Logo

भ्रमण वर्षलाई झट्का, कोरोना भाईरसको त्रासका कारण नेपाल आउने पर्यटक घटे

भ्रमण वर्षलाई झट्का, कोरोना भाईरसको त्रासका कारण नेपाल आउने पर्यटक घटे



काठमाडौं । सरकारले निकै महत्कांक्षी लक्ष्यसहित घोषणा गरेको ‘नेपाल भ्रमण बर्ष २०२०’ को लक्ष्यमा पहिलो महिना नकारात्मक बनेको छ । २० लाख पर्यटक ल्याउने लक्ष्यसहित घोषित अभियानको पहिलो महिनामा पर्यटक आगमनमा कमी आउँदा २० लाख पर्यटकको लक्ष्यमा आशंका उब्जिएको हो ।

सरकारले राम्रो प्रचारप्रसार गरे पनि सन् २०२० को पहलिो महिना अर्थात जनवरीमा ७९ हजार ६ सय ८६ जना मात्रै विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार यो अवधिमा भारतबाट १६ हजार ८ सय ८२, चीनबाट १३ हजार ३ सय ३, अमेरिकाबाट ६ हजार ३ सय ८६, म्यानमारबाट ४ हजार ४ सय ४७ र थाईल्याण्डबाट ४ हजार १० जना पर्यटक नेपाल भित्रिएका हुन । बाँकी ३४ हजार ६ सय ५८ जना पर्यटक भने अन्य देशका रहेका छन ।

२०१९ को सोही अबधिमा भने ८१ हजार २ सय ७३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । तथ्याङ्क अनुसार गत बर्षको भन्दा यो बर्ष २ प्रतिशतले पर्यटक आगमन घटेको छ । जनवरीमा पर्यटक घट्नुको मूख्य कारण भने चीनमा फैलिएका कोरोना भाईरस भएको बोर्डले जानकारी दिएको छ ।

बोर्डको तथ्याङ्कअनुसार २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन । सो मध्ये हवाईमार्गबाट आउने पर्यटकको संख्या ९ लाख ९५ हजार ८ सय ८४ जना रहेका छन भने स्थलमार्गबाट आउने पर्यटकको संख्या २ लाख १ हजार ३ सय ७ जना रहेका छन ।
सरकारले भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक ल्याउने गरि प्रचार प्रसारमा तिब्रता दिए पनि २०२९ को तथ्याङ्क अनुसार पर्यटक आगमणमा २०१८ को तुलनामा २ दशमलब ०१ प्रतिशतले मात्रै बढेको छ । २०१८ मा कुल पर्यटकको संख्या ११ लाख ७३ हजार ७२ जना नेपाल भित्रिएका थिए । जस मध्ये हवाईमार्गबाट ९ लाख ६९ हजार २ सय ८७ जना आएका थिए भने स्थलमार्गबाट २ लाख ३ हजार ७ सय ८५ जना नेपाल भित्रिएका थिए ।

बोर्डले आफ्नै लगानी तथा साझेदारीमा अमेरिका, स्पेन, थाईल्याण्ड, भारत, बेलायत, क्यानाडा, जर्मन, अष्ट्रेलिया, चीनलगायत दर्जन भन्दा बढी देशमा २०१९ मा ३० भन्दा बढी बिभिन्न प्रचार प्रसारका कार्यक्रमहरु गरेको थियो । जस मध्ये आधा दर्जन भन्दा बढी कार्यक्रम भारतमा गरिाएको थियो भने चीनमा ३ ओटा कार्यक्रम गरेको तथ्याङ्क छ । त्यस्तै बेलायतमा २ पटक कार्यक्रम गरिएको थियो । बेलायतबाट २०१९ मा ६१ हजार १ सय ४४ जना पर्यटक भित्रिएका थिए भने २०२० को जनवरीमा बेलायत शीर्ष ५ मा समेत पर्न सकेन ।

बोर्डले बिभिन्न मुलुकमा कार्यक्रम गरेपनि हालसम्म के कति खर्च गर्यो भन्ने कुनै तथ्याङ्क सार्वजनिक गरेको छैन । बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले भने अहिले अडिटको काम चलिरहेकाले सार्वजनिक गर्न नसकेको बताएका छन । उनले भने, ‘हामी केही समय पछि सबै सार्वजनिक गर्छौं, फेसबुकमा हाल्नु परे पनि हाल्छौं । तर, अहिले अडिटको काम भईरहेको छ । त्यो नसकुन्जेल सार्वजनिक गर्न मिल्दैन ।’

बोर्डले २०१९ मा बिभिन्न कार्यक्रम गर्नका लागि एउटा कार्यक्रम बराबर १५ लाख रुपैयाँ देखि २ करोड ९० लाख रुपैयाँ सम्म बजेट स्वीकृत गरेको थियो । उक्त कार्यक्रमहरुका लागि कुल १६ करोड ७५ लाख रुपैयाँ बजेट स्वीकृत गरेको बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL