाली युवाहरुको प्याराग्लाइडिङ उडानमा रहेको आकर्षण र आकर्षक कमाई रहेको भण्डारी बताउँछन् । धेरै नेपाली पाइलटहरुले पोखरामै बिदेशीसँगै प्याराग्लाइडिङ उडाउन सिकेका हुने भने कतिपयले भारत तथा अन्य देशमै पुगेर पनि कोर्स पूरा गरेर आएका छन् । अहिले प्याराग्लाइडिङ पाइलट उत्पादन गर्न नेपालमै ३ ओटा विद्यालयसमेत विधिवत रुपमा दर्ता भएर संचालनमा आईसकेका छन् । बन्दीपुरमा ब्लुस्काई फ्लाईङ प्याराग्लाइडिङ विद्यालय, स्याङजाको सिर्सेकोटमा बाबु एडभेन्चर विद्यालय र एसिएन प्याराग्लाइडिङ एकाडेमी धरानमा सञ्चालनमा रहेका छन् ।

यी विद्यालयहरुमार्फत आएका पाईलटले नै नेपाली प्याराग्लाइडिङ उद्योग धान्न सकिने अवस्थामा आएको अध्यक्ष भण्डारीको भनाई रहेको छ । अन्य क्षेत्रमाभन्दा राम्रो कमाई हुने भएकाले पनि नेपाली युवाहरुको आकर्षण यस क्षेत्रमा बढेको अध्यक्ष भण्डारीको भनाई छ । उडान अनुसार पैसा पाउने र महिनाभरीमा एक पाईलटले करिब २ सय उडान गर्ने गरेकोसमेत उनले जानकारी दिएका छन । साथै उडानको लागि चाहिने आवश्यक सामग्री समेत पाईलटहरुकै भएकाले राम्रो कमाई हुने गरेको छ । कम्पनीहरुले उडानअनुसार पाइलटहरुको सामानकोसमेत शुल्क बुझाउँछन् । जसका कारण पाइलटहरुले राम्रो कमाई गर्छन ।

फेसन बन्दै प्याराग्लाइडिङ

अहिले प्याराग्लाइडिङको उडान फेसनेवल जस्तै भएको छ । मेला महोत्सव जताततै प्याराग्लाइडिङको परीक्षण उडान सामान्य बन्दै गईरहेको छ । तर परीक्षण उडान गरे पनि नियमित उडान भने कतै पनि हुन सकेको छैन । परीक्षण उडान भने काभ्रे, इलाम, बाग्लुङ, काठमाडौं दाङ, सल्यानलगायत देशका बिभिन्न स्थानमा भईसकेको छ । तर नियमित उडान भने हुन सकेको छैन । अहिले मेला महोत्सव जताततै परीक्षण उडान हुने गरेको अध्यक्ष भण्डारीले बताए ।

परीक्षण उडान गर्ने तर नियमित उडान गर्नलाई भने पूर्वधारको समस्या साथै पर्यटक अभाव हुने गरेको भण्डारीको भनाई रहेको छ । ‘अहिले ‘परीक्षण उडानको लहर चलेको छ, केन्द्रदेखि स्थानीय सरकारलाई सजिलो पनि भएको छ’, उनले भने, ‘तपाईहरुको नयाँ योजना के हो भन्दा परीक्षण उडान उत्तर दिन पनि सजिलो भएको छ प्रतिनिधिहरुलाई ।’

परीक्षण उडान भए पनि भौगोलिक वातरणले नदिँदा भने नियमित उडान गर्न नसकेको भण्डारीको भनाई रहेको छ । उनले भने, ‘काठमाडौं र चितवनमा प्याराग्लाइडिङ छ । तर, उडानको लागि डाँडाकाँडा छैन । भएपनि शहर भन्दा टाढा छ । जसले गर्दा उडान हुन सकिरहेको छैन ।’ तर, जसले जता जे गरे पनि प्याराग्लाइडिङ उडान पोखराबाहेक अरु क्षेत्रमा फष्टाउन सकेको छैन् । पोखरा पर्यटकीय क्षेत्र भएकै कारण प्याराग्लाइडिङ गर्ने बिदेशीको संख्या पनि उत्तिकै छ ।

अहिले पोखरामा प्याराग्लाइडिङ गर्ने विदेशीको संख्या बार्षिक ७५ हजार पुग्ने गरेको नाका अध्यक्ष भण्डारीले जानकारी दिए । अहिले विश्वकै प्रमुख पर्यटकीय गन्तब्यको रुपमा पोखरा शीर्ष ५ मा परेको छ । जसले गर्दा अन्तरराष्ट्रिय ब्राण्डिङसमेत भएको भण्डारीको भनाई छ । उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएका र एसोसियसनमा आबद्ध प्याराग्लाइडिङ कम्पनी ६३ ओटा रहेका छन् भने काठमाडौंका २, धरानको २ र दाङमा भएको १ कम्पनी भने एसोसियसनमा दर्ता नभएको भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL