Logo

बेलुनझै फुलेर ७० अंकले बढेको नेप्सेमा ३ अर्ब ६० करोडको कारोबार, लगानीकर्ता भन्छन्-यो बढाई ‘नेचुरल’ होइन

बेलुनझै फुलेर ७० अंकले बढेको नेप्सेमा ३ अर्ब ६० करोडको कारोबार, लगानीकर्ता भन्छन्-यो बढाई ‘नेचुरल’ होइन



काठमाडौं । लामो समयपछि नेप्से परिसूचक एकैदिन ७० अंकले बढ्न पुगेको छ । बजार खुलेको १५ मिनेटमै ३ प्रतिशतले बढेको नेप्से परिसूचक बन्द हुँदा ६९ दशमलव ५६ अंकले बढ्न पुगेको छ । नेप्से परिसूचक दुई वर्षपछि १ हजार ५ सय अंकमाथि पुगेको हो । यसअघि ०७४ पुष ३ गते परिसूचक १ हजार ५ सय ८ दशमलव २५ बिन्दुमा थियो

laxmi

लामो समयसम्म वियरिस ट्रेण्डमा रहेको नेप्सेले पछिल्लो समय बुलिस ट्रेण्डको बाटो लिएको र सोहीअनुरुप बजार बढ्न सुरु गरेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । साथै अबको दिनमा राष्ट्रिय सभामा हुने एक जना मनोनितमा अर्थमन्त्री डा. युवराज खतिवडाको सट्टा बामदेव गौतमलाई ल्याउने र अर्थतन्त्रमा खतिवडाले निरन्तरता नपाउने हल्लाले गर्दा पनि लगानीकर्तामा उत्साह भएको एकथरि लगानीकर्ताहरुको विश्लेषण रहेको छ ।

यद्यपि लगानीकर्ताहरु भने आज भएको नेप्सेको बढाई नेचुरल नभएको बताउँछन् । ‘आज बजारमा नेप्से परिसूचक बेलुनमा हावा भरेझै जसरी बढ्यो त्यसरीनै हावा फुस्किने सम्भावना छ,’ ती लगानीकर्ताले भने, ‘विशेषगरी यसले नयाँ लगानीकर्तालाई सजग रहन संकेत गर्दछ ।’

केही समयअघिसम्म नेप्से परिसूचकको वृद्धिमा माइक्रोफाइनान्स, व्यापार, उत्पादनमुलक तथा बीमा समुहको परिसूचक मात्र बढेको थियो । बजारमा सबैभन्दा बढी हिस्सा रहेको बैंकिङ समुहको परिसूचक उकालो लाग्न सकेको थिएन । तर आईतबार बजारमा बैंकिङ समूहको परिसूचक पनि ८६ अंकले बढ्न पुगेकाले केही सकारात्मक सन्देश दिएको एक लगानीकर्ताले बताए ।

‘लामो समयसम्म सीमित लगानीकर्ताले माइक्रोफाइनान्स, व्यापार तथा बीमा कम्पनीका सेयर मूल्यमा कर्नरिङ गरेर अनावश्यक रुपमा मूल्य बढाए,’ ती लगानीकर्ताले भने, ‘कमजोर कम्पनीको तुलनामा राम्रा बैंकहरुको सेयर मूल्य कम हुँदा तुलनात्मक रुपमा अहिले लगानीकर्ताहरु बैंकिङ समुहका आकर्षित भएका हुन् ।’

पछिल्लो समय बजारमा नयाँ लगानीकर्ता भित्र्नुभन्दा पनि ब्रोकरहरुले सेयर खरिदबिक्री गर्ने क्रम बढेको सम्बद्ध स्रोतको भनाई छ । ‘अहिले बजारमा रहेका ५० वटा ब्रोकरको चुक्ता पूँजी र जगेडा कोषमा गरी ४ अर्ब रुपैयाँभन्दा बढी रकम छ,’ एक लगानीकर्ताले भने, ‘अहिले ब्रोकरले विभिन्न नामबाट त्यहिँ पैसालाई रोटेड गरेर कारोबार गर्दै आएका छन् ।’

लामो समयपछि ५ प्रतिशतले बढेको बजारमा कारोबार रकमले समेत नयाँ रेकर्ड बनाएको छ । नेपालको इतिहासमा पहिलो पटक नेप्सेमा ३ अर्ब ६० करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा १७८ कम्पनीको ८७ लाख ६९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

आईतबार ५ प्रतिशतले बढेको बजारमा म्युचल फण्डबाहेक सबै समूहका परिसूचक दोहोरो अंकले उकालो लागेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक १९२ अंकले बढेको छ भने निर्जीवन बीमा समुहको परिसूचक १३९ अंकले उकालो लागेको छ ।

दिनभर सबैभन्दा बढी एनएमबी बैंकको १२ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसैगरी दोस्रोमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ११ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL