Logo

के स्मार्ट टेलिकम बिक्रिमा छ ?

के स्मार्ट टेलिकम बिक्रिमा छ ?



काठमाडौं । लामो समय नेपालको दूरसञ्चार बजारमा उपस्थिति रहेपनि व्यावसायीक रुपमा खास गति लिन नसकेको स्मार्ट टेलिकम पछिल्लो समय परिपक्व व्यावसायिक साझेदारको खोजीमा छ ।
दूरसञ्चार बजारमा आधिपत्य जमाइरहेका नेपाल टेलिकम र एनसेलसँग प्रतिस्पर्धि बन्ने लक्ष्यका साथ कम्पनी अहिले सेयर विक्रिका लागि साझेदारहरुसँग छलफलको क्रममा रहेको कम्पनीकै एक उच्च स्रोतले जानकारी दिएको छ ।

संख्या र उपस्थितिको हिसाबले स्मार्ट टेलिकम देशकै तेस्रो ठूलो टेलिकम कम्पनी हो । करिब २० लाख ग्राहक रहेको स्मार्ट टेलिकमले कुल बजारको ५ प्रतिशत हिस्सा ओगट्छ ।

कम्पनीको सेयर विक्रि सम्बन्धमा यसअघि यति गु्रपसँग कुराकानी भएको स्रोतको दाबी छ । ताप्लेजुङबाट काठमाडौं आउँदै गर्दा जहाज दूर्घटनामा शेर्पाको निधन भएपछि उक्त समुहसँग तत्काल कुनै छलफल नभएको स्रोतले बतायो । यद्यपि कम्पनी अरु केही समुहसँग छलफलको तयारीमा रहेको छ ।

विसं २०७४ मा फोरजी सेवा सुरु गरेपछि विस्तारै ग्राहक बढाउँदै गएको स्मार्ट टेलिकम पछिल्लो समय सेवा विस्तारमा लक्ष्य अनुसार अघि बढ्न सकेको छैन । देशका १९ जिल्लामा सेवा विस्तार गरेको भनिएपनि फोरजी सेवा काठमाडौं उपत्यका र पोखरामा मात्र सिमित छ । पूर्वाधार विस्तार गर्न नसक्दा कम्पनी व्यावसायिक रुपमा प्रतिस्पर्धि बन्न सकेको छैन ।

नेपाल दूरसञ्चार प्राधिकरणलाई बक्यौताबापत बुझाउनुपर्ने करिब डेढ अर्ब रुपियाँ तिर्ने सन्दर्भमा पनि कम्पनी सङ्कटमा छ । संसदको अर्थसमितिले बक्यौता उठाउन एक महिनाको समय दिएपनि कम्पनीले प्राधिकरणलाई पत्र लेखेर दुई महिनाको समय उपलब्ध गराउन आग्रह गरेको थियो । बक्यौता नबुझाए कम्पनीको लाइसेन्स खारेज गर्न सकिने प्राधिकरणले जनाउँदै आएको छ ।
गहिरो आर्थिक सङ्कटमा पर्न थालेपछि कम्पनी विक्रिका लागि छलफल चलाइएको स्रोतले जानकारी दियो ।

सन् २००८ जुलाई १ तारिखका दिन स्थापना भएको स्मार्ट टेलिकमले विसं २०६९ सालमा मोबाइल सेवा समेत सञ्चालन गर्न सक्ने गरी दूरसञ्चारको एकिकृत लाइसेन्स प्राप्त गरेको थियो । लाइसेन्स प्राप्ति पछि कम्पनीले क्षेत्रीय रुपमा देशका केही ठाउँमा सेवा सुरु गरेपनि त्यो खास सफल भने हुन सकेन ।

नेपाल दूरसंचार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार कम्पनीका मोबाईल सेवा प्रयोगकर्ता हाल १९ लाख ६३ हजार ६ सय ६० जना रहेका छन । यसैगरी कम्पनीको ब्रोडब्याण्ड सेवा उपयोग गरिहेका ग्राहकको संख्या भने जम्मा १ लाख ५ हजार २ सय २८ जना रहेको छ ।

२० प्रतिशत नेपाली र ८० प्रतिशत विदेशी लगानी रहेको उक्त कम्पनीमा नेपालका तर्फबाट स्क्वायर नेटवर्क प्रालिका सञ्चालक सर्वेस जोशीको लगानी रहेको छ । यस्तै बाँकी रहेको ८० प्रतिशतमा भने ३० प्रतिशत केरस्बो ईन्भेष्टमेन्ट प्रालि र ५० प्रतिशत सिंगापुरको लालसाहु होल्डिङ्सको लगानी रहेको प्राधिकरणले जानकारी दिएको छ । यस अघि कम्पनीमा २० प्रतिशत स्क्वायर नेटवर्कको, ७० प्रतिशत लालसाहु होल्डिङ्सको र १० प्रतिशत लगानी ईजरायलको जिलेट स्याटेलाईट नेटवर्क प्रालिको रहेको थियो ।

कम्पनीले हाल काठमाडौं लगायत नेपालका १९ जिल्लामा आफ्नो फोरजी सेवा विस्तार गरिसकेको छ । कम्पनीका अनुसार हाल काठमाडौं भक्तपुर, ललितपुर, काभ्रे, कास्की, नवलपरासी लगायतका १९ जिल्लामा आफनो फोरजी सेवाको विस्तार गरेको हो । कम्पनीले २०७४ जेठ महिनामा फोरजी सेवा संचालनको अनुमती पाएको थियो ।

कम्पनीले नेपाल दूरसंचार प्राधिकरणलाई २ बर्षदेखि फ्रिक्वेन्सी दस्तुर र नविकरण दस्तुरसहितको १ अर्ब ४० करोड ६७ लाख रुपैयाँ बक्यौता बुझाउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL